पार्टीलाई दोषारोपण र व्यक्तिवादी संस्कृतिबाट मुक्त गर्नुपर्छ : एनपी साउद – Nepal Press

पार्टीलाई दोषारोपण र व्यक्तिवादी संस्कृतिबाट मुक्त गर्नुपर्छ : एनपी साउद

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीलाई दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस बाँकेले शुक्रवार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले अरूमाथि औँला ठड्याउने संस्कृतिले पार्टी बलियो हुन नसक्ने बताए ।

‘दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट पार्टीलाई मुक्त गरौँ । फलानोको कारणले भयो, फलानोको कारणले भएन भन्ने ठाउँ छैन,’ नेता साउदले भने, ‘अर्काको तिर औँला ठड्याउने संस्कृतिले पार्टी मजबुत हुन सक्दैन ।’

उनले पार्टीलाई मजबुत बनाउन सबै नेताहरू व्यक्तिगत आकांक्षाबाट मुक्त हुनु पर्ने बताए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, ‘पार्टी मजबुत बनाउन व्यक्तिगत आकांक्षाबाट पार्टीका सबै नेताहरूले आफूलाई बाहेक राख्नुपर्छ ।’

पार्टीको साझा सिद्धान्त बोकेर पार्टीलाई मजबुत बनाउन सकिने र आगामी निर्वाचनमा कसैसँग चुनावी तालमेल नगरेरै जित्न सकिने उनको भनाइ थियो ।

‘पार्टीको साझा सिद्धान्तलाई बोकेर, पार्टीका साथीहरूको साझा भावनालाई बोकेर पूर्वपश्चिम हामीले मार्च गर्न सक्यौँ भने ८४ मा पार्टीलाई बलियो रूपमा स्थापित गर्न सक्छौँ,’ साउदले भने, ‘गठबन्धन नगरेरै जित्न सक्ने अवस्थामा पुग्न सक्छौँ ।’

अन्तरक्रिया कार्यक्रममा कांग्रेस नेतृ डा. डिला संग्रौलाले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाइन् । अहिले संघीयता बलियो बनाउने र नबनाउनेका बीच संघर्ष देखिएको उनको भनाइ थियो ।

‘आजको लडाई संघीयतालाई बलियो बनाउने कि नबनाउने भन्ने बीच छ । बलियो बनाउने पक्षमा कांग्रेस उभिएको छ । अन्य दललाई पनि हामीले सहकार्य गरेका छौँ,’ उनले भने, ‘नबनाउने पक्षमा सर्वसत्तावादको बाटोमा विधि, ऐन र कानुन मिच्ने बाटोमा अहिलेको सरकार लागेको छ ।’

संग्रौलाले मुलुकमा समृद्धि र विकास दिने संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकसित र संस्थागत गर्दै लैजाने पद्धतिमा कांग्रेस उभिएको बताइन् ।

उनले कांग्रेसले निर्वाचन जितेका स्थानीय तहमा जनताका सवाल र जनजीविकालाई जोड्नु पर्नेमा जोड दिइन् ।

‘हामी प्रदेश र संघमा प्रतिपक्षमा छौँ । जहाँ स्थानीय तहमा जित्नुभएको छ त्यहाँ जनताका सवाल जनजीविकालाई जोड्नै पर्छ,’ संग्रौलाले भनिन्, ‘त्यो अबको आवश्यकता हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर