स्काउटले आफूमाथि राजनीतिक प्रतिशोधमा झूटो आरोप लगाएको पूर्वमन्त्री खड्काको प्रष्टोक्ति (भिडिओ)
दीपक खड्का भन्छन्- लोक भण्डारी र राम भट्टराईलाई चरित्र हत्या र मानहानीको मुद्दा हाल्दैछु:
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/12/dipak-khadaka-bibad.jpg)
काठमाडौं । कांग्रेसका नवनिर्वाचित सांसद एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटले आफूमाथि झूटो आरोप लगाएको दाबी गरेका छन् । जग्गा कब्जा गरेको र सम्पत्ति तोडफोड गरेको भनी सुनियोजितरूपमा आफ्नो चरित्रहत्या गरेको भन्दै उनले पत्रकार सम्मेलन गरेका छन् ।
उनले संयोजक लोकबहादुर भण्डारी र निर्देशक राम भट्टराईविरुद्ध चरित्र हत्या र मानहानीको मुद्दा हाल्ने बताए । खड्काले भण्डारी हाल स्काउटको संयजक नभएको पनि जिकिर गरेका छन् । खड्काले भण्डारीले आफूविरुद्ध सुरुदेखि नै खेदो खनेको आरोप लगाउँदै स्काउटको वर्तमान नेतृत्वलाई कारबाही गर्न माग गरेका छन् ।
खड्का नेतृत्वको ल्याण्ड डेभलपमेन्ट प्रालिले १५ वर्षदेखि नेपाल स्काउटको स्वामित्वमा रहेको लैनचौरस्थित व्यवसायिक भवनहरु तथा जग्गा समेत लिजमा लिएको थियो । स्काउटले भने खड्कामाथि १० वर्षको सम्झौता भनेर कीर्ते गरी १५ वर्षको कागज बनाएको, सम्झौतामा उल्लेखित भन्दा बढी जग्गा र सम्पत्ति भोगचलन गरेको, लामो समयदेखि भाडा नतिरेको उल्टै शक्तिको आडमा अनधिकृत कब्जा जमाउनुको साथै भौतिक सम्पत्ति तोडफोड गरेको आरोप लगाएको छ ।
स्काउटसँगै कुनै प्रकारको असमझदारी नभएको दाबी गर्दै खड्का ल्याण्डले नियमित रूपमा भाडा तिर्दै आएको भनी बैंक जम्मा भौचर पनि सार्वजनिक गरेको छ ।
खड्का ल्याण्डको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी र निर्देशक रामप्रसाद भट्टराईलगायतले आर्थिक चलखेलगरी हामीलाई यँहाबाट हटाउने नियतले अनेकन षड्यन्त्रहरु गरिरहेका छन् । उनीहरुकै निर्देशनमा सम्झौता बमोजिम खड्का ल्याण्डले निश्चित समयका लागि सञ्चालन गर्न बनाईएका संरचनालाई विनासूचना भत्काउन खोज्ने, भाडामा बस्नेलाई धम्क्याउने, तर्साउने, दुःख दिने, हाम्रा कर्मचारीलाई दुःख दिने, ढल, पानी बत्ती काटी दिने तथा मुल गेटमा तालाबन्दी गरीदिने जस्ता अमानवीय कार्यहरु गर्दा समेत यस प्रालिले सम्झौता अवधिभर निर्वाध ढङ्गले व्यवसाय गर्न दिन पटक(पटक स्काउटसँग अनुरोध गर्दै आएको छ यद्यपि हाम्रो अनुरोध कहिल्यै सुनिएन ।’
अहिले सतहमा निकालिएको विवाद राजनितिक पूर्वाग्रहले प्रेरित भएर प्रतिशोधका लागि मात्र रचिएको प्रपोगाण्डा भएको खड्काको भनाइ छ ।
पूर्वसञ्चालक दीपक खड्काको प्रालिसँग हाल कुनै प्रकारको कानूनी एवं आर्थिक संलग्नता नरहेको खड्का ल्याण्डले विज्ञप्तिमा लेखेको छ ।