बीउमा आत्मनिर्भरतर्फ लुम्बिनी, भारतसँगको खुला सीमा चुनौती – Nepal Press

बीउमा आत्मनिर्भरतर्फ लुम्बिनी, भारतसँगको खुला सीमा चुनौती

रुपन्देही । लुम्बिनी प्रदेशमा बीउको प्रतिस्थापनदर बढेको छ । यो बीउमा प्रदेश आत्मनिर्भर बन्ने आधारमा हो, तर प्रदेशका ६ जिल्ला भारतसँग खुला सिमाना भएकाले अवैध बाटोबाट बीउ आउन रोकिएको छैन ।

प्रदेशमा विभिन्न समूह, सहकारी, निजी फार्महरूले बीउविजन नियमित रूपमा उत्पादन गर्दै आएका छन्, जसले बीउमा प्रदेश आत्मनिर्भर बन्ने बाटोमा लम्केको छ ।

लुम्बिनीको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया भारतसँग सीमा जोडिएका जिल्ला हुन् । यी जिल्लामै अधिक क्षेत्रमा खेती हुने गरेको छ ।

नेपालमा सूचीकृत नै नभएका बीउ किसानको घरघरमा पुगे पनि नियामक निकायले नियन्त्रण गर्न सकेको छैन । किसानहरु पनि सस्तोको नाउँमा त्यसले उत्पादन दिन वा नदिनेलगायतका प्रभाव र असरबारे ध्यानै नदिइ बीउ खरिद गरिरहेका छन् ।

कृषि प्राविधिक तथा कृषि पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण खनालले भारतसँगको खुला सीमाका भएका कारण अवैध बीउबिजन आयातको चुनौती नघटेको बताए ।

‘अवैध तरिकाले बीउ ल्याउँदा क्षति हुनसक्नेबारे किसानहरुलाई सचेत गर्नु गराउनुपर्छ र त्यसका लागि सरकारले समयमै बीउ दिने ग्यारेन्टी गर्नपर्छ’, उनले भने ।

यो क्षेत्रमा खाद्यान्नमा धान, गहुँ, मकै, तेलहन र दलनबालीमा प्रदेशका किसानहरूले बीउ प्रतिस्थापन गर्दै जान थालेको विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार हरेक बीउबाट उत्पादकत्व बढाउन ३-३ वर्षमा पुरानो बीउ प्रतिस्थापन गरी नयाँ लगाउने गर्नुपर्छ । अहिले त्यो क्रम बढेको उनीहरुको भनाइ छ ।

प्रदेशमा ६ लाख ७१ हजार २०० हेक्टर क्षेत्रफलको लागि हाल ३७ हजार ९९३ मेट्रिक टन बीउ आवश्यक छ, जसमा १० हजार ८३९ मेट्रिक टन बीउ मुख्य बालीको समग्र रूपमा उत्पादन हुँदै आएको छ । प्रदेशका ६ जिल्लामा काम गर्दै आएको बीउविजन प्रयोगशाला भैरहवा रूपन्देहीका प्रमुख शालिकराम गौतमले नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका किसानको लागि बीउ उत्पादनको काम भइरहेको बताए ।

उनका अनुसार ६ जिल्लामा बीउ उत्पादन तथा बिक्री वितरणको लागि ७७ वटा सक्रिय संस्था र सेवा प्रवाह भएका संस्था ९० वटाभन्दा धेरै छन् । बीउ उत्पादनको लागि अनुमति प्राप्त गरेका संस्था २१ र प्रशोधन कारखाना उत्पादन गर्ने गरी अनुमति लिएका संस्था १४ वटा रहेका छन् । प्रदेशका ६ जिल्लामा बीउ भण्डारण गोदाम भएका ३०, ती गोदाममा ११ हजार ७७० मेट्रिक टन भण्डारण क्षमता रहेको छ  । दर्ता भएका बीउ उत्पादकहरू ६ जिल्लामा २ हजार ६ ९८ वटा रहेका छन् ।

‘यहाँ उत्पादन भएको बीउ बाहिर जान्छ, जसले गर्दा केही अपुग जस्तो देखिएको छ, तर यहाँ उत्पादन भएको बीउ पूर्ण खपत प्रदेशमा गर्ने हो भने हामी आत्मनिर्भर छौं’, उनले भने ।

धान, गहुँलगायतका बीउ प्रदेशमा उत्पादन भएर बाहिर निर्यात हुँदै आएको गौतमको भनाइ छ  । कार्यालयले बीउको बाली निरीक्षण दरमा समेत वृद्धि गरेको छ । १० वर्षको अवधिमा वर्षमा १ हजार हेक्टरभन्दा बढी क्षेत्रमा बीउ निरीक्षण गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा गहुँ, मकै र धानबालीमा ४१३ वटा प्रमाणीकरणको लागि प्रतिवेदन प्राप्त भएको थियो, जसअनुसार ११ हजार १०७ वटा बीउको नमुना परीक्षण गरिएको छ  । जसमा गहुँ, धान, मकै, दलहन, तेलहन, तरकारी, घाँसबाली रहेका छन् ।

रूपन्देहीमा बीउको म्युजियम स्थापना भएको छ  । बीउविजन प्रयोगशाला भैरहवामा २०७९ साल चैतमा सीड म्युजियम तथा लाइब्रेरी स्थापना गरिएको हो । जसमा प्राविधिक पुस्तक १५०, अन्य वार्षिक कार्यालयका पुस्तक १५०, विभिन्न पम्प्लेट तथा लिफलेट, फोल्डरलगायत ३ हजार वटा र ऐन, नियमवाली, कार्यविधि, निर्देशिका राखिएका छन् ।

यस्तै १०१ वटा बालीको बीउ नमुना संकलन राखिएको छ । संकलन गरिएका बालीहरूमा धान, गहुँ, मकै, तरकारी, दलहन, तेलहन छन् । यी बीउ कपिलवस्तु, रूपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, नवलपुरबाट संकलन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर