काठमाडौं महानगरभित्रका सार्वजनिक शौचालय नि:शुल्क – Nepal Press

काठमाडौं महानगरभित्रका सार्वजनिक शौचालय नि:शुल्क

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक शौचालयहरूमा अब पैसा नलाग्ने भएको छ । पहिले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका थिए । काठमाडौं महानगरले सूचना प्रकाशित गरेर अब शुल्क नलाग्ने बताएको हो ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था भएको छ,’ सूचनामा उल्लेख छ ।

निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले नै शुल्क हटाउन लागेको हो ।

सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।

सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले बताएको छ ।

कुनै सरकारी निकाय, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमा समेत निःशुल्क शौचालय सेवा उपलब्ध गराउनु पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर