प्रदेश र स्थानीयका रातो पुस्तिकामा तालिमका बुँदामात्रै छिराएर काम छैन, रोजगारी दिनुपर्‍यो: मेयर महर्जन (भिडिओ) – Nepal Press

प्रदेश र स्थानीयका रातो पुस्तिकामा तालिमका बुँदामात्रै छिराएर काम छैन, रोजगारी दिनुपर्‍यो: मेयर महर्जन (भिडिओ)

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर मेयर चिरीबाबु महर्जनले प्रदेश र स्थानीय तहका रातो पुस्तिकामा तालिम प्रदान गर्ने बुँदाहरू छिराएर काम नभएको बताएका छन् ।

ललितपुरमा आज सुरु ‘श्रमाधान रोजगार मेला’ को उद्घाटन समारोहमा मेयर महर्जनले प्रदेश र स्थानीय तहका रातो पुस्तिकाहरूमा तालिम दिने कुराहरू मात्रै राखेर केही नहुने औंल्याए ।

‘भारतले नेपालबाट पाउने रेमिटेन्स सातौं नम्बरमा पर्छ । भरतले नेपालबाट प्रशस्त मात्रामा रेमिटेन्स भित्र्याइरहेको छ । हामीले रोजगारी दिन नसक्दा, लाखौं युवायुवती बाहिर गएका छन्’, उनले भने, ‘हामीले वैदेशिक रोजगारको क्रमलाई रोक्न रोजगारी सृजना गर्ने प्रोजेक्टहरू ल्याउनुपर्छ । खाली गफै गरेर, भाषणमात्रै गरेर, प्रदेश र स्थानीय पालिकाहरूमा तालिमका कम्पोनेन्टहरू रातो पुस्तिकाहरूमा छिराएर काम हुँदैन । यसले काम गर्दैन ।’

मेयर महर्जनले थपे, ‘अन्यत्र धेरै टाढा जानुपर्दैन । हाम्रै ललितपुर महानगरपालिकामा जाऔं । हाम्रोमा ७ वटा विषयगत समिति छन् । सातै वटा समितिले तालिमहरु दिने गर्छन् । एउटै व्यक्ति यता पनि ठीक, उता पनि ठीक । वर्षभरिमा आउने ६-७ वटा तालिम लिन्छ । तालिम लियो, सर्टिफिकेट पायो । अन्तै काम खोज्न गयो । केही काम छैन । यसले केही काम गरेको छैन । त्यसैले हामीले यो वर्षदेखि नीति अङ्गीकार गरेका छौं । तालिम चाहिँ केन्द्रबाट दिन्छौं । तालिम लिनेहरूले काम गर्न चाहेमा सीड मनीको व्यवस्था पनि गरेका छौं । गत वर्ष पनि हामीले यो सीड मनीको व्यवस्था गरेका थियौं । यसबारे आमजनतालाई थाहा नभएर कोही पनि आएनन् । यो वर्ष पनि राख्दैछौं । यो वर्ष पनि केन्द्रबाट तालिम दिनेछौं । तालिम दिएपछि यस सीड रकमको सदुपयोग हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर