आलु-प्याजमा लाग्ने भ्याट खारेज, अरू के-केमा भयाे कर हेरफेर ? – Nepal Press

आलु-प्याजमा लाग्ने भ्याट खारेज, अरू के-केमा भयाे कर हेरफेर ?

काठमाडौं । सरकारले नयाँ बजेटमार्फत केही वस्तुको कर बढाएको छ । त्यस्तै केही वस्तको घर भने घटाएको छ ।

सरकारले आलु, प्याज, स्याउ र तरकारीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाएको छ । तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएपछि विरोध भएको थियो ।

त्यस्तै मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्ड बढाएर ३० लाख पुर्‍याइएको छ ।

उद्योगले पैठारी गर्ने कच्चापदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई सरकारले प्राथमिकता दिइएको छ ।

औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउनेलगायतका उद्योगको कच्चापदार्थमा लाग्ने पैठारी महसुल र अन्तःशुल्क घटाइएको छ ।

वैदेशिक लगानी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाइएको छ । लगानी सम्भाव्य मुलुकबाट लगानी आप्रवाह वृद्धि गर्न दोहोरो कर मुक्ति सम्झौताको मोडल विकास हुने भएको छ ।

सूचना प्रविधि उद्योगले आफ्नो नाफा पूँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था बजेटमार्फत गरिएको छ ।

दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशु फार्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ १ प्रतिशतमात्र कायम गरिएको छ ।

बजेटमा अपाङ्गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार विन्दुमै छुट दिने व्यवस्था गरिएको छ ।

सरकारले नयाँ बजेटमार्फत मदिरा, बियर, सूर्ती र चुरोटमा कर बढाएको छ । यसभन्दा पहिले लाग्दै आएको अन्तःशुल्क वृद्धि गरिएको अर्थमन्त्री वर्षमान पुनले बताए ।

कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लाग्ने भएको छ ।

करका नयाँ दर आजैबाट लागू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *