माधव नेपालप्रति भण्डारीको टिप्पणी: सत्तामा रहेर प्रतिपक्षमा सिरानी थाप्दा स्वास्थ्यको लागि हानिकारक हुन्छ – Nepal Press

माधव नेपालप्रति भण्डारीको टिप्पणी: सत्तामा रहेर प्रतिपक्षमा सिरानी थाप्दा स्वास्थ्यको लागि हानिकारक हुन्छ

कैलाली । नेकपा एमालेका नेता तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दोहोरो भूमिका देखाइरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालले अहिले काङ्ग्रेससँग पनि छलफल गरिरहेको भन्दै दोहोरो भूमिका देखाइरहेको आरोप लगाएका हुन् । उनले यस्तो दोहोरो भूमिकाले स्वयम् नेपाललाई नै क्षति पुग्ने बताए ।

‘सत्तामा बसिरहने प्रतिपक्षसँग छलफल पनि गर्ने दोहोरो भूमिकाले स्वयम उहाँलाई नै क्षति पुराइ रहेको छ । उहाँको पार्टी, उहाँको विचार र उहाँका अस्थिरताले यो खालका सङ्कटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ’ उनले भने, ‘सत्तामा पनि रहिरहने प्रतिपक्षसँगको पनि सिरानी थापिराख्ने कुरो त्यो उहाँकै स्वास्थ्यको लागि हानिकारक छ । ’

मन्त्री भण्डारीले यस्तो अवस्था अब धेरै समय नरहने बताएका थिए । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर,उनको सरकारमा एमाले अझै सहभागी भएको छैन ।

मन्त्री भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको बताए ।
‘त्यो प्रवृत्ति लामो समय सम्म रहँदैन।छिटै त्यसको निरूपण हुन्छ त्यहि कारणले यहाँ सुदूरपश्चिम सरकारले पाउने पूर्णता त्यस्तै प्रवृत्तिले प्रश्नहरू जन्माइरहेका छन्’ उनले भने ।

कम्युनिस्ट भएर पनि अग्रगमन पक्षधरताहरुको राजनीतिक शक्तिहरूसँग नमिलेको भन्दै उनले नेपालको आलोचना गरेका थिए ।

‘संसद्मा रहेका माननीयहरूको लिगेसिका हिसाबले पनि कम्युनिस्ट पार्टी भनिराख्नुहुन्छ । कम्युनिस्ट पार्टीको लामो समय सम्मको यात्रा पनि उहाँले गर्नु भएको छ । तर, अग्रगमन पक्षधरताहरुको राजनीतिक शक्तिहरूको सहकार्यमा उहाँ किन विचलित हुँदै हुनुहुन्छ’ उनले भने, ‘उहाँ सत्तामा रहिरहने प्रतिपक्षसँग साइनो सम्बन्ध देखाइरहने कुरा उचित होइन । उहाँको ती प्रवृत्तिगत कुराले यहाँको सरकारले पूर्णता पाउने कुरामा समस्या पैदा भइरहेको छ ।

उनले २४ दिनमै सरकारले पूर्णता पाउने दाबी गरे । मन्त्री भण्डारीले अहिलेको बजेटले आशा र सम्भावना देखाएको जिकिर गरे । ‘बजेट कार्यान्वयन नहुने समस्या थियो अहिले बजेट कार्यान्वयन गर्ने पहिलो प्राथमिकता रहेको छ’ उनले भने ‘यसले आसा र सम्भावना देखाएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर