घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2024/05/laluchuhche-theuwa-e1717031443318.jpg)
कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ ।
घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ ।
घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । उनका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् ।
यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको सङ्ख्या तीन सय ८१ पुगेको छ । गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण सङ्घको समन्वयमा चरा गणना गरिएको हो ।