लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक, बुटवल र तिनाउ पालिकाले पाए साढे २२ लाख कर – Nepal Press

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक, बुटवल र तिनाउ पालिकाले पाए साढे २२ लाख कर

रुपन्देही । एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक वसन्तपुर डाँडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाखभन्दा बढी पर्यटकलाई भित्राएको छ ।

डेढ दशकअघिदेखि पहल गरिए पनि सार्थक हुन नसकेको बुटवलमा केबलकार सपना चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले नेतृत्व लिएपछि गत वर्ष जेठ १५ देखि सञ्चालनमा आएको थियो ।

बुटवलको गोलपार्क बमघाटमा तल्लो स्टेशन रहेको केबलकारको माथिल्लो स्टेशन पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुर डाँडामा छ ।

स्थानीय समेतको लगानी साझेदारीमा कूल ५ अर्बको परियोजनामा केबलकारमा मात्रै डेढ अर्ब लगानी भएको कम्पनीले जनाएको छ ।

सञ्चालनमा आएको एक वर्षको अवधिमा भारतीय र तेस्रो मुलुकका समेत गरी दुई लाख १० हजार पर्यटक केबलकार चढेका कम्पनीका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए । केबलकार चढ्न आउने मध्ये २५ प्रतिशत संख्या भारतीय पर्यटकको रहेको घिमिरेले बताए ।

एक वर्षमा मूल्य अभिवृद्धि कर र स्थानीय कर समेत गरी १३ करोड ५० लाख रुपैयाँको टिकट बिक्री भएको कम्पनीले जानकारी गराएको छ ।

केबलकारले २०८० जेठ १५ देखि वैशाख ३१ सम्म बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकालाई प्रत्येक टिकट शुल्कको एक–एक प्रतिशतका दरले ११ लाख २८ हजार रुपैयाँका दरले २२ लाख ५६ हजार रुपैयाँ स्थानीय कर बापत तिरेको छ ।

२।६ किलोमिटर दूरीको केबलकारको माथिल्लो स्टेशन समुन्द्री सतहबाट करिब १२ सय मिटर उचाइमा रहेको छ । वसन्तपुरमा प्रख्यात शक्ति पीठ कामाख्या देवीको कलात्मक मन्दिर र सय वर्ष अघिदेखि पूजा हुँदै आएको स्थानीय दुर्गा मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशेष आकर्षण बनेको छ ।

अष्ट्रियाको डुपलमेयर कम्पनीले बनाएको अत्याधुनिक प्रविधियुक्त मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए ।

‘सञ्चालनमा आएको एक वर्षमै आन्तरिक र भारतीय पर्यटकको आगमन उत्साहजनक छ’–अपरेसन म्यानेजर सैंजूले भने–‘तर सञ्चालन खर्च धान्न कम्तीमा दैनिक एक हजार पर्यटक चाहिन्छ,अहिले घाटामै चले पनि भविष्य राम्रो होला भन्ने अपेक्षा छ ।’

भारतको उत्तर प्रदेश लगायतका प्रान्तबाट अलि ठूलो संख्यामा पर्यटक भित्राउन सरकारी तहबाट नीतिगत सुधार र पर्यटकीय पूर्वाधारको बजारीकरणमा सहयोग चाहिने अपरेसन म्यानेजर सैंजूले बताए ।

केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीप लाइन, स्काई साइक्लिङ,जियान्ट स्वीङ, किड्स जोन, लभ पोडियम,सेल्फी विङ, हरेक महिनाको १ गते सांझ सन्न्या आरती पर्यटकका लागि आकर्षण बनेका छन् । दुई वर्षभित्र एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनोसहित साढे ३ अर्ब लागतमा पाँचतारे होटेल बनाउने योजना छ ।

करिब सय जनालाई रोजगारी दिएको कम्पनीले पाँच तारे होटेल सञ्चालनमा आउँदा थप ५ सय बढीलाई रोजगारी दिन सक्ने छ ।

केबलकार सञ्चालनले बुटवलमा नयाँ र आकर्षक पर्यटकीय गन्तव्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बताए ।

वसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुँदा शीतल हुने र हिउंँदमा तराईमा हुस्सु र जाडो हुँदा घाम लागेर न्यानो हुने भएकाले वसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाइको थलो बनेको छ ।

केबलकार बनेसँगै वसन्तपुरलाई प्रदेश सरकारको पर्यटन विकास परिषद्ले प्रदेशको महत्त्वपूर्ण पर्यटकीय स्थलको मान्यता दिँदै सूचिकृत गरेको परिषदका सदस्य सचिव रामु जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर