स्थानीय तहमा बेथिति: खाँडाचक्रका कर्मचारी हाजिर गर्दै, टाप कस्दै – Nepal Press

स्थानीय तहमा बेथिति: खाँडाचक्रका कर्मचारी हाजिर गर्दै, टाप कस्दै

उपमेयर गणेश शाही भन्छन्- कर्मचारीहरु विभिन्न बहाना बनाएर बजार घुम्न जान्छन्

कालीकोट । जिल्लाको मुटुमा रहेको खाँडाचक्र नगरपालिकामा कर्मचारीहरु समयमा नआउँदा सेवाग्राही मर्कामा परेका छन् ।

सरकारले कार्यालय समय १० बजे तय गरे पनि खाडाचक्र नगरपालिकाका केही फाँट कर्मचारीविहीन देखिने गरेका छन् ।

स्थानीय तहका हरेक कार्यालयमा कम्प्युटर हाजिर सिस्टम भए तापनि उक्त नगरपालिकामा प्रविधि जडान गरिएको छैन । यहाँ अहिले पनि परम्परागत रुपमा ढड्डामा हाजिर गर्ने व्यवस्था कायमै छ, तर १० बजे हाजिर गरे तापनि कर्मचारी कार्यालय परिसरमा भेटिँदैनन् ।

समयमै कार्यालय पुगेका सेवाग्राहीहरुले दिनभरि कुर्दा पनि सम्बिन्धत कर्मचारी नभेटिँदा काम नहुने गुनासो गर्छन् ।

तिलागुफा नगरपालिका- ३ की ५० वर्षीय होटल व्यवसायी पार्वती सिंह तीनचार दिनदेखि नपामा बिल भुक्तानीको लागि धाइरहेकी छन्, तर जिम्मेवार कर्मचारीहरु कार्यालयमा समयमै उपस्थित नहुँदा भुक्तानी नपाएको गुनासो गरिन् ।

‘बिल भुत्तलानी लिन नगरपालिकामा कति दिन धाउनुपर्ने हो ?’, उनको प्रश्न छ, ‘दिनहुँजासो नगरपालिका धाइरहेको छु, तर कार्यालयका फाँटहरुका कुर्सीहरु खाली खाली देखिन्छन् । जिम्मेवार कर्मचारीहरु नभेटिँदा काम हुन सकेको छैन ।’

उनका अनुसार मुख्य कार्यसम्पादन हुने फाँटका कर्मचारी कार्यालय समयमा भेटाउनै मुस्किल छ । ‘प्रशासकीय अधिकृत र लेखापालधरी भेटिँदैनन्’, उनले भनिन्, ‘उहाँहरुकार्यकक्षमा अधिकांश समय ताल्चा लगाइएको हुन्छ ।’

नपामा प्रशासकीय प्रमुख अधिकृतमा प्रवलजंग शाही र लेखा अधिकृत धीरबहादुर शाही छन् ।

सिंह नपामा आर्थिक भुक्तानी लिन घरमा अशक्त श्रीमानलाई छोडेर तिलागुफाबाट खाडाचक्र नगरपालिका पुग्दै आएकी छन् ।

नगरपालिकाले तिलागुफाको फोइमहादेवमा गत वर्ष फागुन २५ गते जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको लागि खेलाडी र नगरपालिकाका कर्मचारीहरुको बस्ने तथा खाने व्यवस्था उनको होटेलले गरेको थियो । सोही व्यवस्थापन खर्चको भुक्तानी लिन सिंह निरन्तर नगरपालिका धाइरहेकी छन् ।

गत मंसिरमै भुक्तानी हुन्छ भनेर आश्वासन दिए पनि अहिलेसम्म नभएको उनले गुनासो गरिन् ।

सिंहमात्रै नभएर खाडाचक्र नगरपालिका- ८ का व्यवसायी गोगनबहादुर मल्लले पनि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा आयोजक र खेलाडीले खाएको र बसेको रुपैयाँ भुक्तानी लिन नगरपालिका आउँदा कार्यालयमा कर्मचारी नै नभेटिने गरेको गुनासो गरे ।

‘नगरपालिकाको टीमले खाएको र बसेको खर्चको भुक्तानी २-३ दिनमा हुन्छ भने पनि अहिलेसम्म भएको छैन । बास र खानाको व्यवस्था गरेका थियौं, तर यतिका समय बितिसक्यो अहिलेसम्म भुक्तानी पाएका छैनौं’, उनले भने, ‘यही भुक्तानी लिन निरन्तर नगरपालिका जाँदा कर्मचारी नै भेटिँदैनन् ।’

नगरपालिकाका उपमेयर गणेशबहादुर शाहीले भने कर्मचारीको आफूहरुले निगरानी गरे पनि विभिन्न बहाना बनाएर उनीहरुले कार्यालय परिसर छोड्ने र बजार घुम्न जाने गरेको बताए ।

कार्यालय समय अवधिभर नबस्ने कर्मचारीको हाजिरीमा रातो लगाउने गरेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *