सिरहा नवराजपुरका पूर्वअध्यक्ष, उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

सिरहा नवराजपुरका पूर्वअध्यक्ष, उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाका पूर्व अध्यक्ष-उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । गाउँपालिकाको वडा नम्बर दुई मझौरामा मधेश प्रदेश सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालय मझौरामा अधूरो कार्य पूरा गर्नको लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ ।

यस्तै वडा नम्बर चारका वडा अध्यक्ष मदन यादव र वडा नम्बर पाँचका तत्कालीन वडा अध्यक्ष मनोजकुमार यादव वडा नम्बर दुईका तत्कालीन वडा अध्यक्ष खुशिलाल साह, गाउँपालिकाका लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सवइन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजयप्रसाद यादव विरुद्द पनि मुद्दा दायर भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनकाअनुसार उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाह विरुद्द पनि मुद्दा दायर भएको छ ।

उनीहरूसँग जनही १४ लाख ५१ हजार ५५१ बिगो मागदाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर