गैरकानूनी रुपमा अमेरिका पठाउने गिरोहका मुख्य नाइके कञ्चनपुरबाट पक्राउ – Nepal Press

गैरकानूनी रुपमा अमेरिका पठाउने गिरोहका मुख्य नाइके कञ्चनपुरबाट पक्राउ

काठमाडौं । गैरकानूनी तवरले अमेरिका पठाउने गिरोहका मुख्य नाइके कञ्चनपुरको गड्डाचौकीबाट व्यक्ति पक्राउ परेका छन् ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका- ११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका- ३२ पुरानो सिनामंगल टाउन प्लानिङ पेप्सीकोला बस्दै आएका ४६ वर्षीय नारायणकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनी विश्वास दिलाई आफ्नो बैंक खातामा पटक पटक रकम जम्मा गर्न लगाई रकम ठगी गर्ने कार्यमा संलग्न रहेको उजुरीको आधारमा खड्कालाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार खड्काविरुद्ध दुर्गाबहादुर वली, कमला डाँगीलगायतले कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा अनुसन्धान गर्दा खड्काको बैंक खातामा चार करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ विभिन्न व्यक्तिले जम्मा गरेको देखिएपछि जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर खड्कालाई कञ्चनपुरको भीमदत्त नगरपालिका- ११ गड्डाचौकीबाट पक्राउ गरिएको एसएसपी भट्टराईले बताए ।

खड्कालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाइएको छ ।

खड्काले आफ्नो हाई लिंक एजुकेसन कन्सल्टेन्सी रहेको र वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई विश्वास दिलाई आफ्नो बैंक खातामा पटक पटक रकम जम्मा गर्न लगाई रकम ठगी गर्ने गरेका थिए ।

उनले पीडितलाई अमेरिका लैजाने भनी सिंगापुर, आइभरी कोस्ट हुँदै घानासम्म पु¥याई अलपत्र पारेको पनि अनुसन्धानका क्रममा खुलेको छ । काठमाडौं, कोलकाता, अजरबैजान, पोर्चुगल, सुरिनाम हुँदै अमेरिका, ग्रीस, क्यानेडा, फिनल्याण्ड, जर्मनी, मेक्सिको, ब्राजिल, पेरू, कोलम्बियालगायतका देशमा समेत पठाउने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

खड्काले अहिलेसम्म ८-१० जनाबाट रकम ठगेको, युरोप पठाएबापत प्रतिव्यक्ति आठ देखि १० लाखसम्म रकम लिने गरेको पाइएको छ । खड्काको ज्योति विकास बैंकको खातामा सन् २०२२ जुलाई २४ देखि २०२४ मे २९ तारिखसम्म चार करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ विभिन्न व्यक्तिले जम्मा गरेको खुलेको प्रहरीले बताएको छ । उक्त रकम जम्मा गर्ने व्यक्तिमध्ये उजुरीकर्ता कमलाले विभिन्न मितिमा ३८ लाख ३५ हजार र दुर्गाबहादुरले विभिन्न मितिमा आठ लाख २० हजार रकम जम्मा गरेको पाइएको छ ।

खड्काको खातामा जम्मा भएको रकममध्ये चार करोड ३२ लाख २६ हजार १०१ झिकिसकेको, उक्त खातामा अहिले एक लाख ४२ हजार पाँच रुपैयाँमात्रै मौज्दात रहेको छ । अनुसन्धानका क्रममा खड्कालाई विभिन्न कार्यालयबाट आठ वटा बैकिङ कसुर र एउटा ठगीमा ७८ लाख ८८ हजार विगो दाबीसहित मुद्दा चलिरहेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *