बेथानचोकमा गोरखाली र सेन सेनाबीच युद्ध भएको महत्वपूर्ण गढीको पहिचान – Nepal Press

बेथानचोकमा गोरखाली र सेन सेनाबीच युद्ध भएको महत्वपूर्ण गढीको पहिचान

टुँडिखेलको महांकाल कपेरबाट ल्याएको स्थानीय जनविश्वास

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ मा रहेको कपेर महांकाल गढी ऐतिहासिक एवं रणनीतिक महत्वको गढी रहेको इतिहासकार एवं पुरातत्वविद्हरुले दाबी गरेका छन् ।

बेथानचोक गाउँपालिका तथा संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा शुक्रबार सोही गढी क्षेत्रमा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने इतिहासकार एवं पुरातत्वविद्हरुले सो गढीमा सेन वंशी सेना र गोर्खाली सेनाबीच ठूलो युद्ध भएको र अँग्रेजलाई उपत्यकामा रोक्नका लागि तयार पारिएको रणनीतिक महत्वको गढी भएको दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै इतिहासविद् प्रा‍.डा. दिनेशराज पन्तले काठमाडौं उपत्यकामा मध्यकालदेखि नै पटकपटक पूर्वबाट आक्रमण हुने गरेको भन्दै पूर्वपट्टिको त्यो गढी वास्तवमै रणनीतिक महत्वको गढी रहेको बताए । यदि यस्तै गढी किल्लाहरु नभएको भए पृथ्वीनारायण शाहको पुनः एकीकरण सम्भव नभएको भन्दै कपेर महांकाल गढीको महत्व उपत्यकामा अँग्रेज सेनालाई प्रवेश गर्न नदिनको लागि तयारी अवस्थामा राखिएको सहायक गढी रहेको उनको भनाइ छ ।

उनले भने, ‘विसं१८१९ माघ १० गते मकवानपुर गढीमा बंगाली सेनाहरुसँग युद्ध भयो त्यो ठाउँ यो होइन, त्यस्तै वि।सं। १८२४ आश्विन १५ गते सिन्धुलीगढीको पौवा गढीमा किनलकको सेनालाई हटाइयो त्यो ठाउँ पनि यो होइन । अँग्रेजहरु यहाँसम्म नआइपुगे पनि यो मकवानपुरबाट उपत्यका प्रवेश गर्न नदिन तयार पारिएको गढीको रुपमा चिन्न सकिन्छ ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख एवं पुरातत्वविद् प्रा.डा. मदनकुमार रिमालले अवस्थिति र भूगोलको आधारमा हेर्दा हरिहरपुर गढी दपेटेको खण्डमा अँग्रेज सेनालाई रोक्नका लागि यो व्यवस्थित गढीको निर्माण गरिएको देखिएको बताए ।

नेपाल उपत्यकामा भएका आधिकांश आक्रमणहरु पूर्वतर्फबाट हुने गरेकोले पूर्वतर्फ बलिया र महत्वपूर्ण गढीहरुको निर्माण गर्ने चलन पहिलेदेखि नै चल्दै आएको उनको भनाइ छ । यही क्रममा यो स्थानमा मध्यकालमा नै गढीको निर्माण गरिएको हुन सक्ने उनको अनुमान छ । सोही व्यवस्थित गढीलाई पछि अँग्रेज सेनाहरुले सेन सेनालाई जितेर हरिहरपुरको सहायक गढीको रुपमा विकास गरेको हुन सक्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले यो रणनीतिक महत्वको गढी हुन सक्ने स्थानीय किंवदन्ती रहेकोमा यसलाई व्यवस्थित अध्ययनबाट पुष्टि गर्न यो अध्ययन गराइएको जानकारी दिए । उनले हालसम्म चर्चामा नरहेको यो गढीको ऐतिहासिक महत्व पुष्टि भएपछि अब यसलाई संरक्षण गर्दै यसलाई सबैको पहिचानमा पुर्याउन गाउँपालिका तयार रहेको जानकारी दिए ।

संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको तर्फबाट त्रिवि नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी सहप्रा.डा. सन्ध्या खनाल पराजुलीको नेतृत्वमा अध्ययन केन्द्रका सुदर्शन अर्याल र महेश सापकोटाको संलग्नतामा भएको अनुसन्धानबाट यो गढीमा गोरखाली सेना र सेनवंशी सेना बीच युद्ध भएको र तामाङ सेनाहरू सो युद्धमा सहभागी भएको भेटिएको छ ।

कपेर महांकाल गढीमा युद्ध भएको थियो भन्ने कुरालाई यस डाँडाको फेदीमा अवस्थित गहिरो खोंच तथा सोको ध्यागरवाङ् भनिने स्थानीय नामले पनि पुष्टि गरेको छ । पछि यो रणनीतिक महत्वको गढीलाई गोरखाली सेनाहरुले कब्जामा लिएर हरिहरपुर गढीपछिको सुरक्षाकिल्लाको रुपमा विकास गरेको देखिएको अनुन्धानको नेतृत्व गरेकी डा. खनालले जानकारी दिइन् ।

टुँडिखेलको महांकाल र कपेर महांकालको सम्बन्ध

सोही गढीको पश्चिमपट्टि रहेको कपेर महांकाल थान पनि सांस्कृतिक रुपमा महत्वपूर्ण रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गढको निर्माण गर्दा त्यसको मध्य भागमा जय, विजय, विषाखा, कुबेर आदि देवताको स्थापना गर्ने कौटिल्यको अर्थशास्त्रमा उल्लेखित विधान अनुसार नै बेथानचोकको कपेर महांकाल गढीमा पनि सुरक्षाको निमित्त महांकालको स्थापना गरिएको अध्ययनको क्रममा भेटिएको छ ।

युद्ध चलिरहेको समयमा सेनाका उच्च अधिकारीलाई सपनामा महांकालले उनको थानमा बली चढाएर उपासना गरे शत्रु पराजित हुने सुझाव दिएको, बलि चढाएपछि घासपात सिस्नु तथा किरफट्यांग्रा अरिंगाल बनेका, शत्रुका आँखा बन्द भएको र युद्ध जितिएको, यसको असर थामडाँडामा गढीमा पनि परेको भनाइ पाइन्छ । यिनै महांकाल काठमाडौंको टुँडिखेलमा स्थापना गरिएको स्थानियहरुको भनाइ छ ।

किंवदन्तीलाई आधार मानी बेथानचोकको र काठमाडौंका महांकालको सम्बन्धलाई जोडेरे हेर्ने हो भने कपेर महांकाल गढी र कपेर महांकालको ऐतिहासिकतालाई मध्यकालसम्म पुर्याउन सकिने डा.खनालले जानकारी दिइन् ।

दक्षिणतर्फको व्यापार मार्गको महत्वपूर्ण स्थान
त्यस्तै, कपेर महांकाल हुँदै थाम डाँडा पुगेर दक्षिणपूर्वी भेगमा उपत्यकाले व्यापार गर्ने व्यापार मार्ग चल्ने गरेको पनि अध्ययनको क्रममा भेटिएको छ ।

हाल बेथानचोक गाउँपालिका वडा नं ५ र १ बाट काठमाडौं उपत्यकाका विभिन्न राज्यले दक्षिणतर्फ व्यापार गर्ने गरेको संकेत भेटिएको छ । साविक च्यासिङखर्क गाविस कपेर महांकाल डाँडा हुँदै थामडाँडा निस्किएर दक्षिणतर्फ भारतसम्म जाने परम्परागत बाटो रहेको स्थानीय किंवदन्ती भेटिन्छ । डिआर रेग्मीद्वारा लिखित मिडिएबल नेपालले पनि यो क्षेत्र हुँदै व्यापारिक मार्ग दक्षिणतर्फ जाने गरेको संकेत गरेका छन् ।

बेथानचोकको वडा नं १, वडा नं ५ र वडा नं ६ बाट दक्षिणतर्फको व्यापारका लागि जाने गरिएको स्थानीय किंवदन्ती र इतिहास भेटिन्छ । पालिकाको वडा नं १ बाट फापरबारी हुँदै गौरपुग्ने बाटो पनि रहेको स्थानीयको भनाइ छ । यहाँबाट केवल ३७ किलोमिटरमा मकवानपुर जिल्लाको फापरबारी पुग्न सकिन्छ ।

त्यस्तै, च्याल्टीका स्थानीय लीला लामाका अनुसार खोपासी, पनौती र बनेपाको दक्षिणतर्फको व्यापार पनि यही मार्ग हुँदै जाने गरेको आप्mना पुर्खाले सुनाएको आधारमा बताउँछन् । डिआर रेग्मीले आफ्नो पुस्तक मिडिएभल नेपालमा महाभारतको डाँडोबाट मध्यकालीन समयमा ललितपुरका शासक एवं व्यापारीहरूले दक्षिणतर्फको व्यापार गर्नेगरेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर