सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गर्न अध्ययन गरिने – Nepal Press

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गर्न अध्ययन गरिने

गृह मन्त्रालयका लागि करिब दुई खर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले सुरक्षाकर्मीको सेवानिवृत हुने उमेर पुनरावलोकन गर्नका लागि अध्ययन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण अन्तर्गत यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गरिनेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइनेछ । सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गरिनेछ ।’

अध्यागमन प्रणाली डिजिटलाइज्ड गरी अत्याधुनिक बनाइने तथा अनलाइन मार्फत ई–भिसाको लागि आवेदन दिन सक्ने प्रणाली लागू गरिने अर्थमन्त्री पुनले बताए ।

उनले थप्दै भने, ‘कारागारलाई सुधार गृहको रूपमा विकास गरिनेछ । खुला कारागारको अवधारणा अनुसार कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यमका रोजगारीसँग आवद्ध गरिनेछ । कारागारमा कैदीबन्दीको चाप कम गर्न प्रोवेसन र प्यारोलको व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । निर्माणाधीन एक हजार ३७० जना क्षमताको नुवाकोट कारागारलाई सञ्चालनमा ल्याइनेछ ।’

कसूरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफतसम्बन्धी एकीकृत केन्द्रीय अभिलेख अद्यावधिक गरी कसूरजन्य सम्पत्ति तथा साधनको उचित व्यवस्थापन गरिने अर्थमन्त्री पुनले बताए ।

उनले थप्दै भने, ‘अन्तर्राष्ट्रिय सीमा सुरक्षा व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाइनेछ । सीमा सुरक्षामा स्थानीय नागरिकको सहभागिता र अपनत्व बढाउने कार्यक्रम सञ्चालन गरिनेछ । विपद् व्यवस्थापनसम्बन्धी कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ । विपद् उद्धार तथा राहतको क्षेत्रमा नागरिकको क्षमता अभिवृद्धि गर्दै विपद्मा नागरिक सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।’

अर्थमन्त्री पुनले गृह मन्त्रालयतर्फ एक खर्ब ९९ अर्ब २४ करोड विनियोजन गरेको पनि घोषणा गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर