दोहोरो भूमिकामा माधव- कांग्रेससँग उठबस, पार्टीभित्रै सकस – Nepal Press

दोहोरो भूमिकामा माधव- कांग्रेससँग उठबस, पार्टीभित्रै सकस

काठमाडौं । सत्ता समीकरणमा असन्तुष्ट माधव नेपाल दोहोरो रणनीतिका साथ अघि बढिरहेका छन् । सत्ता समीकरणमा सहभागी भएर पनि निरन्तर कांग्रेससँग उठबस गरिरहेका छन् । हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको विपक्षी दलको बैठकमा गएपछि उनीमाथि झन् शंका बढेको छ ।

नेकपा एसले एमाले-माओवादीसहितको गठबन्धन छाडेपनि अहिले सत्ताको गणितमा फेरबदल हुन सक्ने अवस्था छैन । केही प्रदेश सरकारमा भने माधवको पार्टी निर्णायक छ । हिजोको बूढानीलकण्ठ बैठकमा नेपालसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए । केन्द्रीय गठबन्धन बाहिर रहेको जसपा नेपाल नेतृत्वको मधेश सरकार जोगाउने विषयमा बैठक केन्द्रित भएको बताइन्छ।

तर, उपेन्द्र नेतृत्वको जसपा विभाजित हुनुअघि माधव नेपाल संघको सरकारमा पनि माधव नेपाल निर्णायक थिए । कांग्रेससँग माधव र उपेन्द्र मिलेर सत्ता गठबन्धन फोड्न चलखेल भइरहेको बेला अशोक राईले ७ सांसदसहित पार्टी फुटाइदिएपछि त्यसले मूर्तरूप लिन सकेन ।

जसपा नेपाल विभाजित बनेपछि उपेन्द्रको साथ लिएर कांग्रेसको समर्थनमा यही कार्यकालमा प्रधानमन्त्री बन्ने माधव नेपालको रणनीति विफल भएको छ । जसले गर्दा अहिले उनलाई पार्टीभित्र पनि बेचैनी बढेको छ।

जसपा विभाजनपछि बाध्यतामा परेपछि उपेन्द्र यादवले सरकार छाडे भने माधव नेपाल अहिलेसम्म सरकारमै छन् । तर, यो सरकारमा आफूहरूलाई अपमानित गरेको भन्दै कहिलेसम्म रहने भन्ने अनिश्चितता व्यक्त गर्दै आइरहेका छन् ।

सहकार्य थालेको तीन महिना कट्दा समेत एमाले अध्यक्ष ओलीसँगको सम्बन्ध सुध्रिएको छैन । यी दुई नेता अझै पनि एकअर्काविरुद्ध आक्रोश पोख्दै आइरहेका छन् । यो समीकरणलाई निरन्तरता दिने कि विकल्प खोज्ने भन्ने विषयमा नेकपा एसमा दुई धार छ ।

अध्यक्ष नेपाल ओलीसँगको सहकार्यमा कम्फर्टेबल नभएको निष्कर्षको साथ अघि बढ्न खोज्दा नेता झलनाथ खनाल पक्षधर संघदेखि प्रदेशसम्म वाम मोर्चालाई नै निरन्तरता दिनुपर्ने पक्षमा अडिग छन् । यही बीचमा जसपा झैँ नेकपा एस पनि फुट्ने चर्चा चलिरहेको छ ।

नेपाल बुढानीलकण्ठ पुगेपछि आज बिहान नेता खनाल बालुवाटार पुगेर आफ्नो पार्टी यही सरकारको पक्षमा दृढ रहेको बचन दिएर फर्किए ।

उनले भने, ‘हामी यही सरकारको पक्षमा छौँ। वाम सहकार्य सुदृढ बनाउनेबारे छलफल भएको छ। यो समीकरण अलि बढी आयु लिएर आएको छ। सरकारलाई हाम्रो दृढ समर्थन रहनेछ।’

उनले माधव नेपाल विपक्ष मोर्चाको बैठकमा सहभागी भएको विषय पार्टीभित्र औपचारिक जानकारी नभएको र पार्टीमा छलफल हुने बताए।

बूढानीलकण्ठ बैठकमा सहभागी प्रमुख सचेतक समेत रहेका मेटमणि चौधरीले हिजोको छलफलमा सरकारको विषयमा छलफल भएको बताएका थिए । उनले भने, ‘मधेश सरकार जोगाएर जाने सहमति भएको छ। चार दलबीच सहमतिको असर संघीय सरकारमा पनि पर्न सक्छ । हामी अहिलेको सत्ता गठबन्धनमा लतारिएर बस्दैनौं।’

मधेशमा एमाले, माओवादी र जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि नेकपा एसलाई उनीहरूले सहभागी नगराएकाले आफूहरू स्वतन्त्र ढंगले छलफल गर्न गएको बताए ।

तर, माधव नेपाल वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् ।

विराटनगर पुगेर उनले भने, ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँग पनि जोडिने जस्तो देखिएको थियो। आज बिहान मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ।’

माधव नेपाल विपक्ष मोर्चामा उभिए पनि सत्ता समीकरणकै सरकार बन्ने दाबी गरे ।

त्यसो त माधव नेपालको व्यवहारदेखि एमाले सुरुदेखि नै सन्तुष्ट छैन । माधव नेपालले आफ्नो पार्टीको हैसियतभन्दा ठूलो बार्गेनिङ गरेको भन्दै एमालेसँग अझै कुरा मिल्न सकेको छैन । सरकारमै रहेर पनि माधव नेपालले दोहोरो भूमिका देखाइरहेको भन्दै नेकपा एमालेका नेता तथा उद्योग मन्त्री दामोदर भण्डारीले असन्तुष्टि व्यक्त गरे ।

धनगढीमा पुगेका मन्त्री भण्डारीले भने, ‘सत्तामा बसिरहने प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयम उहाँलाई नै क्षति पुर्‍याइरहेको छ । उहाँको पार्टी, उहाँको विचार र उहाँका अस्थिरताले यो खालका संकटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ।’

सत्तामा पनि रहिरहने प्रतिपक्षसँगको पनि सिरानी थापिराख्ने कुरो हानिकारक हुने उनको तर्क छ ।

अहिले सुदूरपश्चिम प्रदेशमा नेकपा एसका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, उनको सरकारमा एमाले सहभागी छैन । सत्ता समीकरणबाट मुख्यमन्त्री नदिएपछि कांग्रेसको समर्थन अघि बढेपछि बाध्य भएर ओलीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व छाडेका थिए ।

तर, मन्त्री भण्डारीले माधव नेपालकै कारणले सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको आरोप लगाए।

तर, प्रचण्ड र माधव नेपालको सहकार्य अस्थायी भएको राजनीतिक विश्लेषक हरि रोक्काको बुझाइ छ।

उनले भने, ‘प्रचण्ड र माधव नेपालको यो अस्थायी सहकार्य हो। कुनै राजनीतिक आबद्धताले गरिएको होइन। आफ्नो स्वार्थको लागि मात्रै उहाँहरू एक ठाउँमा भएका छन्।’

वैचारिक रूपमा सहकार्य नभएकाले फाइदा केन्द्रित गरेरै अगाडि बढ्न खोजेजस्तो देखिएको टिप्पणी गरे। उनले ओली, प्रचण्ड र माधवको सहकार्य पनि सिद्धान्तहीन भएको जिकिर गरे।

अर्का राजनीतिक विश्लेषक रोशनराज जनकपुरी पनि संसदीय राजनीतिमा सम्बन्ध स्वार्थमा टिकेको हुने विश्लेषण गर्छन्।

उनी भन्छन्, ‘अवसरमा राजनीतिक स्वार्थमा टिकेका हुन्छन्। माधव नेपाल एमालेबाट छुट्टिएर आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेका छन्। माधव नेपाल पनि आफ्नो अस्तित्व रक्षा गर्दै महत्वकांक्षालाई लिएर सम्बन्ध बनाउँदैछन् ।’


प्रतिक्रिया

2 thoughts on “दोहोरो भूमिकामा माधव- कांग्रेससँग उठबस, पार्टीभित्रै सकस

  1. माकुनेको यो लोभी, पद्खोर, अवसरबादी, अराजनीतिक, खाली खोपडिको ‘हल्लाई’ ले एमाले लिङ्ग बिहिन भएको थियो पहिले :: अहिले त्यो गुट !!! आफ्नु ‘भोलि’ बर्बाद पार्दै कत्ति लत्रिएर हल्लिने हुन् ‘पेण्डुलम’ माकुने को पछि पछि !!??

    1. समाजवादीलाई दिल्लीका टट्टुहरूबाट मुम्त बनाओ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर