बालेनसँग चर्काचर्की परेका वडाध्यक्ष भन्छन्- अबका दिनमा अभिव्यक्ति राख्ने शैली परिवर्तन गर्छु (भिडिओ) – Nepal Press

बालेनसँग चर्काचर्की परेका वडाध्यक्ष भन्छन्- अबका दिनमा अभिव्यक्ति राख्ने शैली परिवर्तन गर्छु (भिडिओ)

‘तनावको बेलामा अलिकति उत्तेजनामा आएछु, मेयर सा’बको चित्त दुख्योजस्तो छ’

काठमाडौं । न्यूरोड क्षेत्रमा सडकलाई घटाएर सडक पेटी बढाउने महानगरको निर्णयले पछिल्लो समय राम्रै चर्चा र विवाद निम्त्यायाे । पेटी विस्तारको कार्यलाई लिएर काठमाडौं महानगर र सडक विभाग आमनेसामने भए ।

आफ्नो क्षेत्राधिकारको सडक महानगरले बिनाअनुमति भत्काएकाे दाबी गर्दै सडक विभागले न्यूरोड क्षेत्रमा काम रोकिदिएपछि महानगर र सडक विभागको विवाद सतहमा आएको थियो । सो विवादले नयाँ मोड तब लियो, जब  जेठ १८ गतेको कार्यपालिका बैठकमा मेयर बालेन र वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनबीच भनाभनकाे अवस्था सिर्जना भयो ।

महर्जनले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार भइरहेको कुरा पत्रपत्रिकाबाट थाहा पाउनु परेको बताएपछि मेयर बालेन र महर्जनबीच नोकझोक सुरु भएको थियो । हाल सो सडकखण्ड सडक विभागले टालिसकेको छ, तर मेयर बालेनले कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुमा भएको नीतिगत घोटालालाई विषयान्तर गर्न खाेजेकाे टिप्पणी गरेपछि सिंगाे एमाले पंति बालेनविरूद्ध खनिन थालेकाे छ ।

यसै विषायमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनसँग  गरिएकाे भिडियाे कुराकानीः

अघिल्लो कार्यपालिका पछि तपाईँलाई इंगित गर्दै सामाजिक सञ्जालमा आएका टीका-टिप्पणीलाई कसरी लिनु भएको छ ?

हामी सार्वजनिक जीवन बिताउनेहरूलाई प्रशंसा र आलोचना दुवै सामान्य लाग्छ । यसमा आश्चर्यजनक कुरा छैन । यसो भनिरहँदा हामी सामान्य मनोविज्ञान बोकेको मान्छेलाई आलोचना र प्रशंसाले असर नै गर्दैन भन्ने पनि होइन । आलोचना गल्ती गर्दा भएको भए मैले सहर्ष गल्ती स्वीकार गरेर म माफी माग्न पनि तयार हुने मानिस हुँ तर बिना गल्ती आलोचना हुँदा दुख पनि लाग्छ ।

अहिले त महानगरमा बालेन भर्सेस चिनीकाजीको भाष्य निर्माण भएको छ, यो अवस्था कसरी सिर्जना भयो ?

बालेन भर्सेस म व्यक्तिगत रूपमा होइन । मैले समग्र न्यूरोडबासीको मनोभावना व्यक्त गरेको हुँ । म अघिल्लो बोर्ड बैठकमा अलिक उत्तेजित ढंगबाट प्रस्तुत भएँ, यसले मेयर सा’बलाई माया गर्ने समर्थकहरू र स्वयम मेयरसाबलाई पनि केही चित्त दुख्यो कि जस्तो लागेको छ, त्यस सन्दर्भमा म पनि अलिक संयम हुनु पर्थ्यो भन्ने लागेको छ । त्यो उत्तेजनाको चाहीँ कसरी पैदा भयो भन्ने चाहिँ म भन्न चाहन्छु, भएको के थियो भने त्यो बैठक भन्दा केही दिन अगाडिबाट नै हामीले विरोध गर्दा गर्दै न्यूरोड क्षेत्रमा सडक खन्न आउने, सामान ढुवानी गर्न आउने लगायतका कामहरू भइरहेको थियो । सो कारणले गर्दा मानसिक र शारीरिक रूपमा तनावमा रहेको अवस्थामा बैठकमा जाँदा उत्तेजना देखियो । अब आउने दिनमा मेरो अभिव्यक्ति राख्ने शैलीमा परिवर्तन गर्छु ।

आफ्नो वडासँग सम्बन्ध नै नभएको कुरामा किन उत्तेजित हुनु भएको त ?

यो गलत कुरा हो । टेन्डर वडा नं २२ , २३ र २४ सँग गाभेर आव्हान भएको हो । सडकको पेटी बनाउनलाई पिच काट्ने काम मेरो वडामा पनि भइसकेको थियो त्योभन्दा अघिल्लो दिन । मेयर साबले यस कुरामा झुट बोल्नुभएको छ । जिम्मेवार व्यक्तिबाट भ्रम छर्ने काम भएको छ । मेरो वडामा पर्ने धर्मपथमा पेटी काटिएको छ । प्रमाण देखाउन म तयार छु ।

सार्वजनिक खरिद नियमावली अनुसार न्यूरोड गेटदेखि धर्मपथसम्म र न्यूरोड गेटदेखि धर्मपथसम्म टेन्डर भएको छ । तसर्थ यो २४ वडाको मात्र कुरा हो भन्ने मयेर साबको अभिव्यक्ति भ्रमपूर्ण र गलत हो । अनि मैले २४ मा काम हुँदै गर्दा किन विरोध जनाएँ भन्ने जुन कुरा छ, त्यसमा यो पनि बुझ्न जरुरी छ कि न्यूरोड खण्डिकृत भएर बनेको थिएन । त्यहाँबाट सुरु भएको कामको गन्तव्य २२ पनि हो ।

त्यही भएर न्यूरोडलाई माया गर्ने सबैले यस कामको विरोध गर्नुपर्छ । यो कामको निड एसेसमेन्ट पनि भएको छैन । मेयर साबले भन्नुभयो हामी अध्ययन गर्छौं । त्यो भनेको नाटकपछिको रिहर्सल जस्तो हो ।

म सडक पेटीको विरोधमा होइन । तर त्यसको लागि पहिला अध्ययन गरौँ, स्थानीय तथा सरोकारवालाहरूसँग, विज्ञहरूसँग छलफल गरौँ जान्ने बुझ्ने मान्छेहरू त यो समाजमा धेरै छन् कहाँ मेयर र वडाध्यक्ष मात्र हो त ?

टेन्डर आव्हान भएको तपाईंलाई थाह थिएन ? कहिले थाहा पाउनु भयो ?

मैले १०-१२ दिन अगाडि थाह पाएको हुँ । ठ्याक्क मिति याद भएन । त्यो गलत थियो । यसरी लुकिछिपी काम गर्नु हुँदैन । यो राज्यसत्तामा सबै ठाउँमा सबैले काम गर्ने होइन । सबैको आ-आफ्नै क्षेत्राधिकार, सीमा दायरा र जिम्मेवारी छ । मेरो वडामा के गर्ने नगर्ने भन्ने जिम्मेवारी राज्य सत्ताले तोकिदिएको छ । हामीले सामान्य ढुङा छाप्दा पनि छिमेकीलाई सोध्छौँ, तर मेरो वडाको कुरा मैले मिडियाबाट थाहा पाउन पर्ने ? यसरी हाम्रो महानगर बन्छ ?

मेयर साबले एकलौटी निर्णय गर्नु भयो , २४ मा मात्र काम भएको हो भनेर झुटो बोल्नु भयो , तपाईंले भन्न खोजेको कुरा यही हो ?

एकलौटी भन्न मिल्दैन । मयेर साबसँग नीतिगत रूपमा हामीले नगर परिषदबाट केही कुरा निर्णय गरेका हौँ । जस्तै सडक सुधार, समग्र महानगरको सडक पेटी सुधार , कुनै भूगोल तोकेर होइन । यसमा महानगरका सबै क्षेत्र पुग्छन् । बानेश्वर पर्छ, बालाजु पर्छ, न्युरोड पर्छ, सबै पर्छ । तर कुनै ठाउँमा सो निर्णयअनुसार काम गर्न लाग्दा त्यहाँका जनप्रतिनिधिसँग सहकार्य, समन्वय र सहमति गर्नुपर्छ । यहाँनेर मेयर साब चुक्नु भएको छ र अर्को कुरा त्यहाँ त्यो खालको पेटी चाहिन्छ कि चाहिँदैन भन्ने कुरा वैज्ञानिक, प्राविधिक, सामाजिक आर्थिक रूपमा अध्ययन हुनुपर्छ । यो गेम चेन्जिङ प्लान हो । ठीक छ न्यूरोडमा पेटी बढाउने हो भने अध्ययन गरौँ न त ।

तर यो पेटीको विवाद चाहिँ गिरीबन्धु टी-स्टेट प्रकरणलाई विषयान्तर गर्न एमाले अध्यक्ष केपी ओलीले प्लान गर्नु भएको हो र त्यसको एउटा मोहोरा तपाई हो भन्ने अनुमान गरिएको छ नि  ?

मलाई कहिले पनि यो विषय ठुलो राजनैतिक मुद्दाको रूपमा जान सक्छ भन्ने लागेको थिएन । यो सामान्य विषय हो, न्यूरोडको पेटी चौडा गर्ने कि नगर्ने भन्ने । त्यसमा मेरो आपत्ति मेरो संस्था महानगरसँग हो । महानगरले यो देशको विधि विधानलाई सम्मान गर्छ । ८ मिटरभन्दा चौडाइको सडक महानगरको क्षेत्राधिकार भित्र पर्दै ऐनले तोकेको छ । मेयरले यो कुरालाई मेन्युपुलेट गर्न हुँदैनथ्यो, तर गर्नुभयो ।

मेयर साब र वडा अध्यक्षबीच नोकझोक भएका धेरै दृष्टान्त बाहिर आउँछन्, यस्तो किन होला ? मेयर साबको कार्यशैली कस्तो भएको महसुस गर्नु भएको छ तपाईँले ?

मान्छेहरूको मनोविज्ञान फरक फरक किसिमको हुन्छ । पूर्वीय दर्शनका अनुसार मान्छेमा नवरस हुन्छ भनिन्छ । उहाँ कुन परिवेशमा हुर्कनु भयो भन्ने कुराले यो कुरा भर पर्छ होला । उहाँको कार्यशैलीमा मलाई खड्केको विषय समन्वय, सहकार्य र संवादको कमी भएको मैले देखेको छु ।

अन्तिममा बालेन समर्थक र तपाईका आलोचकलाई के सन्देश दिन चाहनुहुन्छ ?

बालेनका समर्थकहरूलाई के भन्न चाहन्छु भने कोही मान्छे सधैँभरि सही, असल वा खराब हुँदैन । परिस्थिति अनुसार, विषयअनुसार र समयअनुसार मान्छे असल र खराब हुन्छ । मान्छे परिस्थितिको दास हो । बालेन सधैँभरि प्रश्नभन्दा माथि हुँदैनन् । मेयर साबको असल काममा अझै पनि हाम्रो समर्थन हुनेछ । म सधैँ प्रमुखज्युसँग हुनेछु तर राम्रो कामको लागि मात्र । जनपक्षीय काम भएन भने विरोध गर्छु । मेयर साबको विरोधमा जनताले पहिलो पटक नाराबाजी गरेका छन्, यसलाई उहाँले पनि गम्भीरतापूर्वक लिनुभएको होला ।

 


प्रतिक्रिया

5 thoughts on “बालेनसँग चर्काचर्की परेका वडाध्यक्ष भन्छन्- अबका दिनमा अभिव्यक्ति राख्ने शैली परिवर्तन गर्छु (भिडिओ)

  1. झुट तं कि बालेन, भुमाफिया !
    तं कतिको सत्य हो सबैले चिन्दै गएको छ !!!

    1. मेयर साबको असल काममा अझै पनि हाम्रो समर्थन हुनेछ । म सधैँ प्रमुखज्युसँग हुनेछु तर राम्रो कामको लागि मात्र । जनपक्षीय काम भएन भने विरोध गर्छु । मेयर साबको विरोधमा जनताले पहिलो पटक नाराबाजी गरेका छन्, यसलाई उहाँले पनि गम्भीरतापूर्वक लिनुभएको होला ।###को जन्ता एमालेका कार्यकर्ता अनि कस्तो राम्रो तिम्रा कार्यकर्ता बचाउने अरे बा सधै कु रिति राम्रो हुन्छ बा, माहुरी लाई फुल राम्रो, किरालाइ गोबर कस्लाइ सहि भन्नू उस्तै उस्तै हो🤔🤔🤔

  2. देश सिध्याउने काङ्ग्रेस , एमाले, माओवादीका भ्रष्ट नेता , कार्यकर्ता र झोलेहरुलाई सबैले बहिष्कार गरौं

    1. दिनहुुँ हजारौं ओहोरदोहोर गर्ने पैदलमार्ग कम्तीमा पनि २ मिटर चौंडा हुनैपर्छ , कामनमा का कतिपय सडकमा पैदलमार्ग पैदलमैत्री छैनन् । मलाई त नयाँ सडकको पैदलमार्ग चौंडा पार्ने योजना उपयुक्त लागेको छ ।

  3. सङ्घियता राज्री मा केन्द्रले किन हस्तछेप? अनि गाउँ गाउमा सिह दर्बार भनेको त्यै नेता हैन र?? यी भातमारा, बिचौलिया नेता भनाउदाहरुलाइ त साचै नै खाल्डोमा पुर्नै पर्ने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर