गण्डकीमा ७ सरकार फेरिँदा दोस्रोपटक सत्ताबाहिर माओवादी – Nepal Press

गण्डकीमा ७ सरकार फेरिँदा दोस्रोपटक सत्ताबाहिर माओवादी

पोखरा । नेपालमा संघीयता आएपछि गण्डकी प्रदेशमा दोस्रोपटक नेकपा माओवादी केन्द्र सत्ताबाहिर भएको छ । गण्डकी प्रदेशमा सातौंपटक सरकार गठन हुँदा माओवादी दोस्रोपटक सत्ताबाहिर रहेको हो । नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीको सपथ लिँदा माओवादीसहित एमाले र राप्रपा सत्ताबाहिर छन् ।

२०७४ मा पहिलोपटक गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गठन हुँदा माओवादी नेकपाको रुपमा सरकारमा सहभागी थियो । हालका माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमान तत्कालीन अवस्थामा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलगअलग बनाइदिएपछि केन्द्रमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो । तर, गण्डकीका भने मन्त्री बनेका हरिबहादुर चुमानले समर्थन फिर्ता लिन आनाकानी गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मात्र उनले गण्डकीमा सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएका थिए । २०७८ बैशाख २९ मा पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक मुख्यमन्त्री बन्दा पहिलोपटक माओवादी सत्ता बाहिरको स्वाद चाख्यो ।

पृथ्वीसुब्बा नेतृत्वको सरकार एक महिना नहुँदै ढलेपछि माओवादी पुनः सरकारमा आउने बाटो खुलेको थियो । जेठ २९ मा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको सरकार बन्दा माओवादी पुनः सरकारमा गएको थियो । माओवादीका हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री बनेका थिए ।

२०७९ को पुस २५ गते प्रदेश सभाको दोस्रो कार्यकालमा बनेको पहिलो सरकारमा पनि माओवादी सरकारमा सहभागी भयो । तर, पुनः माओवादीले नै समर्थन फिर्ता लिएपछि साढे ३ महिनामै सरकार ढल्यो । एमालेका खगराज अधिकारी पदमुक्त भएपछि २०८० बैशाख १४ गते नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बन्यो ।

उक्त सरकार पनि माओवादी केन्द्र सहभागी भयो । केन्द्रमा सत्ता समिकरण फेरबदलसँगै माओवादीले पुनः सरकारलाई दिएको समर्थन फिर्ता लियो । माओवादीको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डेले राजीनामा दिए ।

चैत २१ गते पाण्डेले राजीनामा दिएपछि चैत २५ मा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार बन्यो । उक्त सरकारमा समेत माओवादी केन्द्र सहभागी थियो । माओवादीबाट हरिबहादुर चुमान मन्त्री बनेका थिए । सर्वोच्च अदालतले गत सोमबार खगराज अधिकारीले नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश जारी गर्‍यो ।

परमादेशबमोजिम बुधबार पाण्डेलाई प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । मुख्यमन्त्री पाण्डेले कांग्रेसकै विन्दुकुमार थापा र टकराज गुरुङलाई मन्त्री बनाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजीव गुरुङ (दीपक मनाङे) लाई समेट्न प्रयास गरेका मुख्यमन्त्री पाण्डे असफल भएसँगै पटक चरणमा कांग्रेसबाट दुईजनालाई मन्त्री बनाएका हुन् ।

कांग्रेस नेतृत्वको सरकार बन्दा माओवादीले भने दोस्रोपटक सत्ताबाहिरको स्वाद चाखेको छ । ७ पटक सरकार फेरबदल हुँदा माओवादी दोस्रोपटक सरकारबाहिर भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर