साउदी अरबबाट फुटबल प्रशिक्षक भन्छन्- हामीसँग गोल गर्न सक्ने खेलाडीको समस्या छ, अब खेलाडी विदेश नजाउन् (भिडिओ) – Nepal Press
नेपाल टक

साउदी अरबबाट फुटबल प्रशिक्षक भन्छन्- हामीसँग गोल गर्न सक्ने खेलाडीको समस्या छ, अब खेलाडी विदेश नजाउन् (भिडिओ)

साउदी । फिफा विश्वकप २०२६ को एसियाली छनोटअन्तर्गत आफ्नो अन्तिम दुई खेल खेल्न नेपाली टोली यतिबेला साउदी अरबमा छ । यूएई र यमनसँग भिड्नुअघि नै नेपाल तेस्रो चरण नपुग्ने पक्का भइसकेको छ । यही सन्दर्भमा नेपाली टोलीको तयारी, नेपाली फुटबलको वर्तमान स्थिति र भविष्यबारे प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेससँग गरिएको कुराकानी नेपाल टकमा-

– विश्वकप छनोटका अन्तिम दुई खेलका लागि नेपालको तयारी कस्तो छ ?

विगतको तुलनामा हामीले यसपटक तयारी राम्रो गरेका छौं । मलाई टीमप्रति गर्व छ । उनीहरूले मैले भनेअनुसार गरेका छन् । अघिल्ला चार खेलको तुलनामा हामीसँग यसपटक अझ अनुभवी टोली छ । रोहित चन्द टीममा फर्किएका छन् । उनको पुनरागमन नेपालका लागि महत्वपूर्ण छ । यसले नेपालको रक्षापंति थप बलियो बनेको छ । गोलकिपर किरणकुमार चेम्जोङ र स्ट्राइकर भरत खवासजस्ता अनुभवी खेलाडी पनि टोलीमा छन् । यसले टोलीको आत्मविश्वास अझ बढाएको छ। फिजिकल र ट्याक्टिकलरूपमा हामीले धेरै समय तयारी गर्न पाएका छौँ । हामीले इङ्ल्यान्डमा पनि खेल्यौँ । यसले गर्दा तयारी र प्रदर्शन दुवै राम्रो गरेर हामी यहाँ आएका छौं ।

हामीले १५ दिनको तयारी गरेका छौँ यसपटक । यति लामो समय तयारी हामीले यसअघि विश्वकप छनोटको पहिलो चरण अगाडि मात्र गरेका थियौँ । त्यतिबेला हामी लाओसलाई हराएर दोस्रो चरण पुग्यौँ । लाओसलाई उसको मैदानमा हराएर हामीले सात वर्षपछि विदेशी भूमीमा जित हात पारेका थियौँ ।

– यूएई र यमनविरुद्ध खेलिरहँदा हाम्रो लक्ष्य के हुनेछ ?

हाम्रो लक्ष्य भनेको प्रदर्शन सुधार गर्नु हो । हामी सबैलाई थाहा छ- यूएई निकै राम्रा टोली हो । तर, मेरो अनुभव के छ भने तपाईँहरू तब पुग्नु हुन्छ जब चाहनु हुन्छ । हामीले राम्रो नतिजा ल्याउन असम्भव जस्तै छ तर राम्रो प्रदर्शन भने गर्न सक्छौं । यमन करिब हामीजस्तै टोली हो । तर, यमनका धेरै खेलाडीहरू यूएईसहित विदेशका लिगहरूमा खेलिरहेका छन् । हामीसँग किरण र रोहितले मात्र विदेशमा खेलिरहेका छन् । हाम्रा खेलाडीले करिब एक वर्षदेखि घरेलु लिग खेलेका छैनन् । धेरै खेलाडी घाइते हुन पुगेका छन् । त्यसैले हामीले नियमित प्रशिक्षण गर्नुपर्छ ।

– टीमलाई अहिले सबैभन्दा बढी के को आवश्यकता छ ?

– हामीलाई अहिले चाहिएको गोल हो । हामीले अन्जन विष्टसहित ट्रेनिङ गरेका थियौँ । उनी नेपाली टोलीका मुख्य स्ट्राइकर हुन् तर घाइते हुन पुगे । सञ्जिव विष्ट नेपालका भावी मुख्य स्ट्राइकर बन्न सक्ने खेलाडी हुन् । जिलेप्सीजङ कार्कीसँग नेपाललाई आवश्यक शारीरिक क्षमता छ । वसन्त जिम्बा पनि राम्रो स्ट्राइकर बन्न सक्ने खेलाडी हुन् । यी तीनजनाबाहेक हिसुब थपलिया र मनिष डाँगीले पनि विपक्षीलाई समस्यामा पार्न सक्छन् । तर, अहिले हामीसँग गोल गर्न सक्ने खेलाडीको समस्या छ किनभने हामीले गोल गर्नु छ । हामीले विश्वकप छनोटमा एक गोल पनि गर्न सकेका छैनौँ । हामीले गोल गर्ने क्षमता विकास गर्नु छ । गोल गर्ने अप्रोच विकास गर्नु, डिबक्सबाहिरबाट बल प्रहार गर्ने क्षमता विकास गर्नु आवश्यक छ । यसले आगामी प्रतियोगिताहरूमा टीमको आत्मविश्वास बढाउने छ ।

– तपाईँको मतलब हाम्रो मुख्य समस्या भनेको अग्रपंक्तिमा हो ?

मलाई त्यस्तो लाग्दैन । हाम्रो मुख्य समस्या भनेको पर्याप्त प्रशिक्षणको अभाव हो । हामीसँग कुनैपनि प्रतियोगिताका लागि तयारी गर्न पर्याप्त समय हुँदैन । हामीसँग घरेलु लिग छैन । यी मुख्य समस्या हुन् । हाम्रा खेलाडीहरूसँग विश्वकप छनोट खेल्ने स्तर छ । हो, हामीलाई गोल आवश्यक छ, अझ सशक्त बन्नुपर्छ ।

-अन्जन विष्टको अभाव नेपाललाई कत्तिको खट्किने छ ?

अन्जन विष्टको अनुपस्थिति हाम्रा लागि ठूलो नोक्सान हो । उनी गोल गर्न सक्ने स्तर भएका खेलाडी हुन् । उनले टीमका अन्य सदस्यको समेत मनोबल बढाउन सक्ने क्षमता राख्छन् । उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको राष्ट्रिय कीर्तिमान तोडेको हेर्न चाहन्थ्यौँ । हामी उनलाई टीममा चाहन्थ्यौँ तर दुर्भाग्यबस घाइते हुन पुगे । अब हामीले अन्जनबारे सोच्नु हुन्न र भएका खेलाडीमा विश्वास गर्नुपर्छ ।

– अबका दुईवटा खेलपछि नेपाली टीमले के प्राप्त गर्ने अपेक्षा गर्न सकिन्छ ?

हामीले अनुभव प्राप्त गर्ने छौँ । गोल पोष्टभित्र पर्ने गरी अझ बढी आक्रमणहरू गर्नेछौँ । हामीले नयाँ पुस्ताका खेलाडीहरूमा विश्वास गर्नुपर्छ । धेरै खेलाडीहरूले यूएईजस्तो बलियो टीमसँग खेलेका छैनन् । हाम्रा खेलाडीहरूले यदि धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलहरू खेले भने आत्मविश्वास बढ्ने छ । रोहित चन्द र किरण चेम्जोङले जस्तै अन्य खेलाडीले पनि विदेशका लिगहरू खेल्नुपर्छ । मनिष डाँगी, आयुष घलान, लाकेन लिम्बूजस्ता खेलाडीहरु त्यस्ता अवसरका लागि योग्य छन् । हाम्रा छिमेकीहरूमा हेर्ने हो भने भारतमै ठूलो लिग आयोजना हुन्छ । पाकिस्तान र बंगलादेशका धेरै खेलाडीहरू विदेशमा गएर लिग खेलिरहेका छन् । हाम्रोमा तीन महिना लिग भएपछि अर्को लिग कहिले सुरू हुन्छ थाहा हुँदैन । यस्तो पाराबाट उच्चस्तरको फुटबल गएर खेल्न सजिलो हुँदैन ।

– टीमका तीन अनुभवी र पुराना खेलाडी गोलकिपर किरण चेम्जोङ, स्ट्राइकर भरत खवास र डिफेन्डर रोहित चन्दको फर्म र प्रदर्शनबारे के भन्नुहुन्छ ?

नेपालमा रोहितजस्तो खेलाडी लामो समययता जन्मिएको छैन । उनले करिब १० वर्ष विदेशमा व्यवसायिक लिग खेलेका छन् । किरणले पनि पछिल्ला ७-८ वर्ष विदेशमा लिग खेलिरहेका छन् । भरत पनि लामो समय नेपालका लागि खेलेका खेलाडी हुन् । चोटका कारण उनी पछिल्ला खेलमा टीममा थिएनन् । उच्चस्तरमा पुग्न सक्ने अनुभव र व्यक्तित्व उनको छ । हामीलाई विश्वकप छनोट खेलमा अनुभवी खेलाडी चाहिन्छ । विपक्षी टीमहरूलाई हेर्नु भयो भने खेलाडीहरूले २०/३०/४० क्याप जितेका छन् । हामीसँग केही खेलाडीले त १-२ पटकमात्र राष्ट्रिय टोलीबाट खेलेका छन् । हामीसँग हरेकपटक खेल्दा केही खेलाडीहरू नयाँ हुन्छन् । केही खेलाडीहरू अस्ट्रेलिया पुगेका छन् । मैले पछिल्लो १ वर्षमा मात्र २८ जनाभन्दा बढी खेलाडीहरू गुमाएको छु । हामीसँग पर्याप्त तयारी नहुँदा यसबीचमा धेरै खेलाडीहरू पनि चोटग्रस्त बनेका छन् किनभने पर्याप्त तयारी नभई उच्चस्तरको फुटबल खेल्दा चोट बोक्ने सम्भावना अधिक हुन्छ । यो नेपाली फुटबलमा अहिलेको वास्तविकता हो । यति हुँदाहुँदै पनि भविष्यका लागि सकारात्मक बनाउने गरी हामी तयार भएका छौँ ।

– गोलकिपर किरण चेम्जोङको विकल्पबारे के भन्नुहुन्छ ?

अन्य दुई गोलकिपर अभिषेक बराल र विशाल सुनार धेरै युवा छन् । हामी धेरै अभागी छौँ की हामीसँग यू-२३ राष्ट्रिय टोली छैन । यू-१९ राष्ट्रिय टोलीबाट सोझै सिनियर राष्ट्रिय टोलीमा खेलाउन सकिँदैन । यसका लागि प्रोसेस चाहिन्छ । त्यसैले अहिले किरणलाई परिवर्तन गर्न निकै गाह्रो विषय हो मेरा लागि । मलाई लाग्छ, विशाल र अभिषेक दुवैलाई धेरै एक्सपेरियन्स आवश्यक छ । उनीहरूले धेरै मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरू खेल्नुपर्छ । हामीले नयाँ जेनेरेसनलाई प्रमोट गर्न मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्नुपर्छ । विश्वकप छनोटजस्तो प्रतियोगितामा खेलाउन नयाँ पुस्तालाई गाह्रो हुन्छ किनभने यसको खेलस्तर नै बेग्लै हुन्छ । उनीहरूलाई खेलाउने हो भने उनीहरूको मनोविज्ञान पनि बिग्रन्छ जसले गर्दा हामीलाई सकारात्मक परिणाम पनि प्राप्त हुँदैन । हामीले किरणको विकल्प खोज्नुपर्छ तर त्यसका लागि समय चाहिन्छ । अहिले नै निर्णय गर्नु हतार हुन्छ । किरणको विकल्प अहिले छैन । उनी नेपालका लागि चाहिएका र आवश्यकता पूरा गर्ने गोलकिपर हुन् । उनी नेपालका लागि मात्र नभएर बाहिरका लागि पनि महत्वपूर्ण गोलकिपर हुन् ।

– नेपाली फुटबलको भविष्यलाई कसरी हेर्नुभएको छ ?

म निकै सकारात्मक छु । हामी यो विश्वकप छनोटपछि एसियन कप छनोट खेल्ने छौँ । त्यो प्रतियोगिता राम्रोसँग खेल्नु हाम्रा लागि महत्वपूर्ण छ । मलाई विश्वास छ हामीले त्यहाँ निकै राम्रो गर्ने छौँ । एसियन कप छनोटमा हामीले विश्वकप छनोटको जस्तो बलिया टोलीहरू सामना गर्नुपर्ने छैन । लगभग हामीजस्तै टोलीहरू त्यहाँ हुनेछन् ।

– पछिल्लो समय खेलाडीहरू विदेश पलायन भइरहेका छन् । राष्ट्रिय टोलीमा यसको असर कत्तिको परिरहेको छ ?

३० प्रतिशत खेलाडी विदेशिए होलान् । अब हामीसँग ७० प्रतिशत खेलाडीबाट राष्ट्रिय टोली बनाउनुपर्ने अवस्था छ । उनीहरूमा पनि स्तरको अभाव छैन । कुनै खेलाडी विदेशिए भने मैले यो खेलाडी गुमाएँ वा अब खेल्न सकिँदैन होला भनेर सोच्दिनँ । जब कुनै कुरा हामीबाट छुट्छ भने त्यहाँ पनि केही सकारात्मक पक्षहरू हुन्छ । म आशा गर्छु अहिले बाँकी रहेका खेलाडीहरूले देश छाड्ने छैनन् ।

– नेपाली टोलीले साउदी अरबमा खेलिरहँदा घरेलु समर्थक कत्तिको ‘मिस’ गर्नेछ ?

हाम्रा सबै खेलाडी र ट‍ीमले घरेलु समर्थक मिस गर्ने छन् किनभने हामीले दशरथ रंगशालामा खेल्दा २० हजार घरेलु समर्थक आउँथे । घरेलु मैदानमा खेल्दा अपेक्षा पनि बढी हुन्छ । हरेक खेलाडीले आफ्नै रंगशालामा खेल्न चाहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर