युएईमा सक्रिय नेपाली बैक तथा रेमिट्यान्स कम्पनीहरूद्वारा वित्तीय साक्षरता अभियान सुरु – Nepal Press

युएईमा सक्रिय नेपाली बैक तथा रेमिट्यान्स कम्पनीहरूद्वारा वित्तीय साक्षरता अभियान सुरु

आबुधावी । युएईमा सक्रिय नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीहरूले वित्तीय साक्षरता अभियान सुरु गरेका छन् ।विदेशमा कार्यरत नेपालीलाई बैङ्किङ माध्यम मार्फत रेमिट्यान्स नेपाल पठाउन सचेतना जगाउने उद्देश्यले वित्तीय साक्षरता अभियान सुरु गरिएको हो ।

अभियान अन्तरगत युएईमा सक्रिय नेपाली बैक तथा रेमिट्यान्स गरी ११ वटा वित्तीय संस्थाहरुले सामूहिक रूपमा अभियान सुरु गरेका हुन ।

उनीहरूले नेपाली दूतावासमा सेवा लिन आउन सेवाग्राहीलाई लक्षित गरी दूतावास परिसरमा नव निर्मित प्रतीक्षालयमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सूचनाहरू लेखेर प्रकाशित गरेका छन् ।

त्यस्तै प्रतीक्षालयमा ५६ इन्चको टिभी राखेर त्यसमा समेत सचेतना सम्बन्धी विभिन्न सामाग्री प्रशारण गरिने भएको हो ।

त्यस्तै नेपाली दूतावासले निर्माण गरेको प्रतीक्षालयमा दूतावास सँगको सहकार्यमा नेपाली बैंक तथा रेमिट्यान्स कम्पनीहरूले दैनिक आफ्ना प्रतिनिधि मार्फत रेमिट्यान्स सम्बन्धी विभिन्न जानकारी दिने गरी डेस्क सञ्चालन गर्ने तयारी गरेका छन् ।

उनीहरूले दूतावासमा आउने सेवाग्राहीलाई मध्यनजर गर्दै कुलर राखेर फिल्टर गरेको चिसो पानी सहित सेवाग्राहीलाई टोकन व्यवस्थापन समेत गर्ने जनाएका छन् ।

प्रतीक्षालयमा बस्ने कुर्सी सहित प्रतीक्षालयको भित्र र बाहिर सूचना पार्टी समेत राखिएको छ । युएईमा सक्रिय नेपाली बैंकहरु ग्लोबल आइएमई, हिमालयन ,प्रभु, सिद्धार्थ, नबिल र कुमारी बैंक तथा आइएमई, रिआ, ई सेवा, सीटी एक्सप्रेस र रेमिट टु नेपाल जस्ता रेमिट्यान्स कम्पनीहरूले सहकार्य गरेको प्रभु बैंकका युएई प्रमुख रुन्चे गायक प्रकाश पौडेलले जानकारी दिए ।

अभियानको मङ्गलवार गणतन्त्र दिवसको अवसरमा दूतावासले आयोजना गरेको कार्यक्रममा उपस्थित नेपाली समुदायका प्रतिनिधि, सम्बन्धित वित्तीय कम्पनीका युएई प्रतिनिधि तथा नेपाली दूतावासका प्रतिनिधिहरूले अवलोकन समेत गरेको ग्लोबल आइएमईका युएई प्रतिनिधि अर्जुन चापागाईँले बताए ।

नेपाली दूतावास आबुधावीमा हाल: दैनिक ४ सय भन्दा धेरै सेवाग्राही आउने र आएका सेवाग्राहीलाई वित्तीय सचेतना जगाउन सके राष्ट्रहितमा हुने दूतावास र वित्तीय संस्थाहरुको बुझाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर