राजनीतिक संलग्नताको आरोपमा शिक्षकलाई कारबाही गरे संगठित प्रतिकार गर्ने पेशागत महासंघको घोषणा – Nepal Press

राजनीतिक संलग्नताको आरोपमा शिक्षकलाई कारबाही गरे संगठित प्रतिकार गर्ने पेशागत महासंघको घोषणा

काठमाडौं । पेशागत महासंघ नेपालले राजनीतिक संलग्नताको आरोपमा शिक्षकहरूमाथि कारबाही भए संगठित प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

शिक्षा मन्त्री सुमना श्रेष्ठको कारबाही गर्ने अभिव्यक्तिले शिक्षकहरूमा आतंक छाएको भन्दै महासंघले शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्वाग्रह राखेर शिक्षकहरूमाथि कारबाही भए देशभर संगठित प्रतिकार गर्ने चेतावनी दिएको हो ।

‘जनतालाई चेतना र जागरणको ऊर्जा सञ्चार गर्ने, जनताको हक र अधिकार प्राप्तिको आन्दोलनमा बौद्धिक नेतृत्व प्रदान गर्ने शिक्षक वर्गलाई राजनीतिक संलग्नताको आरोप लगाउँदै कारबाहीको आतंक सिर्जना गर्ने माननीय सुमना श्रेष्ठको अभिव्यक्ति र व्यवहारको यो बैठक भर्त्सना गर्दछ’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘त्यस किसिमको अभिव्यक्ति र कारबाहीलाई संगठित रूपमा प्रतिकार गर्ने र शिक्षण पेसाप्रति अझ थप निष्ठा र ईमान्दारिताका साथ प्रस्तुत हुने । शिक्षकहरूको आत्मसम्मान कदर गर्न र मनोबल उच्च राख्न यस किसिमका गैर जिम्मेवार अभिव्यक्ति फिर्ता लिन यो बैठक शिक्षा मन्त्रीलाई आग्रह गर्दछ, साथै सबै राजनीतिक दलहरूलाई उपरोक्त विषयमा गम्भीर रहन ध्यानाकर्षणसमेत गर्दछौँ ।’

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले आफूलाई साथ नदिएपछि पूर्वाग्रह राखेर मन्त्री श्रेष्ठले कारबाही गर्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै विगतमा जस्तै शिक्षकहरूले मुलुक ठप्प पार्ने दिन आउन सक्ने चेतावनी दिए ।

‘जिम्मेवार पदमा बसेपछि विना विश्लेषण र अनुसन्धान पोलिटिकल स्टन्टवाजका लागि लोकरिझ्याईंकै लागि अभिव्यक्ति दिने कुरा गलत छ’ ढकालले प्रश्न गरे,‘अहिले मुलुक गणतान्त्रिक अभ्यासमा हिँडिरहेको छ ? यसमा अहिले के अवरोध सिर्जना भयो , मन्त्रीहरूकै भाग खोस्ने गरी शिक्षकहरूले कहाँ, कसरी राजनीति गरे ?’

शिक्षकहरूले गाउँ गाउँमा चेतना र जागरण पैदा गर्ने काम गरेको भन्दै ढकालले अहिले नै शिक्षकहरूमाथि कारबाहीको प्रसंग उठ्न’ गम्भीर विश्लेषण गर्ने विषय भएको बताए ।

‘शिक्षकलाई पढाउनका लागि प्रोत्साहित गर्नुपर्ने, मनोबल उठाउनुपर्ने ठाउँमा हतोत्साहित गर्ने काम भइरहेको छ । यसमा हाम्रो घोर आपत्ति छ । मैले सामान्य ढंगले मात्र भनेको छैन, शिक्षकहरूले फेरि पनि मुलुक ठप्प बनाउने स्थिति नआओस्’ चेतावनीको शैलीमा ढकालले भने,‘कुर्चीमा पुग्न शिक्षकको सहयोग लिने तर कुर्चीमा पुगेपछि आँखै नदेख्ने ?’ ढकालले भने ।

टेरामेक्स जोडिएका पदाधिकारीलाई संरक्षण गरेर उज्यालो ज्योति फैलाउने शिक्षकमाथि कारबाही गर्न खोजेको भन्दै ढकालले थप चेतावनी दिए- ‘अरिगालको गोलोमा ढुंगा हान्ने काम नहोस् ।’

महासंघले विद्यालय शिक्षक ऐन, संघीय निजामती ऐन पास गर्न ध्यानाकर्षण गराएको छ । त्यस्तै, पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न पनि माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *