‘पुजार सार्की’ मा कलाकारहरुले कल्पनादेखि बाहिरको काम गरेका छन् : सुदर्शन थापा – Nepal Press

‘पुजार सार्की’ मा कलाकारहरुले कल्पनादेखि बाहिरको काम गरेका छन् : सुदर्शन थापा

काठमाडौं। प्रदर्शनको सातौ दिन बुधवार चलचित्र ‘पुजार सार्की’को ठमेलस्थित क्यूएफएक्स सिनेमामा विशेष शो गरिएको थियो। ‘विशेष शो तथा सेलिब्रेटी शो’ नाम दिईएको उक्त शोमा मा चलचित्र क्षेत्रका अन्य कलाकारहरु सहित राजनीतिक व्यक्तिहरु तथा दलित आन्दोलनका विभिन्न संघसंस्थाका पदाधिकारीहरु उपस्थित भएका थिए। चलचित्र हेरेर निस्केका सबैले सकारात्मक प्रतिक्रिया दिए।

चलचित्र हेर्न पुगेका निर्देशक सुदर्शन थापाले ‘पुजार सार्की’ हेर्दा ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ तीनवटै चलचित्र याद आएको बताए। आफुलाई चलचित्र पहिल्यै हेर्न मन लागे तापनि व्यस्तताका कारण नभ्याएको थापाले सुनाए। उनले भने,‘म यो चलचित्र हेर्न एकदमै उत्साहित थिए। म मेरो चलचित्रको छांयाकन नै केही समय रोकेर भएपनि हेर्छु भन्ने थियो। सँगसँगै पललाई पनि केही समय छुट्टी दिनु थियो। आज हेर्ने मौका पाए।’

‘चलचित्र एकदमै उत्तम लाग्यो। यो किसिमको कथा र कलाकारको अभिनय भनेको कल्पनादेखि अलि बाहिरको कुरा हो। मैले आर्यनसँग ‘मेरो एउटा साथी छु’, प्रदिपसँग ‘प्रेमगीत’ र पलसँग ‘म यस्तो गीत गाउँछु’ गरे। ती तीनैवटा रोमान्टिक चलचित्र थियो,’उनले जोडे,‘तीनवटै रोमान्टिक हिरोलाई लगेर के गरिरहेको छ दिनेशले भन्ने लागेको थियो। तर अहिले हेरेपछि भने आनन्द आयो। मैते, मेघे र पुजार बनेर चलचित्रमा जे गरेका छन, एकदमै राम्रो गरेका छन। अभिनेत्रीको काम पनि उस्तै राम्रो छ। यो विषयवस्तुलाई जसरी भन्नुपर्ने थियो, त्यो भन्दा राम्रो तरिकाले भनिएको छ।’ त्यसै गरी उनले चलचित्र सपरिवारसहित गएर एकचोटी हेर्न पनि आग्रह गरे।

त्यस्तै, कलाकार सरोज खनालले पनि ‘पुजार सार्की’ हेरेपछि आफुलाई ५१ सालको याद आएको बताए। ५१ सालमा खनालले ‘रगत’ बोलको चलचित्रमा काम गरेका थिए जसको कथावस्तु झण्डै‘पुजार सार्की’ को जस्तै छ। ‘५१ देखि ८१ सालसम्म आइपुग्दा ३० वर्ष भयो तर अहिलेसम्म पनि यहीँ मुद्धामा काम गर्नुपरेको छ। कलाकारहरुले कस्तो राम्रो काम गर्नु भएको छ कि के भनौँरु चकलेटी हिरोहरुलाई यो रुपमा देख्दा म एकदमै चकित छु,’उनले सुनाए।

नायिका मलिका महतले पनि चलचित्र केही विशेष रहेको बताईन। उनले भनिन,‘चलचित्रले एकजनाको लागी मात्र नभएर, एउटा सिंगै समुदायको लागि बोलेको छ। यो त एउटा सिंगो प्याकेज हो।’

चलचित्र हेर्न सलोन बस्नेत र शोभित बस्नेत दुवै जना पुगेका थिए। चलचित्र हेरेपछि सलोनले सबैजनालाई आफुले छुट्टा–छुट्टै हिसावले चिने पनि चलचित्रमा हेरेपछि भने फरक लागेको बताए। त्यस्तै, सलोनका पिता शोभितलाई भने सुरुमा पलले यो चलचित्र किन गरेको होला भन्ने लागेको सुनाए। उनले भने,‘सुरुमा सुन्दा त पलले यो चलचित्र किन खेलेको होला भन्ने लागेको थियो। तर चलचित्रको क्लाईमेक्स हेरेपछि भने ए यो कारणले चलचित्र खेलेको रहेछ भन्ने छर्लगं भयो।’

चलचित्र हेरेपछि नायक प्रदिप खडकाले सोचेभन्दा धेरै राम्रो काम गरेको शोभितले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर