रविको नामबाट ब्याक भएर कांग्रेसले किन रोज्यो ‘सेफ ल्यान्डिङ’ ? – Nepal Press

रविको नामबाट ब्याक भएर कांग्रेसले किन रोज्यो ‘सेफ ल्यान्डिङ’ ?

‘सहकारी ठगीको पैसा फिर्ता गर्न हुँदैन भनेर सत्तापक्षले बहुमतको दम्भ देखाए समानान्तर प्रतिवेदन ल्याउँछौं’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग काँध मिलाएर आफूलाई प्रमुख प्रतिपक्षको कित्तामा पुर्‍याएपछि नेपाली कांग्रेस आक्रामक रुपमा प्रस्तुत भइरहेको छ । एमालेको नेतृत्वमा नयाँ समीकरण बनेलगत्तै सत्तामा फर्किने बाटो खोजेको कांग्रेसले रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जोडेर सहकारीको विषय उठायो ।

सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको प्रमाण आफूहरुसँग प्रशस्तै रहेको दाबी गर्दै कांग्रेसले संसदीय छानबिन समितिको माग राख्दै तीन महिना निरन्तर संसद अवरोध गर्‍यो । कांग्रेसको निरन्तर अवरोधले सदन चल्ने अवस्था नभएपछि सरकार समिति बनाउन तयार भयो । तर, कार्यादेशमा कांग्रेसको माग थियो, गृहमन्त्रीको नाम नै किटान गरेर लेख्नुपर्छ ।

यस विषयमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री आफैं पनि पछिल्लो समय तयार देखिन्थे, तर कांग्रेसले सहकारीको विषयलाई लिएर सत्ता समीकरणभित्र खेल्न खोजेको भन्दै एमालेका अध्यक्ष केपी ओली खरो रुपमा उत्रिए ।

कांग्रेसले सदनमा नाराबाजी गर्दैमा आफूहरु नरोकिने भन्दै केपी ओलीले सभामुख देवराज घिमिरेमार्फत बहुमतको बलमा संसदमा पेलेर लगे । जसकारण विपक्ष दलहरुमा सभामुख देवराज घिमिरेमाथि महाभियोग लगाउनुपर्ने विषयले समेत प्रवेश पायो ।

कांग्रेसले बजेट प्रस्तुत गर्नसमेत नदिने देखिएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष तहमा कुरा गरेर सहमतिको वातावरण बनाए । सरकार जस्तै कांग्रेस सभापति देउवा पनि समितिमात्रै बनाएर जान तयार नै थिए, तर महामन्त्री गगन थापा पक्षले गृहमन्त्रीको नाम कार्यादेशमा लेख्नैपर्ने अडान राखेको थियो ।

सहकारीको विषयलाई लिएर गगन र गृहमन्त्री लामिछानेबीच प्रतिष्ठाको विषयसमेत बनेको छ । कांग्रेसले सहकारीको विषयलाई उठाएपछि रास्वपासँगको दूरी बढेको छ । त्यसो त प्रचण्डले साथ छाडेपछि कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको समेत अफर गरेको कुरा लुकेको छैन ।

यद्यपि, अहिले गृहमन्त्रीसमेत स्वीकार्न कांग्रेसलाई हम्मेहम्मे परिरहेको छ । लामो रस्साकस्सीपछि गृहमन्त्रीको नाम उल्लेख नगरी सहमति गर्न कांग्रेस तयार भयो । ७ सदस्यीय संसदीय छानबिन विशेष समितिमा ४ जना सत्तापक्षका सांसद छन् । त्यसैले समितिबाट निष्पक्ष प्रतिवेदन आउनेमा आशंका छ ।

त्यसैले अहिले कांग्रेसमाथि लागेको आरोप छ, सहकारी प्रकरणमा चिसै पानीले नुहायो । कांग्रेसले सहकारीको विषयमा ‘सेफ ल्यान्डिङ’ को बाटो रोजे पनि गिरीबन्धु टी-इस्टेटलाई लिएर ओलीलाई आक्षेप लगाएको भन्दै एमालेले प्रतिवाद गर्ने रणनीति बनाएको छ ।

यद्यपि, गृहमन्त्री लामिछानेले आफूलाई कांग्रेसले तारो बनाएपछि कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु र छोरा जयवीरसम्मको फाइल खोल्ने चेतावनीपछि कांग्रेस केही हदसम्म हच्किएको बताइन्छ । जसकारण देउवा गृहमन्त्रीमाथि नरम रुपमा प्रस्तुत भए ।

कांग्रेसले सहकारीको विषयमा सरकारसँग गरेको सम्झौताको आलोचना पनि भइरहेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदीय विशेष समितिलाई हावादारीको संज्ञा दिएका छन् ।

उनले भनेका छन्, ‘सहकारी विवाद र सम्झौता प्रकरणमा यदि यही हावादारी सम्झौता गर्नु थियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने, समय बर्बाद गर्ने र करोडौं व्यय गराउने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ ।’

यति सहमतिको लागि सरकार धेरै अघिदेखि नै तयार रहेको भन्दै कांग्रेससँग असन्तुष्टि जनाएका छन् । जुन कुरा कांग्रेसका नेताहरु स्वीकार्न तयार छैनन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले सदन डेडलक हुनेगरी अटेरी गरेपछि आफूहरु केही हदसम्म लचक भएको स्वीकार गर्छन् ।

उनी भन्छन्, ‘सरकार पक्ष छानबिन समितिबाट डरायो । गृहमन्त्री त तर्सिनुभयो । समिति बनाउने तर नाम राख्न नमान्ने भनेपछि त्यो स्वतः स्वीकार गरेकै रुपमा हामीले बुझेका छौं । राजनीति र संसदीय प्रक्रिया नै डेडलक हुनेगरी सत्तापक्षले अटेरी गरेपछि सबै दलका शीर्ष नेताहरु बसेर यो सहमति बनेको हो । यसले आरोप लागेको व्यक्तिमाथि छानबिन गर्ने र पीडितलाई न्याय दिनसक्छ भन्ने हाम्रो मागबाट पछि हटेका छैनौं । उहाँहरुले गृहमन्त्रीको नाम राख्नबाहेक सबै कुरा मानेपछि हामी तयार भएका हौं ।’

उनले गृहमन्त्री संलग्न भएको सहकारी र संलग्न रहेको संस्था नाम नराखे पनि छानबिन हुने बताए । उनले थपे, ‘हामी भाषामा नरम भएका हौं, हाम्रो मागप्रति नरम भएका छैनौं ।’

तर, यो मुद्दा पार लगाउन नसकेपछि कांग्रेसले ‘सेफ ल्यान्डिङ’को बाटो रोज्यो भन्ने आरोप छ नि भन्ने जिज्ञासामा उनी थप्छन्, ‘त्यो कुरा स्वाभाविक हो । सत्तापक्ष मूर्ख भयो, व्यवस्था र संसदप्रति जवाफदेही भएन । तानाशाही मोडेलमा जान खोज्यो, संसदलाई डेडलक बनाइराख्ने भएपछि हामी कम्युनिष्ट र संसदविरोधी दलले जस्तो मागमा मात्रै केन्द्रित भएनौं ।’

सत्तापक्ष जस्तो कांग्रेस गैरजिम्मेवार नभएकाले गृहमन्त्रीको नाम नराखी सहमतिको जनाएको नेता विश्वकर्माको तर्क छ ।

उनी भन्छन्, ‘सदनमा नीति तथा कार्यक्रम, बजेटको कुरा छन्, वर्षाको समय आइसकेको छ । जनताप्रति उत्तरदायी भएर सत्तापक्ष जस्तो गैरजिम्मेवार नभएकाले तयार भएका हौं । हामी मुद्दाबाट भागेका होइनौं, ७३ लाख सहकारी बचनकर्तालाई न्याय दिलाउने विषयबाट हच्केका छैनौं । सदनमा जस्तै अब समितिमा पनि कुरा उठाउँछौं ।’

उनले समितिमा सत्तापक्षको बहुमत भए पनि सत्य कुरालाई मोड्न नसक्ने जिकिर गरे ।

नेता विश्वकर्माले भने, ‘बहुमत हुँदैमा सेतोलाई कालो र कालोलाई सेतो बनाउन सकिन्छ भन्नेमा उहाँहरु लाग्नुहुन्छ भने उहाँहरु नै नांगिनुहुन्छ । अहिले पनि गृहमन्त्रीमाथि यो विषय आएपछि जनताको बुझाइमा प्रस्ट हुन सकिन्छ । एमाले र माओवादीले सहकारी पीडितलाई पैसा फिर्ता गर्न हुँदैन भनेर अडान लिनुहुन्छ भने हाम्रो केही छैन । सत्यतथ्य प्रतिवेदनमा आउँछ । त्यसमा उहाँहरुले विमति राख्नुहुन्छ भने स्वाभाविक हिसाबले पार्टीको साखको कुरा आउँछन् ।’

सत्तापक्षले समितिमा पनि बहुमतको दम्भ देखाए कांग्रेसले सामानान्तर प्रतिवेदन सार्वजनिक गर्ने उनले चेतावनी दिए ।

गृहमन्त्री लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको पनि नाम उल्लेख भएपछि आफूहरुले कार्यादेशमा सहमति जनाएको प्रमुख सचेतक रमेश लेखकले बताए ।

मंगलबार पत्रकार सम्मेलनमा उनले भने, ‘९ वटा सहकारीबाट रकम अपचलन भएर गोर्खा मिडियामा गएको छ । विभिन्न सहकारीबाट गोर्खामा गएको रकमको स्थिति के छ ? कुन सहकारीबाट कति रकम गयो ? रकम प्रवाह भएको अवस्था कस्तो छ ? गैरकानूनी रुपमा गएको हो कि होइन ? समितिले यसको अध्ययन गर्छ ।’

सहकारीको रकम गोर्खा मिडियामा लैजाने काममा गृहमन्त्रीसिहत कोही संलग्न भए अध्ययन छानबिन गरेर कारबाहीको लागि सिफारिस गर्ने बताए ।

समिति बनाउनै हुन्न भन्ने सत्तापक्षलाई आफूहरुले छानबिनको दायरासम्म ल्याएको उनले दाबी गरे ।

उनले थपे, ‘हामीले गृहमन्त्रीको संलग्नता देखिन्छ भन्दै आयौं । अनुचित कार्यमा कोही संलग्न भएको भए असुल र दोषी देखिए कारबाही सिफारिस गर्ने भनिएपछि व्यक्ति विशेषको नाम लेखिरहन परेन । गृहमन्त्री संलग्न देखिए उहाँमाथि कारबाही हुन्छ भन्नेमा पुगेपछि सहमति जनायौं ।’

गोर्खा मिडियाको नाम लेखिएपछि संस्थाका पदाधिकारी र मानिसहरू को–को छन् प्रस्टै देखिने उनको बुझाइ छ ।

समितिको कार्यादेशमा गृहमन्त्रीको नाम नलेखे पनि सिम्बोल नम्बर र ठेगाना लेखिएको महामन्त्री विश्वप्रकाश शर्माको तर्क छ ।

‘हामीले नाम भन्दै आएका थियौं, तर नाम नभएर के भयो र सिम्बोल नम्बर लेखिएको छ । पाँच ‘स’ भनेर सहकारीको नाम लेखिएको छ । ठेगाना लेखिएको छ, गोरखा मिडिया नेटवर्क भनेर’, उनको भनाइ छ ।

छानबिन समितिका सदस्य तथा सहमहामन्त्री बद्री पाण्डेले समितिले निष्पक्ष अध्ययन गरेर सहकारीको विषयलाई निष्कर्षमा पुर्‍याउने बताए ।

उनले भने, ‘हाम्रो मागअनुसार समिति बनिसकेको छ । समितिले कसरी काम थाल्ने भन्ने अब संयोजकले बैठक राख्नुहुन्छ होला । कार्यादेशअनुसार समितिले काम गर्छ । निष्पक्ष छानबिन गरेर समितिबाट प्रतिवेदन बुझाउँछौं ।’

राजनीतिक विश्लेषक हरि रोका पनि कांग्रेसले सहकारीको विषयमा सेफ ल्यान्डिङको लागि सहमति जनाएको बताउँछन् ।

उनी भन्छन्, ‘कांग्रेस सहमत भएरै समितिमा बसेको हो । त्यहाँभित्र के विषयमा कम्प्रपाइज गरे उनीहरु नै जान्लान्, तर सहकारीको विषयमा सेफ ल्यान्डिङको लागि सहमति जनाएको कुरा निश्चित नै छ ।’

उनले अब सहमति बनिसकेपछि गृहमन्त्री लामिछाने पदमा बस्छन् कि बस्दैनन् भन्ने कुरामा निर्भर हुने बताए । त्यसो त कांग्रेसले समिति बने गृहमन्त्रीको राजीनामा नमाग्ने बताएको थियो ।

तर, अहिले कांग्रेसभित्र गृहमन्त्रीले नैतिकताको आधारमा समिति बनिसकेपछि बाटो खुला गरिदिनुपर्ने दबाब बढ्दो छ । जुन कुरा कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरुले राखेका थिए । गत साता कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री छानबिन अवधिभर गृह मन्त्रालयमा बस्न नमिल्ने भन्दै अर्को मन्त्रालय रोज्न सुझाव दिएका थिए । तर, गृहमन्त्री त्यो मूडमा छैनन् ।


प्रतिक्रिया

3 thoughts on “रविको नामबाट ब्याक भएर कांग्रेसले किन रोज्यो ‘सेफ ल्यान्डिङ’ ?

  1. कांग्रेस भ्रष्टाचार + कांग्रेस चिसो पानीले नुहाउदै फेस सेफ लाजमर्दो

  2. सहकारीको सदस्य समेत नरहेका गृहमन्त्री रवि नै सहकारीको रकम अपचलन गर्ने मुख्य पात्र जस्तो गर्नु काङ्ग्रेसको कालो कर्तुत मात्रै हो। यस्तो अराजनीतिक हर्कतले अब काङ्ग्रेसको सान्दर्भिकता सकिएको छ।

    1. You are right! Because this Nepal Press did not give us a choice to like your comment, we condemn Nepal Press for this mistake!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर