कैलालीका सबै पालिकामा भयो एमालेको अधिवेशन – Nepal Press

कैलालीका सबै पालिकामा भयो एमालेको अधिवेशन

कैलाली । कैलालीका सबै पालिकामा एमालेले अधिवेशन सम्पन्न गरेको छ । जेठ १० गते सुरु भएको अधिवेशन कैलालीका १३ पालिका कमिटी र २ वटा विशेष इलाका कमिटीमा सम्पन्न भएको हो ।

जिल्लाका १५ मध्ये २ पालिकामा महिलाले नेतृत्व पाएका छन् । धनगढी उपमहानगरपालिकामा अम्बिका विष्ट मल्ल र भजनी नगर कमिटी अध्यक्षमा उर्मिला चौधरी निर्वाचित भएकी छन् ।

गोदावरी नगर अध्यक्ष सन्तोष सिंह, चुरे गाउँ कमिटी अध्यक्ष दानबहादुर महरा र गौरीगङ्गा नगर अध्यक्षमा पदमबहादुर ऐर निर्वाचित हुँदा घोडाघोडी नगर अध्यक्षमा हेमराज सापकोटा, बर्दगोरिया गाउँ कमिटी अध्यक्षमा मधुकर सिजापती मगर, मोहन्याल गाउँ कमिटी अध्यक्षमा बमबहादुर रावल र टीकापुर नगर अध्यक्षमा लक्ष्मण थापा निर्वाचित भए ।

त्यस्तै जोशीपुर गाउँ कमिटी अध्यक्षमा केशरबहादुर चौधरी, लम्की चुहा नगर अध्यक्षमा शेरबहादुर विष्ट, जानकी गाउँ कमिटी अध्यक्षमा प्रदीपकुमार शाह र कैलारी गाउँ कमिटी अध्यक्षमा गणेश चौधरी हिमाल निर्वाचित भए ।

मजदुर विशेष इलाका कमिटी अध्यक्षमा ललित चन्द र बुद्धिजीवी विशेष इलाका कमिटी अध्यक्षमा केशव दत्त जोशी निर्वाचित भएको एमाले कैलाली अध्यक्ष यज्ञ ढुङ्गानाले जानकारी दिए ।

कैलालीका केहीमा निर्वाचन प्रणालीमार्फत त केहीमा सहमतिबाट नेतृत्व चयन गरिएको हो । अध्यक्ष ढुङ्गानाले सबै पालिका र विशेष इलाका कमिटीको निर्वाचनले एमालेको उत्साह र उपस्थिति अझै बलियो देखिएको बताए ।

अहिलेसम्म सदस्यता नवीकरण करिब ७५ प्रतिशत सकिएको र अझै नवीकरण भइरहेको उनले जानकारी दिए । कैलालीमा ज्येष्ठ कम्युनिष्ट पार्टी सदस्यहरुलाई सम्मानपछि निष्क्रिय रहेका धरैले पार्टीमा सक्रियता बढाएको उनले बताए ।

मदन भण्डारी र जीवराज आश्रितका समकालीन भवानी गिरी, कुमार निरौलालगायत थुप्रै पुराना नेता कार्यकर्ता पनि अहिले फेरि सक्रिय रहेको उनले बताए ।

पार्टी गतिविधि यस्तै बढाउँदै लैजाने र नयाँ पुराना नेता कार्यकर्ताहरूलाई सक्रिय बनाउँदै कैलालीमा आगामी निर्वाचनमा सबैभन्दा बलियो र सबै क्षेत्र जित्नेगरी पार्टी बनाउने उद्देश्य रहेको अध्यक्ष ढुङ्गानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर