आबुधावीमा गणतन्त्र दिवस : ‘भित्तो पोत्नेदेखि बन्दुक बोक्नेहरु’ एकै मन्चमा (तस्बिरहरु) – Nepal Press

आबुधावीमा गणतन्त्र दिवस : ‘भित्तो पोत्नेदेखि बन्दुक बोक्नेहरु’ एकै मन्चमा (तस्बिरहरु)

आबुधावी । नेपाली दूतावास आबुधावीमा १७ औं गणतन्त्र दिवस मनाइएको छ । सोमबारबाट ३ दिनसम्म दीप प्रज्जवलनसहित झण्डोत्तलन समेत गरेर गणतन्त्र दिवस मनाइरहेको नेपाली दुतावासले गणतन्त्र दिवसकै दिन मंगलबार दूतावासको सभाहलमा नेपाली समुदायका प्रतिनिधिको विशेष उपस्थितिमा कार्यक्रम गरेको हो ।

शुभकामना आदान–प्रदानसहित नेपाली समुदायबीच अन्तरक्रियात्मक रुपमा आयोजित कार्यक्रममा नेपाली संघसस्थाका प्रतिनिधिहरुले शुभकामना आदान–प्रदान गरेका थिए । युएईमा सक्रिय नेपाली संघसस्थाको समावेशी प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा करिब सयजना नेपाली अगुवाहरुको सहभागीता थियो ।

कार्यक्रममा गणतन्त्र र यसको अवस्था तथा व्यवस्था कार्यन्वयनमा जनस्तरबाट समेत कमीकमजोरी भइरहेकोप्रति पत्रकार महासंघ युएई शाखाका अध्यक्ष मेघराज सापकोटाले चिन्ता व्यक्त गरे ।

संविधानले व्यवस्था गरेका अनेकन व्यवस्थामा आफुहरुको असन्तुष्टि रहेपनि गणतन्त्रलाई थप बलियो बनाउन आदिवासी जनजातीले पाहिचानको विषय उठाइरहेको आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुले उल्लेख गरे ।

गणतन्त्रपछि पनि बैदेशिक रोजगारीमा जानेको सख्या क्रमिक बढ्नु दुःखद भएको अधिकांशको भनाइ थियो । गणतन्त्र र यसले ल्याएको परिवर्तनलाई स्वीकार्न नसक्ने केही तत्वहरुका कारण गणतन्त्र जोखिममा पर्ने गरेको भएपनि आवश्यक परे पुन: संघर्षका लागि आफू र आफूजस्तै कैयौ युवा तयार रहेको जनप्रगतिशील मन्च युएईका अध्यक्ष लक्षमण खनाल ‘संकल्प’ ले बताए ।

गणतन्त्र ल्याउन माओवादीले गरेको जनयुद्दमा आफु भित्ते लेखनका लागि खटिएको स्मरण गर्दै खनालले गोलीका छर्रा र शरीरका चोट लिएर कैंयौं लडाकु अहिले पनि गणतन्त्रको रक्षाका लागि उभिन तयार भएको उनको दाबी थियो ।

कार्यक्रममा नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी तिमिल्सिनाले देशको पछिल्लो घटना क्रम र सहकारी ठगहरुलाई कारबाहीको दायरामा ल्याउन दूतावासले समेत सहयोग गर्नुपर्ने बताए ।

प्रवास नेपाली सम्पर्क विभाग युएईका सभापति सुजन थापाले आफू र आफ्नो संगठनले विदेशमा राजनीति नभइ आम श्रमिकको सारथी बनेर काम गर्न दूतावाससँग हातेमालो गर्न तयार रहेको उल्लेख गरे ।

नेपाली दूतावास आबुधावीका श्रम काउन्सिलर दिनबन्धु सुवेदीको स्वागत, नेपाली दूतावास आबुधावीका उपनीयोग प्रमुख विशाल भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सम्बोधन गरेका थिए ।

राजदूत क्षेत्रीले उपस्थित नेपाली समुदायमार्फत युएईमा कार्यरत नेपालीहरुमाझ गणतन्त्र दिवसको शुभकामना पुर्याइदिन अनुरोध गरे ।

कार्यक्रममा सम्बोधन गर्दै राजदुत क्षेत्रीले नेपाली श्रमिकका समस्या समाधानमा नेपाली समुदायले गरिरहेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि हातेमालो गरेर अघि बढ्ने उल्लेख गरे ।

कार्यक्रममा महिलाका तर्फबाट एनआरएन युएईकी उपाध्यक्ष सोनम श्रेष्ठ, युएई नेपाली एकता समाजका अर्जुन प्रसाद उपाध्याय, मधेशी एकता समाजका धर्मेन्द्र कुमार यादव, नेपाल बीजनेस काउन्सिलका एकेन्द्र थापा, ग्लोबल एनआरएनका पाशाङ शेर्पा, एनआरएन युएईका बिकास शाही, नेपाल एयरलाइन्सका युएई प्रमुख दीपेन्द्र सापकोटा लगायतले मन्तब्य राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *