विश्वकप छनोटको अन्तिम दुई खेलमा नेपाललाई चोटको मार, अन्जनसहित केहीले खेल्न नसक्ने – Nepal Press

विश्वकप छनोटको अन्तिम दुई खेलमा नेपाललाई चोटको मार, अन्जनसहित केहीले खेल्न नसक्ने

काठमाडौं । नेपालले विश्वकप फुटबल २०२६ को एसियाली छनोटका अन्तिम दुई खेल खेल्न आगामी साता साउदी अरबको यात्रा गर्दै छ ।

नेपालले दम्माममा यूएई र यमनसँग खेल्दै छ । यूएईसँग जुन ६ र यमनसँग जुन ११ तारिखमा नेपालले खेल्ने तालिका छ । ती खेलका लागि घरेलु मैदानमा नेपाली टोलीले केही सातायता निरन्तर तयारी गरिरहेको छ । यसबीचमा विभागीय क्लबहरु नेपाल पुलिस र नेपाल आर्मीसँग पनि अभ्यास खेल खेलेको थियो ।

एसियाली छनोटको दोस्रो चरणमा नेपाल समूह एचमा छ । समूहमा नेपाल, यूएई र यमनबाहेक बहराइन पनि छ । नेपालले चार खेल खेलिसक्दा सबैमा पराजय व्यहोरेको छ भने एक गोल पनि गर्न सकेको छैन । यी खेलमा कुल १४ गोल व्यहोरेको छ ।

पहिलो खेलमा यूएईसँग ४-० गोलले पराजित भएको नेपाल दोस्रो खेलमा यमनसँग २–० र तेस्रो खेलमा बहराइनसँग ५–० गोलले पराजित भएको थियो । पछिल्लो खेलमा बहराइनसँग नै भिडेको नेपाल ३–० गोलले निराश भएको थियो ।

समूहमा प्रत्येक टोलीले हरेकसँग होम एन्ड अवेका आधारमा दुई दुई खेल खेल्नुपर्ने भएपनि नेपालले दशरथ रंगशाला तयार नभएको कारण देखाएर घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि विदेशमा प्रतिस्पर्धा गरिरहेको छ ।

तयारीका क्रममा रहेको नेपाली टोली यतिबेला चोटको मारमा परेको छ । स्टार स्ट्राइकर अन्जन विष्ट कम्तिमा २ महिना खेल्न नसक्ने अवस्थामा छन् । बेलायत भ्रमणका बेला उनी घाइते हुन पुगेका थिए । त्यसयता उनलाई चिकित्सकले दुई महिना आराम गर्न भनेको नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर उत्तमराज भन्डारीले जानकारी दिए ।

अन्जन सिनियर नेपाली राष्ट्रिय टोलीका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् । उत्सव राई, दिनेश हेन्जन, फत्तेमान घले, समिर तामाङ र योगेश गुरुङ पनि चोटग्रस्त छन् । यमध्ये अधिकांशले आगामी खेल खेल्ने सम्भावना कम छ ।

चार टोली रहेको समूहबाट शीर्ष दुई टोली एसियाली छनोटको तेस्रो चरणमा पुग्नेछन् भने अन्तिम दुई टोलीले एसिया कपको लागि तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

समूहमा ४ खेलबाट सबैमा जित हात पार्दै १२ अंक भएको यूएई शीर्षस्थानमा छ । ३ जित र एक हारको नतिजासहित ९ अंक जोडेको बहराइन दोस्रोमा छ । तेस्रो स्थानमा रहेको यमनले ४ खेलमा एक जित र ३ हारको नतिजासहित ३ अंक जोडेको छ ।

नेपालले लाओसलाई हराएर विश्वकपको एसियाली छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो। नेपालले पछिल्ला ५ अन्तर्राष्ट्रिय खेल लगातार हारेको छ। यस्तै हालै भएको इङ्ल्यान्ड सीसँगको खेलमा पनि नेपाली टोली २–० गोलले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर