बचतकर्ताको ७ करोड हिनामिना गरेको आरोपमा तीन जना पक्राउ – Nepal Press

बचतकर्ताको ७ करोड हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

सिन्धुपाल्चोक । सहकारीमा बचत गरेको ७ करोड बढी रकम हिनामिना गरेको आरोपमा सिन्धुपाल्चोक प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काभ्रेको बनेपामामा मुख्य कार्यालय रही सिन्धुपाल्चोकको बाह्रबिसे, खाडिचौर र चौतारामा शाखा खोलेको युएम बचत तथा ऋण सहकारीका तिन जनालाई काभ्रे प्रहरीले पक्राउ गरी सिन्धुपाल्चोकमा पठाएको थियो ।

निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भन्दै सहकारीमा रकम जम्मा गर्न लगाएर अहिले सबै रकम लिएर सञ्चालकहरू फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए ।

तीनै शाखामा निक्षेपकर्ताहरुले बचत गरेको ७ करोड ८९ लाख ९९ हजार ९२७ रुपियाँ सहकारीका सञ्चालकहरूले बचत रकम हिनामिना तथा अपचलन गरेको डीएसपी भट्टराईले जानकारी दिए ।

आफूहरूको रकम हिनामिना भएको भन्दै ८८ जना बचतकर्ताहरूले प्रहरीमा जाहेरी दिएका थिए ।

पीडितहरूको जाहेरीको आधारमा प्रहरीले बनेपा नगरपालिका–१० का रुषण श्रेष्ठ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ का राजन श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका–५ का रामकृष्ण कार्कीलाई पक्राउ गरी अदालतबाट अनुसन्धानको लागि म्याद समेत थप गरिएको छ ।

निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक/त्रैमासिक/वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावा ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचत कर्ताहरूले जम्मा गर्न लगाएको पीडितहरूले जाहेरीमा भनेका छन् ।

बचत रकमको सावा,ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा सञ्चालक समितिका पदाधिकारीहरूलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियम अनुसार पाउनु पर्ने निक्षेप र सो को ब्याज रकम उपलब्ध गराई दिने तर्फ आवश्यक पहल नगरेर सहकारी सञ्चालकहरू समेत फरार भएपछि पीडितहरूले प्रहरी गुहारेका थिए । उक्त सहकारीबाट अन्य व्यक्तिहरू समेत पीडित भए प्रहरीलाई जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *