युरोप आउँदै हुनुहुन्छ ? बढ्दैछ सेन्जेन भिसाको शुल्क – Nepal Press

युरोप आउँदै हुनुहुन्छ ? बढ्दैछ सेन्जेन भिसाको शुल्क

लिस्वन, पोर्चुगल । तपाईं युरोप आउने सोचाइ बनाइराख्नु भएको त छैन ? यदि छ भने यो कुरा पनि विचार गर्नुहोस् है ! युरोपियन आयोगले यही जुन महिनादेखि आफ्नो भिसा शुल्क बढाएको छ ।

आयोगले सदस्य राष्ट्रहरूमा मुद्रास्फीतिमा भएको मूल्यवृद्धिको आधारमा भिसा शुल्क बढाएको छ । जसअनुसार शुल्क १२ प्रतिशतले बढाएको छ ।

सेन्जेन भिसाको आधारभूत शुल्क वयस्कहरूको लागि ८० देखि ९० युरो (करिब ११ हजार ५०० रुपैयाँ) र बच्चाहरूको लागि ४० देखि ४५ युरो (करिब ६ हजार रुपैयाँ) सम्म बढाइएको छ । आयोगले अन्य देशको भिसा लागतको तुलनामा सापेक्ष रूपमा कम भएको जनाएको छ ।

बेलायतमा १३५, संयुक्त राज्य अमेरिकामा १८५ र अष्ट्रेलियामा ११७ युरो लिने गरेको उदाहरण पनि आयोगले प्रस्तुत गरेको छ । सेन्जेन भिसाको नयाँ शुल्क यस वर्षको जुन ११ देखि लागू हुनेछ ।

कसलाई चाहिन्छ सेन्जेन भिसा ?

युरोपियन युनियनमा आबद्ध नभएका देशका नागरिकहरू युरोपियन युनियनका राष्ट्रहरू भ्रमण गर्न सेन्जेन भिसा आवश्यक पर्छ । एसियामा रहेका नेपाल, भारत जस्ता देश र अफ्रिकामा रहेका देशका नागरिकलाई भिसा आवश्यक पर्छ । जुन भिसा घुम्न वा पारिवारिक भेटघाट गर्न प्रयोग हुने गर्छ । यो भिसाले युरोपियन युनियनमा रहेका २८ वटा देश घुम्न पाए पनि कामको लागि प्रयोग गर्न पाइँदैन ।

अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलियालगायतका देशका मानिसहरू जो छोटो समयको लागि भ्रमण गर्छन्, उनीहरूले सेन्जेन भिसाको आवेदन दिन पर्दैन । किनभने उनीहरू प्रत्येक १८० मध्ये १९० दिनको भिसा–फ्री यात्राका हकदार छन् ।

लामो समय बस्न वा काममा रहन चाहने जो-कोहीले आफूले भ्रमण गर्न चाहेको देशबाट फरक भिसाको लागि आवेदन दिन पर्छ ।

किन बढ्दैछ सेन्जेन भिसा शुल्क ?

प्रत्येक तीन वर्षमा आयोगले यी शुल्कहरूको मूल्याङ्कन गर्छ र तिनीहरूलाई ‘उद्देश्य मापदण्ड’को सूचीको आधारमा बढाउनसक्छ । यसमा मुद्रास्फीति दर र सदस्य राष्ट्रहरूमा निजामती कर्मचारीको औसत तलब समावेश छ ।

यसले डिसेम्बरमा भएको बैठक पछि फेब्रुअरी २ मा मूल्यवृद्धि प्रस्ताव गरेको थियो, जसलाई सदस्य राष्ट्रहरूले अत्यधिक बहुमतसाथ समर्थन गरेका थिए । आयोगले सेन्जेन भिसाका बाह्य प्रदायकहरूलाई पनि संशोधनको आधारमा शुल्क वृद्धि गर्न दिने प्रस्ताव गरेको छ ।

सदस्य राष्ट्रहरूको तर्फबाट सेन्जेन भिसा आवेदनहरू संकलन गर्ने भिसा एजेन्सीहरू जस्ता बाह्य प्रदायकहरूले लिन सक्ने अधिकतम रकम सामान्यतया मानक शुल्कको आधा हुन्छ । यसलाई ४० देखि ४५ युरो (करिब ६ हजार रुपैयाँ) सम्म बढाउने प्रस्ताव गरिएको छ । सेन्जेन भिसा विस्तारको शुल्कमा भने कुनै परिवर्तन नगरी ३० युरो (करिब चार हजार ३०० रुपैयाँ) नै कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *