अर्थमन्त्री पुन भन्छन्- बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ – Nepal Press

अर्थमन्त्री पुन भन्छन्- बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा पुनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे ।

‘आगामी आवको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ’, अर्थमन्त्रीले भने ।

बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ ।

नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको भन्दै उनले निजी क्षेत्र, प्रमुख प्रतिपक्षलेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको बताए ।

‘आम जनतामा आशा जगाउने गरी बजेट आएको छ । बजेटले उद्यमी व्यवसायी आशा जगाउने अपेक्षा गरेका छौं । देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृत्ति बढेको छ । सजिलै विदेशको बाटो रोज्ने भन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको छ’, पुनले थपे ।

करका दर परिवर्तनका गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको अर्थमन्त्री पुनको भनाइ छ । कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौं भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएको उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अबको १० वर्षमा ३० खर्बको निर्यात पुर्‍याउने महत्वाकांक्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको अर्थमन्त्रीले बताएका छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले नै तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने नीति लिइएको साथै हरित करको नयाँ विषय आर्थिक ऐनमा राखेको पनि पुनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर