न्यूरोडमा भत्काएको सडक दुई दिनभित्र पुनःस्थापन गर्न बालेनलाई सडक डिभिजनको अल्टिमेटम – Nepal Press

न्यूरोडमा भत्काएको सडक दुई दिनभित्र पुनःस्थापन गर्न बालेनलाई सडक डिभिजनको अल्टिमेटम

काठमाडौं । सडक डिभिजन कार्यालयले न्यूरोडको सडक दुई दिनभित्र पुनःस्थापन गर्न काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएको छ । डिभजिनका प्रमुख ई. नारायणदत्त भण्डारीले महानगरपालिकालाई पत्राचार गर्दै सो अल्टिमेटम दिएका हुन् ।

डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा फुटपाथ बढाउने हेतु महानगरले काम थालेको थियो । त्यहाँ रहेको पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने महानगरको योजना छ । केही दिनअघि महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकाय टकरावमा छन् ।

डिभिजन कार्यालयले आज पठाएको पत्रमा गत जेठ १२ गते विनासहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले सडक खन्ने तथा भत्काउने काम गरेको उल्लेख छ । उक्त कार्य सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को बर्खिलाफ हुने भएकाले तत्काल रोकी सडक यथास्थितिमा पुनःस्थापन गर्न १३ गते अनुरोध गरिए पनि हालसम्म नभएको जनाइएको छ ।

‘नेपालको प्रचलित कानूनभन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरसः पालना गर्नुपर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहाँ महानगरपालिकालाई विदितै छ’, पत्रमा भनिएको छ, ‘तसर्थ, तहाँबाट भत्काइएको सडक खण्ड २ दिनभित्र पुनःस्थापन गरिदिनुहुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने व्यहोरासमेत अनुरोध छ ।’


प्रतिक्रिया

One thought on “न्यूरोडमा भत्काएको सडक दुई दिनभित्र पुनःस्थापन गर्न बालेनलाई सडक डिभिजनको अल्टिमेटम

  1. घाम मा सुकाई देऊ तिम्रा ती ५० वर्ष अघि को सोचमा बनाईयको ऐन कानुन र तिम्रा दफा हरु,

Leave a Reply

Your email address will not be published. Required fields are marked *