उलटफेरको लक्ष्यसहित पहिलो पटक श्रीलंकाको सामना गर्दै नेपाल, तर वर्षाले खेल विथोल्ने चिन्ता – Nepal Press

उलटफेरको लक्ष्यसहित पहिलो पटक श्रीलंकाको सामना गर्दै नेपाल, तर वर्षाले खेल विथोल्ने चिन्ता

काठमाडौं । टी-२० विश्वकपमा दुई दक्षिण एसियाली राष्ट्र नेपाल र श्रीलंका भोलि (नेपाली समयअनुसार बिहान सवा ५ बजे) भिड्दैछन् । नेपालको राष्ट्रिय टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामै पहिलो पटक श्रीलंकाको सामना गर्न लागेको हो ।

अमेरिकाको फ्लोरिडास्थित लडरहिलमा रहेको सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियममा खेल हुनेछ । यसअघि दुई खेलमा साउथ अफ्रिका र बंगलादेशविरुद्ध लगातार पराजय व्यहोरेको श्रीलंकाका लागि यो ‘गर या मर’ को खेल हो । पहिलो म्याचमा नेदरल्यान्ड्सँग हारेको नेपाल श्रीलंकालाई स्तब्ध पारेर आफ्नो क्षमता विश्वसामु उजागर गर्न चाहन्छ ।

लडरहिलको रंगशालामा विश्वकपको पहिलो खेल हुन लागेको हो । अहिलेसम्म विभिन्न रंगशालामा ड्रप इन पिचमा खेल भएका थिए । राम्रो फिनिसिङ नभएका ती पीचहरुमा रन बनाउन सबै टीमहरुलाई कठिन भइरहेको छ । लडरहिलको पीच भने वास्तविक क्रिकेट पिच हो । यहाँको पीच ब्याट्सम्यानका लागि बढी अनुकूल छ । यद्यपि सुरुवाती ओभरको तुलनामा विस्तारै पिच स्लो हुँदै जाने भएकाले पहिलो इनिङमा ब्याटिङ गर्ने टीमलाई फाइदा मिल्छ ।

लडरहिलको पीचमा श्रीलंका अभ्यस्त छ । विश्वकप अगाडि श्रीलंकाले वार्म अप खेल यही खेलेको थियो । वार्मअपमा नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेको थियो । नेदरल्यान्ड्सले पहिलो इनिङमा ब्याटिङ गर्दै १८२ रनको लक्ष्य दिएकोमा दोस्रो इनिङमा श्रीलंका १६१ रनमा अलआउट भयो ।

यो मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय म्याच खेल्ने टीम पनि हो श्रीलंका । सन् २०१० मा श्रीलंका र न्यूजिल्यान्डले २ म्याचको टी-२० सिरिज खेलेका थिए । श्रृंखला १-१ ले बराबरी भएको थियो ।

नेपालले भने यो मैदानमा पहिलो पटक पाइला टेक्दैछ । नेपालले यसअघिको खेल डालासमा खेलेको थियो र नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । विश्वकपअघि एउटा वार्मअप म्याच पनि क्यानडासँग यही मैदानमा खेलेर पराजय व्यहोरेको थियो ।

नेपाल र श्रीलंका एकअर्काका लागि अपरिचित टीम हुन् । क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो श्रीलंका, जसले एक पटक टी-२० विश्वकपसमेत जितिसकेको छ र दुई पटक उपविजेता बनेको छ । नेपाल भने दोस्रो पटक टी-२० विश्वकपमा सहभागी हुन लागेको हो ।

अहिलेको श्रीलंका विगतमा जस्तो सुदृढ भने छैन । कुमार सांगकारा, महेला जयवर्द्धने, तिलकरत्ने दिसान जस्ता दिग्गज खेलाडीहरुको पुस्ता एकै समयमा रिटायर्ड भएपछि श्रीलंकाली क्रिकेटको स्तर खस्किन थालेको थियो । अहिलेसम्म पनि टीमले आफ्नो पुरानो साख फर्काउन सकेको छैन ।

यो विश्वकपमा पनि श्रीलंकाको प्रदर्शन कमजोर नै छ । दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा श्रीलंकाको ब्याटिङ चलेन । यद्यपि, पीच पनि ब्याटिङका लागि चुनौतीपूर्ण थियो । श्रीलंकाका बलरहरुले भने राम्रो प्रदर्शन गरिरहेका छन् । सबैभन्दा खतरानक फर्ममा नुवान थुसरा देखिएका छन् । बंगलादेशविरुद्धको म्याच उनले झण्डै एक्लो बलबुतामा जिताइदिएका थिए ।

नेपालका लागि पनि सबैभन्दा ठूलो चुनौती भनेको श्रीलंकाको विविधतापूर्ण बलिङ सामना गर्नु नै हो । नेपाली ब्याट्सम्यानहरुले योस्तरको बलिङमा विरलै खेल्न पाएका छन् । खासगरी श्रीलंकाका फास्ट बलरहरु झेल्न नेपाली ब्याट्सम्यानलाई पक्कै सहज हुनेछैन । यद्यपि सम्हालिएर खेलेको खण्डमा नेपालले विश्वकपको एउटा उलटफेर नतिजा अवश्य दिनसक्छ । दुई खेल हारिसकेको श्रीलंकाले नेपाललाई कम आँक्ने गल्ती पक्कै गर्नेछैन ।

नेपालले नेदरल्यान्ड्विरुद्ध खेलेको टीम नै श्रीलंकाविरुद्ध उतार्ने सम्भावना छ । यदि एक अतिरिक्त ब्याट्सम्यान थप्न चाहेमा मध्यक्रमका सन्दीप जोरा छन्, तर बलिङमा कसैलाई पनि हटाइहाल्ने अवस्था नरहेकोले जोराले भोलि पनि अवसर नपाउन सक्छन् ।

पीचले फास्ट बलरलाई बढी सहयोग मिल्ने आशा छ । नेपाल चार फास्ट बलरसहित उत्रिनेछ । श्रीलंकाले पीचलाई हेरेर एक फ्रन्टलाइन फास्ट बलरका रुपमा दुस्मन्था चमिरालाई थप्नसक्छ ।

भोलिको खेलमा दुवै टीमका लागि ठूलो चिन्ताको विषय भनेको सम्भावित वर्षा हो । सोमबार खराब मौसमका कारण श्रीलंकाले नियमित अभ्यास गर्न पाएन । बुधबार पनि वर्षाको उच्च सम्भावना रहेको भविष्यवाणी गरिएको छ । वर्षाले खेल अवरुद्ध भयो भने दुवै टीमलाई ठूलो धक्का पुग्नेछ । श्रीलंकाको सुपर ८ सम्भावना लगभग समाप्त हुनेछ भने नेपालले एउटा बलियो टेस्ट राष्ट्रसँग पहिलो पटक भिड्ने अवसर गुमाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर