४ अर्थविद्ले यसरी केलाए नयाँ बजेट – Nepal Press

४ अर्थविद्ले यसरी केलाए नयाँ बजेट

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बाहिर बजारमा हल्ला आएको भन्दा कम आकारको बजेट आएको बताएका छन् ।

अगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटलाई लिएर रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अर्थविद्हरूसँग साक्षात्कार कार्यक्रममा क्षेत्रीले राजस्वको लक्ष्यसमेत चालू आर्थिक वर्षको भन्दा कम रहनु राम्रो पक्ष भएको भन्दै ऋण सही ठाउँमा उपयोग हुनुपर्ने बताए ।

सही ठाउँमा ऋण प्रयोग नभएको खण्डमा आगामी दिनमा अर्थतन्त्रमा असर देखिने उनको भनाइ छ । उनले सरकारले अहिले औषधि प्रयोजनको निमित्त गाँजा खेतीका बारेमा पनि बजेट समावेश गर्नु सकारात्मक भएको धारणा राखे । उनले सरकारले नेपाल वायु सेवा निगमलाई अभिभावकीय भूमिका प्रदान गर्नुपर्ने र भ्रष्टाचारलाई निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

यस्तै पूर्व मुख्यसचिव डा. विमल कोइरालाले बजेट एकदमै राम्रो आओस् र प्रशंसा गर्न पाइयोस् भनेपनि सोचेजस्तो नआएको बताए । बजेट बनाउने हो भने साढे १७ देखि १८ खर्बभन्दा माथि जान नहुने उनको भनाइ छ । अहिले आएको बजेटका आधारमा सार्वजनिक खर्च व्यवस्थापन गर्न नसकिने र वित्त सन्तुलनमा प्रतिकूल प्रभाव पर्ने आफ्नो आँकलन रहेको कोइरालाले धारणा राखे ।

अर्थविद् डिल्लीराज खनालले निरन्तरता र नयाँपनको अन्तर्विरोधबाट बजेट आएको टिप्पणी गरे । बजेटले भरोसा र विश्वास जगाएर लक्ष्य पूरा गर्न नसक्ने भन्दै नेपालको अवस्था र स्थिति, सामर्थ्यका आधारमा अहिलेको बजेट यथार्थभन्दा टाढा रहेको बताए । राजश्व कम अनुमान गरे पनि स्रोत सुनिश्चिता नहुँदा उठ्छ कि उठ्दैन भन्ने प्रश्नचिन्ह कायमै रहेको उनको भनाइ छ ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले बजेटको उद्देश्य र प्राथमिकतामा हेर्दा विमति राख्नुपर्ने केही कुरा नरहेको बताए । अर्थतन्त्रको सूचक, उत्पादन, उपभोग, खर्च र आयको स्तर सबै संकुचनमा रहेको भन्दै लक्ष्य अनुसारको राजश्व उठ्नसमेत गाह्रो रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर