गर्मी छल्न अन्धाधुन्ध खोलामा पस्दा जोखिम बढ्दो- तिनाउमा डुबेर ३ दिनमा ३ जनाको मृत्यु – Nepal Press

गर्मी छल्न अन्धाधुन्ध खोलामा पस्दा जोखिम बढ्दो- तिनाउमा डुबेर ३ दिनमा ३ जनाको मृत्यु

रुपन्देही । गर्मी छल्न अन्धाधुन्ध खोलामा पस्दा जोखिम बढेको पछिल्ला केही घटनाक्रमले देखाएको छ । पाल्पाको दोभान क्षेत्रको तिनाउ नदीमा रुपन्देही, कपिलवस्तु, नवलपरासीका साथै भारतका विभिन्न ठाउँबाट पौडिन आउनेको लर्को नै हुन्छ ।

बुटवलबाट ६ किलोमिटरको दूरीमा सिद्धबाबाको ड्यामदेखि दोभान आसपासको क्षेत्रमा गर्मी छल्ने पौडिन पुग्ने धेरै छन् । तराईमा हपहपी गर्मी हुँदा पनि बग्ने चिसो पानी र अग्ला पहाडको बीचमा रहेका स-साना ताल तथा बुटवल जलविद्युतको ड्यामसाइड पौडनेहरुको केन्द्र बनेसँगै जोखिम पनि उस्तै बढेको छ । यही तिनाउ नदीमा डुबेर पछिल्लो तीन दिनमा तीनजना भारतीय युवाले ज्यान गुमाएका छन् ।

चर्को गर्मी छल्न भन्दै बुटवल, भैरहवा, लुम्बिनीलगायत भारतको सुनौली, नौतनहवा, गोरखपुरबाट दैनिक रूपमा सयौं युवायुवतीहरु समूहगत रुपमा तिनाउ नदीमा पौडी खेल्न जाने गर्छन् । खोलाको खोँचका रह र पोखरीको गहिराइ आंकलन नगरी पौडी खेल्दा हरेक वर्ष डुबेर युवाहरुको मृत्यु हुने गरेको छ । पछिल्लो समय भारतका विभिन्न शहरबाट आएका युवा पौडी खेल्ने क्रममा यसैगरी डुब्ने गरेका छन् । शनिबारदेखि सोमबारसम्म हरेक दिन एक-एक जना भारतीय युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोभान प्रहरी चौकीका प्रमुख सई जनक बुढाका अनुसार भारतबाट आएका अधिकांश युवायुवतीहरु पौडिन जानेका हुँदैनन् तर समूहगत रुपमा खोलाको गहिराई आंकलन नगरी पस्दा यस्तो घटना भइरहेको छ ।

‘तिनाउमा रहेको लामीदमार ड्याम साइड, रिभर साइडलगायतका पौडी स्थानहरुमा हामीले खतराको बोर्ड लगाएका छौं, तारजाली पनि लगाएका छौं तर सबै ठाउँमा प्रहरी बस्न सक्दैन, यसरी समूहमा आउनेहरु त्यो सूचनालाई नहेरी खोलामा पस्दा यस्ता घटना दोहोरिएका छन्, आज पनि हामीले लगाएको तारजाली फालेर पौडेको सूचना आएपछि टोली लिएर जाँदैछु’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार शनिबार र आइतबारजस्तै सोमबार पनि भारत महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको डुबेर मृत्यु भएको हो ।

साथीहरूसँग घुम्न आएका शर्मा सोमबार साँझ पौडी खेल्न भन्दै तीन जना साथीसहित पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साको लामेदमारस्थित तिनाउ खोलामा पुगेका थिए। प्रहरीका अनुसार साँझ ६ बजेतिर पौडी खेल्दै गरेका शर्मा अचानक खोलाको रहमा डुबेका थिए ।

खोलामा डुबेका शर्मालाई सँगै गएका साथीहरुले तत्काल उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसअघि आइतबार गोरखपुर थाना सैजन्वा रंगौलीग्रामका १५ वर्षीय आर्यन कुमारको तिनाउ-३ स्थित बुटवल पावर कम्पनीको ड्याममा डुबेर मृत्यु भएको थियो । त्यस्तै शनिबार तिनाउ–३ कै झुम्सास्थित तिनाउ खोलामा डुबेर भारत कानपुरका ३५ वर्षीय फहिम अहमदको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तिनाउ खोला तथा कतिपय गहिरा पोखरीहरूमा जानबाट रोक्नका लागि केही ठाउँमा तारबार र चाबी लगाएर राख्दासमेत पौडी खेल्ने क्रममा डुब्ने क्रम नरोकिएको बताए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तराईको प्रचण्ड गर्मी छल्न भन्दै पौडी खेल्न जाने युवा डुब्ने क्रम नरोकिएको बताए । हरेक वर्ष पाँच-छ जना युवा यसैगरी डुब्न थालेपछि भुतखोलामा जान गत वर्षदेखि बन्द गरिएको छ। तिनाउ खोला चुनौती बन्न थालेको उनको भनाइ छ । सरकारले पर्यटकीय स्थलको रुपमा विकास गरिरहेका खोला, पोखरी, झरना र तालहरूलाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए ।

गाउँपालिकाले भुतखोलासँगै बाँध क्षेत्रमा जान रोके पनि प्रदेश सरकारले ड्याम साइडलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिरहेकाले रोक्न नसकिएको उनले बताए । ‘हामीले ठाउँठाउँमा बोर्ड पनि राख्न लगाएका छौं, यसको व्यवस्थापन स्थानीय सामुदायिक वनले गरेको छ । तर, केही व्यक्ति धेरै मदिरा सेवन गरेर, लागूऔषध प्रयोग गरेर आएकाले सुरक्षाको समस्या बढेको विषयहरु आएका छन्, पालिकामै यसलाई कुन विधिबाट समाधान गर्न सकिन्छ योजना बनाउँछौं’ उनले भने । बुटवल पावर कम्पनीको ड्याम साइड करिब ३५ देखि ४० फिट गहिरो भए पनि अहिले भने यो पुरिँदै गएको छ । यहाँ गहिरोभन्दा पनि ड्याममुनि पानीले खोतलेर बनाएको सुरुङ र रडहरुमा ठोक्किएर मानिसको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।

राम्ररी पौडी खेल्न नजानेहरु टाउकोमा चोट लागेर बेहोस हुने र निस्सासिएर मृत्यु हुने गरेको र पावर कम्पनीले पहिले यो मर्मत गर्ने गरेको भए पनि पछिल्लो समयमा खासै चासो नदेखाएको उनीहरुको गुनासो छ ।

तिनाउ सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले जोखिम बढी भएको भनेर स्थानीय प्रशासनले पौडीका लागि रोकेपनि लुकिछिपीरुपमा त्यो काम भइरहेकोले यस्तो भएको बताए । ‘
अहिले प्रशासनले रोकेको छ, जोखिमबारे सूचना बोर्ड राख्नुपर्‍यो, स्थानीय प्रहरी प्रशासनले कडाई गर्जुपर्यो, सुरुङमार्गले पनि बाटो छेउमा साँघुरो बनाएको छ, यसका लागि सो क्षेत्रमा सुरक्षाकर्मी र उद्धारका लागि मान्छे खटाउन जरुरी छ’ उनले भने ।

भारतीयमात्रै होइन यी क्षेत्रमा नेपाली युवाहरु पनि डुबेर धेरै जनाको मृत्यु भएको छ । यहाँको भूतखोला, लामीदमार, ड्यामसाइड, रिभर साइडलगायतका क्षेत्रमा पौडिनेहरु बढी जोखिममा परेका छन् । स्थानीय सरकार, प्रशासनले ती क्षेत्रमा पौडीका लागि रोकेको जनाएपनि समूहगत रुपमा जानेहरुले बलजफ्ती गर्दा यस्ता घटनाहरु दोहोरिइरहेका छन् । गतवर्ष पनि यही समयमा ४ नेपाली युवाहरुले यसैगरी डुबेर ज्यान गुमाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *