प्रदेशका सम्भावनालाई प्राथमिकता दिँदै निजी क्षेत्रसँग सहकार्य गरेर कोशी प्रदेश अघि बढ्छ : मुख्यमन्त्री कार्की – Nepal Press

प्रदेशका सम्भावनालाई प्राथमिकता दिँदै निजी क्षेत्रसँग सहकार्य गरेर कोशी प्रदेश अघि बढ्छ : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

मंगलबार प्रदेश योजना आयोगको आयोजना गरेको प्रदेश विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारले योजना तथा कार्यक्रमहरु गैरसहकारी र निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने बताए । उनले निजी क्षेत्रको सहकार्यमार्फत प्रदेश सरकारले आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिने बताए ।

उनले आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने योजनाका साथ प्रदेश सरकार अगाडि बढिरहेको बताए । उनले केही चुनौतीहरूका बाबजुत पनि स्रोत र सम्भावनाका क्षेत्रहरूको प्राथमिकीकरण गर्नसके मात्रै प्रदेश सरकारका निश्चित लक्ष्य पूरा गर्न सकिने धारणा राखे ।

धार्मिक पर्यटक, शिक्षा, स्वास्थ्य, कृषि, जललगायत धेरै क्षेत्रमा कोशी प्रदेश पर्याप्त सम्भावना बोकेको प्रदेश भएकाले यसलाई प्राथमिकीकरण गर्दै निजी तथा गैरसहकारी क्षेत्रसंगको सहकार्यमा अगाडि बढ्ने मुख्यमन्त्रीको भनाइ छ ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कोशी प्रदेश सम्भावनाको खानी भएको भन्दै प्रदेशको विकासको लागि गैरसरकारी संस्था र निजी क्षेत्रको भुमिकालाई प्राथमिकता दिन सुझाव दिए । उनले बजेटको स्रोत व्यवस्थापनको लागि नीति र योजना तर्जुमा गर्न र अनुगमनमा सहभागिता गराउन सकिएन भने प्रदेशको नभएर प्रदेश सरकारको मात्रै योजना हुने बताए ।

उनले स्रोत व्यवस्थापन क्षमताका आधारमा योजना तर्जुमा गर्न सुझाव दिए । उनले कोशी प्रदेश जलस्रोत, कृषि, पर्यटन लगायत धेरै क्षेत्रमा राम्रो सम्भावना बोकेको प्रदेश भएकाले यस प्रदेशको योजना तर्जुमा गर्दा कुनै खास क्षेत्रलाई मात्रै तोकेर योजना बनाउनुभन्दा सम्पूर्ण सम्भावनाहरूलाई परिचालन र उपभोग गर्नेगरी योजना बनाउन सुझाव दिए ।

परिषद्को बैठकमा प्रदेश सरकारका विभागीय मन्त्रालयका सचिव, योजना आयोगका पदाधिकारी, अर्थ विज्ञ विकास परिषदका सदसहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर