प्रमुख प्रशिक्षकको खोजीमा भारतीय क्रिकेट बोर्ड, नरेन्द्र मोदीदेखि सचिन तेन्दुलकरसम्मले दिए आवेदन ! – Nepal Press

प्रमुख प्रशिक्षकको खोजीमा भारतीय क्रिकेट बोर्ड, नरेन्द्र मोदीदेखि सचिन तेन्दुलकरसम्मले दिए आवेदन !

काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआई पुरुष राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकको खोजीमा छ । हालका प्रशिक्षक राहुल द्रविणको कार्यकाल टी-२० विश्वकपसँगै सकिने भएकाले बोर्डलाई नयाँ प्रशिक्षक चाहिएको हो ।

सम्भावित प्रशिक्षकमा नामहरू चर्चामा छन् । भारतीय राष्ट्रिय टिमका पूर्व खेलाडी गौतम गम्भीरदेखि दक्षिण अफ्रिकाका एबी डिभिलियर्स लगायतलाई सञ्चारमाध्यमले चर्चामा ल्याइरहँदा बोर्डले भने कसैसँग पनि सम्झौता गरेको छैन ।

बीसीसीआइले केही दिन अगाडि प्रमुख प्रशिक्षक पदका लागि सार्वजनिक रुपमा दरखास्त आह्वान गरेको थियो । गत १३ मेमा आह्वान गरिएको दरखास्तमा ३ हजारभन्दा बढी आवेदन परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, तीमध्ये फेक दरखास्तहरूको संख्या ठूलो छ ।

एक समाचारमा जनाइएअनुसार भारतका थुप्रै चर्चित क्रिकेटर मात्र होइन, राजनीतिज्ञको नामबाट पनि दरखास्त परेको छ । नरेन्द्र मोदीका नाम गरेका एक व्यक्तिले आवेदन भरेका छन् । तर, उनी भारतीय प्रधानमन्त्री भने होइनन् ।

अमित साह, महेन्द्र सिंह धोनी, अमिताभ बच्चन र सचिन तेन्दुलकरको पनि आवेदन परेको छ । तर, उनीहरू पनि तपाईँले सोचेका व्यक्तिहरू होइनन् । आम मानिसहरूले उनीहरूको नाम प्रयोग गरेर फर्जी आवेदन दिएका हुन् ।

हेड कोचका लागि आवेदन दिने म्याद हिजो २७ मेसम्म थियो । अब बीसीसीआइले आवेदन दिएकाहरुमध्येबाट सर्ट लिस्ट गर्नेछ ।

यसअघि सन् २०२२ मा पनि बीसीसीआइले हेड कोचका लागि दरखास्त आह्वान गरेको थियो । त्यसबेला पनि कयौं सेलिब्रिटीका नाममा आवेदन परेको थियो । अघिल्लो पटक इमेलबाट आवेदन माग गरिएकोमा यस पटक गुगल फर्म प्रयोग गरिएको छ ।

बीसीसीआइका अधिकारले भने, ‘अघिल्लो वर्ष पनि चर्चित व्यक्तिहरूका नाममा यस्ता फर्जी आवेदन परेका थिए । त्यही भएर हामीले गुगल फर्म प्रयोग गरेका हौँ । यसबाट आवेदकहरुको नाम जाँच गर्न सजिलो हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर