बागमतीका मेयरलाई अकुत सम्पत्तिपछि भ्रष्टाचार मुद्दा, उपमेयर पनि अख्तियारको फन्दामा – Nepal Press

बागमतीका मेयरलाई अकुत सम्पत्तिपछि भ्रष्टाचार मुद्दा, उपमेयर पनि अख्तियारको फन्दामा

काठमाडौं । अकुत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका सर्लाही बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । थापा र उपमेयर लीलाकुमारी मुक्तानसहित ६ जनाले ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

आयोगले मंगलबार प्रमुख र उपप्रमुखसँगै नगरपालिकाकै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियरङ सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीको तत्कालीन प्रमुख मेथुर चौधरी विरुद्द भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

नगरपालिकाको वडा नम्बर चार र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड २९ लाख ३४ हजार ८९७ रकम हिनामिना तथा दुरुपयोग गरेको भन्दै मुद्दा दायर गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार उनीहरु ६ जनालाई नै छुट्टा छुट्टै ३० करोड २९ लाख ३४ हजार ८९७ रकम विगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो ।

यसअघि मेयर थापाविरुद्ध अनुसन्धान आयोगले ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ अकुत सम्पत्ति कमाएको ठहरसहित सोहीबमोजिमको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

वागमती नगरपालिकामा मेयर र उपमेयरसहित अधिकांश वडाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित छन् । १२ वटा वडाध्यक्षमध्ये कांग्रेस र एमालेका एक एकजना मात्र छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर