बुद्ध मावली देवदहको खयरडाँडामा उत्खनन सुरु – Nepal Press

बुद्ध मावली देवदहको खयरडाँडामा उत्खनन सुरु

रुपन्देही । बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा उत्खनन बुधबारदेखि सुरु गरिएको छ ।

देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्त्व विभागको प्राविधिक सहयोगमा देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन सुरु गरिएको हो ।

देवदह नगरपालिका नगरप्रमुख ध्रुव खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रूपमा कुटोले भुईँ खनेर शुभारम्भ गरेका हुन् ।

बजेट अभावका कारण पुरातात्त्विक स्थलहरूको उत्खनन, अन्वेषणमा हुन नसकिरहेको बेला देवदह नगरपालिकाले १० लाख बजेट छुट्याएर उत्खनन थालिएको छ । स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।

नगरप्रमुख खरेलले पुरातात्त्विक क्षेत्रको उत्खननमा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताउँदै उत्खननका लागि आगामी वर्षमा पनि बजेट छुट्याएर काम गर्ने जनाए ।

नगरप्रमुख खरेलले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्त्विक स्थलहरूको उत्खनन र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि आफूहरूले पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्त्विक स्थलको उत्खननमा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताए । उनले देवदहको भग्नावशेष क्षेत्रहरूमा उत्खनन हुँदा यसले पुरातात्त्विक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्ने बताए ।

भट्टराईले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्त्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गत वर्षदेखि उत्खनन्लाई प्राथमिकतामा राखेको बताए । गतवर्ष जेठ १७ गतेदेखि गरेको उत्खननमा प्राचीन पर्खाल र प्राचीनतम् इनारका संरचना फेला परेका थिए ।

एक एक महिनासम्म चल्ने उत्खननमा लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्त्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रूपमा शुभेच्छा पोख्रेल खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *