करको दायरामा ल्याउन अफर, यी निकाय र व्यक्तिलाई दिइयो छुट – Nepal Press
बजेट- २०८१/८२

करको दायरामा ल्याउन अफर, यी निकाय र व्यक्तिलाई दिइयो छुट

काठमाडौ । सरकारले नयाँ बजेटमार्फत् करदाताको सहजताको लागि आयमा लाग्ने कर, मूल्य अभिवृद्धि करलगायतमा छुटको व्यवस्था गरेको छ । भ्याटमा दर्ता नभएका, प्यान नम्बर नलिएका व्यक्ति वा निकायलाई लिन बाध्य बनाइएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् अर्थमन्त्री वर्षमान पुनले छुटको अफर दिएरै भए पनि व्यक्ति तथा केही निकायलाई करको दायरामा ल्याउन खोजेका छन् ।

करको दायरामा आउनेलाई छुट

कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिई कर बुझाए राहत पाउनेछन् ।आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को बुझाउनुपर्ने आय विवरण र सोमा लाग्ने कर २०८१ फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुने आर्थिक विधेयकमा व्यवस्था गरिएको छ । आय विवरण र सो बमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिका आय वर्षहरूको आय विवरण र त्यसमा लाग्ने कर, शुल्क तथा ब्याजसमेत बुझाउनु पर्ने छैन ।

आय विवरण बुझाउन बाँकी करदातालाई छुट

स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेको करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुनेछ ।

मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट

२०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर तथा बाँकी ब्याज मिनाहा हुने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायकलाई मूल्य अभिवृद्धि कर छुट

मूल्य अभिवृद्धि करमा दर्ता भएका वा नभएको अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक व्यक्तिले २०८० साल जेठ १५ गतेदेखि असोज मसान्तसम्मको अवधिमा हवाई यातायात सेवामा संकलन गर्नुपर्ने मूल्य अभिवृद्धि कर संकलन नगरेको वा दाखिल नगरेको भएमा त्यस्तो मूल्य अभिवृद्धि कर, जरिवाना, थप दस्तुर तथा ब्याज मिनाहा हुनेछ ।

नेपालबाट उडान सुरू नगर्ने अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक (अफलाईन एअरलाईन्स) ले २०८० जेठ १५ गतेदेखि संकलन गरेको मूल्य अभिवृद्धि कर २०८१ साल असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भई बुझाएमा सोमा लाग्ने ब्याज, जरिवाना, थप दस्तुर मिनाहा हुनेछ ।

ढुुवानी सेवाको कारोबार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहा

मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नुपर्ने ढुवानी साधनको भाडा तथा ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिले २०७६ साल जेठ १५ गतेदेखि २०७८ साल जेठ १४ गतेसम्म गरेको कारोबार रकमका १ प्रतिशत कर बुझाए अरु कर मिनाहा हुनेछ । मूल्य अभिवृद्धि करमा दर्ता भएका वा नभएका व्यक्तिले मूल्य अभिवृद्धि करयोग्य कारोबार गरी कर संकलन नगरेको भए सो कारोबार रकमको एक प्रतिशतले हुने रकम आगामी मंसिर मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, थप दस्तुर, ब्याज र जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ ।

कर्जा सूचना प्रदायक निकायलाई मूल्य अभिवृद्धि कर मिनाहा

नेपाल राष्ट्र बैंकबाट अनुमति पाएर स्थापना भएको कर्जा सूचना प्रदायक निकाय मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई कर्जा सूचना सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको निकाय २०८१ असार मसान्तभित्र मूलय अभिवृद्धि करमा दर्ता हुनुपर्नेछ । उक्त मितिसम्म संकलन गर्नुपर्ने मूल्य अभिवृद्धि करको ५० प्रतिशतले हुने रकम आगामी असोज मसान्तभित्र बुझाएमा बाँकी मूल्य अभिवृद्धि कर,जरिवाना ब्याज मिनाहा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर