बाल कुपोषण र भोकमरी उन्मूलन गर्न ‘इनफ’ अभियान घोषणा – Nepal Press

बाल कुपोषण र भोकमरी उन्मूलन गर्न ‘इनफ’ अभियान घोषणा

बालबालिकालाई कुपोषणबाट जोगाउन गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्ने महिलामन्त्री चौधरीको भनाइ

काठमाडौं । बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान सुरुवात गरिएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेश्नल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको संयुक्त आयोजनामा काठमाडौँमा भएको एक कार्यक्रमकाबीच अभियान घोषणा गरिएको हो ।

अभियानको घोषणा गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकालाई कुपोषणबाट जोगाउन गर्भावस्थादेखि नै विशेष ख्याल गर्नुपर्नेमा जोड दिईन । उनले कुपोषणको समस्या विकासको बाधक भएकाले यसबिरुद्ध घरपरिवार, समाज र राज्यले नै हातेमालो गर्नुपर्ने बताईन ।

मन्त्री चौधरीलाई बालबालिकाले कुपोषण अन्त्यका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा सात बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए । ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि मन्त्रालयगत रूपमा छलफल र समन्वय गर्ने मन्त्री चौधरीले प्रतिबद्धता जनाईन । उनले तीनै तहका सरकार र सरोकारवाला निकाय कुपोषण अन्त्यका लागि एक जुट हुने हो भने अझ धेरै राम्रो नतिजा निकाल्न सकिनेमा जोड दिईन ।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका अम्मरबहादुर थापाले बालबालिकामा अझैँ पनि कायमै रहेको कुपोषण अन्त्यका लागि समितिले सरोकारवाला निकायसँग निरन्तर संवाद र अनुगमन गर्ने प्रतिबद्धता जनाए । इनफ अभियानले लिएका लक्ष्य पूरा गर्नका लागि सरकारी तथा गैरसरकारी निकायले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिनिधि सभाकै महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहले सरकारले कुपोषणविरुद्धको अभियान चलाए पनि प्रभावकारी हुन नसकेको र आगामी दिनमा यो इनफ अभियानले सरकारले लिएका लक्ष्यलाई पनि सहयोग पुग्ने धारणा राखे । कुपोषणविरुद्धका भएका नीति तथा कानुन कार्यान्वयन भएका समस्या समाधानका लागि समितिले सक्रियताका साथ काम गर्ने उनको प्रतिबद्धता थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.शिवराज अधिकारीले सरकारले पोषणको विषयलाई उच्च प्राथमिकतामा राख्दै त्यसै अनुसारको नीति निर्माणमा लागिरहेको बताए । अकोराबका अध्यक्ष अर्जुन गिरीले समुदायका प्रत्यक्ष चासोका यस्ता विषयमा सामुदायिक रेडियोले काम गरिरहेको बताए ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले इनफ अभियानमा गैरसरकारी क्षेत्र साथमा रहेको बताए । कुपोषणविरुद्ध अभियान चलाउँदै गर्दा अपाङ्गता भएका, सीमान्तकृत तथा महिला र पछाडि पारिएका बालबालिकालाई पनि विशेष ध्यान दिनुपर्ने सुझाव उनको थियो ।

सांसदहरु रामनाथ अधिकारी, कान्तिका सेजुवाल, मानवीर राई, पुष्पा चौधरी, गणेश पराजुली, विन्द्यवासिनी कंसाकारलगायतले पनि बालबालिकाको पोषणका पक्षमा संसद र संसदीय समितीमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए ।

विश्वका विभिन्न देशमा भोकमरी र कुपोषणमा रहेका बालबालिकाको खाद्य अधिकार र पोषणको अधिकारलाई सुनिश्चित गर्ने अभिप्रायका साथ २०२३ को सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाटै यो अभियानको घोषणा गरिएको हो ।

प्रत्येक आठ घरपरिवारमा एक जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ र स्वस्थ आहारको अभावमा प्रत्येक चारमा एक जना बालबालिकाको मस्तिष्क र शरीर दुवैको पूर्ण क्षमतामा वृद्धि हुन नसकेको पाइएको र यो अवस्था अन्त्य गर्न वर्ल्डभिजन इन्टरनेशनल नेपाल र अकोराबको सहकार्यमा तीन वर्षे अभियानको औपचारिक सुरुवात गरिएको हो ।

इनफ अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रलाई प्राथमिकता दिनेछ । पर्याप्त तथा विशेष स्तनपानमा वृद्धि, बाल वृद्धि अनुगमन र पोषणमैत्री स्थानीय शासन अभिवृद्धि गर्न सरकारसँगको सहकार्य, बालबालिकाको भोकमरी र कुपोषणलाई सम्बोधन गर्न बजेट बढाउन वकालत गर्ने विषयमा अभियान केन्द्रित हुनेछ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालले सन् २०२५ सम्म विशेष गरी सबैभन्दा जोखिममा परेका १० दशमलव ७ मिलियन बालबालिकाको स्वास्थ्य सुधार गर्न कार्यक्रम केन्द्रित गर्ने जनाएको छ । यो कार्यक्रम १६ जिल्लाका ५३ वटा पालिकामा सञ्चालन गरिनेछ । कार्यक्रममा बालबालिकाले पोषण झल्काउने चित्र बनाउनुका साथै विशेष संबाद कार्यक्रम पनि आयोजना गरिएको थियो ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर