श्रमादान रोजगारी मेला चर्चा धेरै उपलब्धि कम – Nepal Press

श्रमादान रोजगारी मेला चर्चा धेरै उपलब्धि कम

रुपन्देही । श्रमादान मेला बाहिर प्रचार गरिएजस्तो प्रभावकारी नभएको सहभागीले गुनासो गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ बुधबार र विहीबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरियो ।

प्रदेशस्तरको यो मेलामा सहभागी भने सबै क्षेत्रबाट सहभागी हुन सकेनन् । बुटवलको बेलवासका दिनेश घिमिरेले आफू बेरोजगार भएका कारण त्यो मेलामा सहभागी भएको तर त्यहाँबाट आफूलाई रोजगारी पाउने कुनै भरोसा नलागेको बताए ।

यो कतै सरकारी रकम खर्च गर्नका लागि गरेजस्तो लायो, यसलाई वडा तहबाटै संकलन गरेर गर्न सकिन्थ्यो तर यसरी त कसरी प्रभावकारी बन्न सक्ला र खै रु उनले प्रश्न गरे । तर सहभागी स्टलहरुमा राखिएका विभिन्न फारामहरुमा धेरैजनाका नाम नम्बर लेखिएकाले वास्तविक चाहना राखेका उद्यमीले मान्छे राख्नसक्ने उनले बताए ।

बुटवलको बुद्धनगरबाट मेलामा आएकी ३५ वर्षकी तारा पोखरेलले मेलाले रोजगारीको खोजी गरिरहेकाहरूलाई रोजगारदातासम्म जोड्ने पुलको काम गरेको बताइन् ।

उनी भन्छिन्, “म पहिले पनि यस्तै संस्थाले दिएको तालिम लिएर कम लगानीबाट माला बनाउने काम गरे । मेलाले केहि अवसर छ कि भनेर आएकी हुँ । यहाँ आएर मैले व्यवशायिक प्रशिक्षण केन्द्र बुटवलको फर्म भरेकी छु । छनोटमा परे भने मैले ब्यूटिसियन तालिम लिएर अझै आफुलाई व्यवसायिक बनाउन सक्छु की भन्ने छ । तर कसरी छनोट गर्ने हुन आधार के–के छन् केहि थाहा भएन । कोहि रोजगारदाता भेटिएका नि छैनन् । त्यसै फर्म भरेर नम्बर छाडेको छु ।”

मेलामा भेटिएका बुटवल नयाँगाँउका मदन कुवँरले यस्ता मेलाले सन्देश दिन खोजे पनि रोजगारी समस्या समाधान गर्न नसक्ने बताउँछन् । “हाम्रा तीन वटै सरकारले जनताका लागि गर्ने भनेको काम नै कहिल्यै पुरा र जनताको हितमा गर्ने गरेका छैनन् । त्यसैले यो मेलाको पनि धेरै युवा वर्गलाई विश्वास नलागेको हुनसक्छ ।” उनले भने ।

“समाजमा गाँउमा घरै पिच्छे रोजगारी नपाएका छन् तर मेलामा सहभागिता देखिएन ।, खै त मेलामा जुन उत्साह हुनुपर्ने हो त्यो छैन । जुन अवसरको खोजी गरिरहेको जमात यहाँ आइपुगेको छैन । यहाँसम्म रोजगारीका लागि नआउनु भनेको राज्यको कमजोरी हो ।” उनले भने ।

बुटवल कालिका हेमन्त अर्याल निःशुल्क सीप सिकाएर स्वरोजगार बनाउँछौं भन्ने कुरा राम्रो हो यहाँ धेरै राम्रा अवसरहरू पनि पाउन सकिन्छ । सरकारले रोजगारदाता र रोजगारको खोजी गरिरहेकाहरू बीच पुलको काम गरेका छ । यो राम्रो पक्ष हो तर यहाँ अहिले भईरहेको अवस्थालाई व्यवस्थित गर्न जरुरी छ ।

मेलाबाट धेरैले अवसर लिने मेला संयोजक लोकनाथ भुसालले विश्वास व्यक्त गरे । मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा शुरु भएको हो । रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने अपेक्षाका साथ बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन गरिएको छ ।

जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको श्रमाधान रोजगार मेला, मधेश प्रदेशमा र गण्डकी प्रदेशको पोखरामा पनि सम्पन्न भइसकेको छ । रोजगार मेला कर्णाली प्रदेशमा बीरेन्द्रनगरको सुर्खेतमा यही जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते सञ्चालन हुने आयोजकले बताएका छन् ।

श्रम कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले यो मेलाबाट सबै विषय समाधान हुनेभन्दा पनि रोजगारी खोज्ने र रोजगार दिनेहरुको भेट हुने स्थल भएकाले त्यही ढंगले बुझ्नुपर्ने बताउँछन् । ‘यो एउटा समन्वयको सुरुवात भएको छ, यसलाई सकारात्मक मानौं, दुवै पक्षले आवश्यकताअनुसार सम्पर्क गर्ने माध्यम बनेको छ, यसले रोजगारदातालाई पनि व्यक्ति अभावको समस्या कम गराउने छ र रोजगारी खोज्नेलाई पनि आफ्नो योग्यताअनुसार काम गर्नसक्ने ठाउँको व्यवस्थापन गर्न सहज हुनेछ’ उनले भने ।

मेलामा सहकार्य गरेको नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमका अनुसार मेलाले सकारात्मक सन्देश दिएपनि चाहेजति उपलब्धी लिन नसकेको बताए । ‘यस्तो बेलामा उद्योगीहरुले सहभागिता जनाए, केही व्यवस्थापन पनि भयो तर अपेक्षाकृत उपलब्धी पूरै नभएको हो, पहिलो चरणमा यहाँसम्मको सहभागिता राम्रो हो ।’ उनले भने ।

३५ जनाले रोजगारी पाए, १ सय ५० जना दोश्रो चरणका लागि छनोट

दुई दिने श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन्। जेठ २३ र २४ गते बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा चलेको ‍‍‍‍मेलाको ६ हजार जनाभन्दा बढीले अवलोकन गरेको आयोजकले दावी गरेपनि त्यो प्रभावकारी नभएको सहभागीको भनाइ छ ।

श्रम कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण गरिएको बताए।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेलामा ४१ वटा औद्योगिक प्रतिष्ठानहरूका स्टल रहेका थिए।

आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार ४१ वटा स्टलबाट ७ सय ३१ जनाका लागि आवेदन आह्वान भएकोमा रोजगारीका लागि १ हजार २ सय २८ जनाले आवेदन दिएका छन्।

मेलामा ५ सय जनाले वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तिय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेको उनले बताए। पाण्डेयका अनुसार मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने १ सय ५० जना दोश्रो चरणका लागि छनोट भएका छन्।
पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि कार्यक्रम सहायक सिद्ध भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *