दोस्रोपटक बजेट ल्याउन नपाइ बाहिरिए खगराज – Nepal Press

दोस्रोपटक बजेट ल्याउन नपाइ बाहिरिए खगराज

पोखरा । गत चैत २५ गते दोस्रोपटक गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी सर्वोच्च अदालतको फैसलासँगै पदमुक्त भएका छन् । सर्वाेच्चले सोमबार खगराजले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै खारेज गरेको थियो । खारेजसँगै खगराज अधिकारी पदमुक्त भएका हुन् ।

बजेट बनाउने तयारीमा रहेका अधिकारी दोस्रोपटक पदमुक्त हुनुप¥यो । बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअघि बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत हुने गर्छ । प्राथमिकता र सिद्धान्त प्रस्तुतको तयारी गरेको अधिकारी नेतृत्वको सरकार सर्वोच्चको जेठ १४ गतेको फैसलासँगै ढल्न पुग्यो । योसँगै खगराजको बजेट ल्याउने दोस्रो प्रयास पनि असफल भएको छ ।

यसअघि पहिलोपटक मुख्यमन्त्री बनेका खगराज अधिकारी बजेटको मुखमा पदमुक्त भएका थिए । २०७९ मंसिर ४ मा भएको निर्वाचनपछि पुस २५ मा गठन भएको सरकारको नेतृत्व गरेकाे खगराजले त्यतिबेला पनि बजेट ल्याउन पाएका थिएनन् । उनी नेतृत्वको सरकार साढे ३ महिनामै ढल्न पुगेको थियो ।

केन्द्रमा सत्ता समिकरण फेरबदलपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै खगराज नेतृत्वको सरकार २०८० वैशाख ९ मा ढलेको थियो । बजेट ल्याउने तयारी गरेको खगराजको पहिलो प्रयास त्यतिकैमा असफल भएको थियो ।

पुनः केन्द्रमा सत्ता समिकरणसँगै मुख्यमन्त्री बनेका खगराज दोस्रोपटक पनि बजेट ल्याउन नपाइ बाहिरिएका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । बजेटको मुखैमा मुख्यमन्त्री बनेका पाण्डेलाई पनि बजेट ल्याउन र पास गर्न कठिन छ । स्पष्ट बहुमत नदेखिएका पाण्डेलाई बहुमत पुर्याउन र सत्ता लम्बाउन चुनौती देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर