सर्वोच्चको परमादेशअनुसार गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज नियुक्त – Nepal Press

सर्वोच्चको परमादेशअनुसार गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज नियुक्त

पोखरा । गण्डकीको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सर्वोच्चले सोमबार ४८ घण्टाभित्र धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो ।

न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै उपधारा (३) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो । उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।

सुरेन्द्रराज पाण्डे दोस्रोपटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । गत वर्ष बैशाख १४ गते पाण्डे नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सासंदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते राजीनामा दिएका थिए । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ जना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर