संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्रीको सहमतिसहित ५० प्रतिशत अनिवार्य (भिडिओ) – Nepal Press

संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्रीको सहमतिसहित ५० प्रतिशत अनिवार्य (भिडिओ)

काठमाडौं । संवैधानिक परिषद्‌को बैठकमा प्रधानमन्त्रीसहित ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय हुने भएको छ ।राज्य व्यवस्था तथा सुशासन समितिबाट बिहीबार पारित भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

विधेयकमा सकेसम्म सर्वसम्मतबाटै निर्णय हुने र सर्वसम्मतिबाट निर्णय हुन नसकेमा संवैधानिक परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री र समितिमा तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने व्यवस्था गरिएको समितिका सदस्य सचिव सुरजकुमार दुराले नेपाल प्रेसलाई जानकारी दिए ।

सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यही व्यवस्था प्रस्ताव गरेर संसदमा विधेयक पेश गरेको थियो ।

विधेयक समितिमा आइसकेपछि भएको छलफलमा क्रममा नेकपा (एमाले)ले संवैधानिक परिषद्को अध्यक्ष रहेका प्रधानमन्त्रीको सहमति अनिवार्य गर्न नहुने मत राख्दै आएको थियो ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको दफा ६ मा परिषद्को बैठक सम्बन्धी कार्यविधिको व्यवस्था गरिएको छ । दफा ६ को उपदफा ६ मा परिषद्को बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने भनिएको छ ।
उपदफा ७ मा परिषद्को बैठकमा सबै सदस्य उपस्थित नभएमा वा कुनै विषयमा सर्वसम्मति कायम हुन नसकेमा उक्त बैठकका विषय सूचीमा छलफल र निर्णय गर्न अध्यक्षले बैठक बस्ने मिति, समय र स्थान तय गरी अर्को बैठक बोलाउनेछ र यसरी बोलाइएको बैठकको मिति, समय र स्थान सम्बन्धी सूचना सचिवले सदस्यलाई पठाउनु पर्ने उल्लेख छ ।
उपदफा ८ मा बैठक बोलाउँदा बैठक बस्ने समय भन्दा ४८ घण्टा अगावै बैठक बस्ने गरी समेत बोलाउन सकिनेछ । उपदफा नौमा बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिने उल्लेख छ ।
उपदफा १० मा बैठकमा कुनै विषयमा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर