अब यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत बाहकको घर बाहिर लैजान नपाइने – Nepal Press
मन्त्रिपरिषद् बैठक

अब यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत बाहकको घर बाहिर लैजान नपाइने

त्रिविको नाममा रहेको जग्गाको अध्ययन गर्न पूर्व सचिव त्रितालको संयोजकत्वमा समिति गठन

काठमाडौं । अब यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत बाहकको घर बाहिर लैजान नपाइने भएको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचलित कानून बमोजिम इजाजत पत्र प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियार इजाजत बाहकले घर बाहिर लैजान नपाउने निर्णय गरेको हो ।

साथै यात्रा इजाजत प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय पनि भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबारमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

उनका अनुसार बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सहसचिव तारादत्त भट्टलाई नेपाल प्रत्ययन केन्द्रको कार्यकारी निर्देशक पदमा कामकाज गर्न तोक्ने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गाको अध्ययन गर्न पूर्व सचिव त्रितालको संयोजकत्वमा समिति गठन
मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको जग्गामध्ये प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाभित्रको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लागत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि समिति गठन गरेको छ ।

आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिमा पूर्व सहसचिव महेन्द्रकुमार थापा एवं जानकीबल्लभ अधिकारी, त्रिभुवन विश्वविद्यालयका विज्ञ सदस्य प्रा.डा प्रेमसागर चापागाईँ सदस्य रहेका छन् ।

समितिको सदस्य सचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव रहेका छन् ।

बैठकले लोक सेवा आयोगको सिफारिस अनुसार सात जनालाई विभिन्न सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर