श्रीलङ्काका यी ५ खेलाडी, जाे बन्न सक्छन् नेपालकाे टाउकाे दुखाइ – Nepal Press

श्रीलङ्काका यी ५ खेलाडी, जाे बन्न सक्छन् नेपालकाे टाउकाे दुखाइ

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपालले बुधबार बिहान श्रीलङ्कासँग आफ्नो दोस्रो खेल खेल्दैछ । खेल अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा बिहान सवा ५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग २ विकेटले पराजित भएको थियो ।

पहिलो खेल गुमाएको नेपाल र दुई खेल गुमाएको श्रीलङ्का दुवैलाई जीतको विकल्प हुनेछैन । दुवै खेल हारेको श्रीलङ्का यो खेलमा पराजित भए विश्वकपबाट बाहिरिने निश्चित हुनेछ । पहिलो खेल हारेको नेपाल यो खेलमा पराजित भए सुपर ८ मा पुग्ने सम्भावना कठिन बन्नेछ ।

श्रीलङ्काको कप्तानी वानिदु हसरंगा र नेपालको कप्तानी रोहित पौडेलले गरेका छन् । टेस्ट टोली श्रीलङ्का र नेपाल पहिलो पटक खेल्न लागेका हुन् । खराब लयबाट गुज्रिरहेको श्रीलङ्कालाई हराउँदै नेपाल विश्व क्रिकेटमा अर्को इतिहास रच्न चाहन्छ ।

नेपालले पहिलो पटक खेलेको टी-२० विश्वकप २०१४ को च्याम्पियन टोली हो श्रीलङ्का । यी हुन् नेपालका लागि खतरनाक श्रीलङ्काका ५ खेलाडी ।

वानिदु हसरंगा (कप्तान)

नेपालका लागि घातक हुन सक्ने पहिलो खेलाडी हुन्, श्रीलङ्काका कप्तान वानिदु हसरंगा । अलराउन्डर हसरंगा ब्याटिङ र बलिङ दुवैतर्फ प्रभाव छाड्नसक्ने खेलाडीको रूपमा चिनिन्छ । यो विश्वकपमा ब्याटिङमा चल्न नसकेका उनले बलिङमा भने राम्रो प्रदर्शन गरेका छन् ।

सन् २०१९ देखि श्रीलङ्का राष्ट्रिय टोलीबाट खेल्न थालेका उनले ६७ टी-२०आई क्रिकेटमा १०८ विकेटसहित ब्याटिङतर्फ ६५० रन जोडेका छन् । उनी टी-२० आई क्रिकेटमा छिटो १०० विकेट पूरा गर्नेको दोस्रो सूचीमा छन् । उनी आईसीसीको टी-२० वरियतामा बलिङ र अलराउन्डर दुवैतर्फ दोस्रो स्थानमा छन् ।

पाथुम निसांका

श्रीलङ्काका ओपनिङ ब्याटर पाथुम निसांकाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले टी-२० विश्वकपको बंगलादेशविरुद्धको खेलमा ४७ रन जोडेका थिए । टी-२०आई क्रिकेटमा सन् २०२१ मा डेब्यु गरेका उनले ५० खेलमा १ हजार २८१ रन जोडेका छन् । उनी ओडीआईका उत्कृष्ट ब्याटर हुन् । उनले गत फेब्रुअरीमा अफगानिस्तानविरुद्धको ओडीआईमा अविजित दोहोरो शतक प्रहार गरेका थिए । त्यस्तै डेब्यु टेस्टमै शतकसमेत प्रहार गरेका थिए ।

कुशल मेन्डिस

श्रीलङ्काका विकेट किपिङ ब्याटर कुशल मेन्डिस एक अनुभवी खेलाडी हुन् । २९ वर्षीय कुशलले सन् २०१६ देखि श्रीलङ्काबाट खेल्दै आएका छन् । उनले ६६ टी-२०आई खेलमा १ हजार ५८३ रन जोडेका छन् । उनी आईसीसीको टी-२० वरियतामा ब्याटिङतर्फ २१औं स्थानमा छन् ।

नुवान तुसारा

श्रीलङ्काका मिडियम फास्ट बलर नुवान तुसारा उत्कृष्ट लयमा छन् । उनले टी-२० विश्वकपका दुई खेलमा ५ विकेट लिएका छन् । उनले बंगलादेशविरुद्ध ४ र दक्षिण अफ्रिकाविरुद्ध १ विकेट लिएका हुन् । गत संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सबाट खेलेका उनले राम्रो प्रदर्शन गरेका थिए । श्रीलङ्काको टीमबाट १० वटा टी-२० आई खेल खेलेका नुवानले १६ विकेट लिएका छन् ।

मथिसा पाथिराना

श्रीलङ्काका युवा बलर मथिसा पाथिराना पनि नेपालका लागि खतरा हुनसक्ने खेलाडी हुन् । २१ वर्षीय फास्ट बलर मथिसाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दै आएका मथिसाले गत संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ६ खेलमा १३ विकेट लिएका थिए । सन् २०२२ मा डेब्यु गरेका उनले ८ वटा टी-२० खेलमा १२ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर