मधेश प्रदेश मातहतका कार्यालय, समिति र संस्थाको बेरुजु ८ अर्ब ३१ करोडभन्दा बढी – Nepal Press

मधेश प्रदेश मातहतका कार्यालय, समिति र संस्थाको बेरुजु ८ अर्ब ३१ करोडभन्दा बढी

जनकपुरधाम । मधेश प्रदेशका सरकारी कार्यालय तथा अन्य संस्था र समितितर्फ ६ आर्थिक वर्षमै ८ अर्ब ३१ करोड ८ लाख ५८ हजार रुपैयाँ बेरुजु कायम भएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई आज महालेखापरीक्षकको कार्यालय मधेशका प्रमुख श्यामप्रसाद भण्डारीले छैटौं वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

उक्त प्रतिवेदनअनुसार गत वर्षसम्म ६ अर्ब ७६ करोड २२ लाख २७ हजार बेरुजु रहेको थियो । यो वर्ष ३० करोड ५६ लाख ११ हजार बेरुजु सम्परीक्षण भई ६ अर्ब ४५ करोड ६६ लाख १६ हजार बाँकी रह्यो । जसमा आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार बेरुजु थपिएको छ ।

लेखापरीक्षण प्रतिवेदनमा भनिएको छ- ‘यो वर्ष प्रदेश मन्त्रालय, समिति र अन्य संस्थासमेत १४९ निकायको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजारको लेखापरीक्षण सम्पन्न भएको छ । जसमा बेरुजु १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार बेरुजु कायम भएको छ । जुन लेखापरीक्षण अंकमा ३.८८ प्रतिशत हुन आउँछ ।’

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ भन्दा २०७९/८० मा ०.६८ प्रतिशतले बेरुजु बढेको छ ।

प्रतिवेदनमा देखाइएको बेरुजुमध्ये ७ करोड ३१ लाख ३ हजार असुल गर्नुपर्ने, १ अर्ब ३३ करोड २५ लाख ७१ हजार नियमित गर्नुपर्ने, ३५ करोड ७९ लाख ४७ हजार अनियमित भएको, ९७ करोड ३९ लाख १२ हजार प्रमाण कागजात पेश नभएको र ४४ करोड ८५ लाख ६८ हजार पेश्की दिएको उल्लेख छ ।

नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेश मातहतको निकायमा भएको लेखापरीक्षकको प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था छ । प्रदेशमा २०७५ बाट महालेखापरीक्षकको प्रतिवेदन बुझाउन सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर