पाटनमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा ८० वटा स्टल – Nepal Press

पाटनमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा ८० वटा स्टल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको बागमतीस्तरीय ‘श्रमाधान रोजगार मेला’ ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा सुरू भएको छ ।

मेलाको उद्घाटन गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठले रोजगारीको अवसर मात्रै नभई करिअर काउन्सिलको लागि मेलाले सहयोग गर्ने बताइन् ।

‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो बर्ष देखि करिअर काउन्सिलबाट सुरु गर्दैछौ,’ उनले भनिन् ।

उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेसनल तालिमहरू सञ्चालन गर्न सकिने उनको भनाइ छ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए ।

आजको भोलि नै उपलब्धि नदेखिने भएपनि यसले दिर्घकालीन रूपमा सकरात्मक परिणाम देखाउने उनको भनाइ छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मन्त्रालयले मेला आयोजनाका लागि ललितपुर नै छनौट गरेकोमा खुशी जनाए । दैनिक १५०० को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा यस्ता खालका कार्यक्रमले नेपाली युवालाई नेपालभित्रै रोक्न सक्नेमा उनले आशा जनाए ।

जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बागमती प्रदेशको ललितपुरबाट बिट मारिँदैछ । मेलाको संयोजन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेको हो ।

बुधबारसम्म सञ्चालन हुने ललितपुरको मेलामा ८० वटा निजी तथा सरकारी स्टल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *