देशलाई अब यसरी सोचौं – Nepal Press

देशलाई अब यसरी सोचौं

हामी यतिबेला आर्थिक वर्ष २०८०/८१ को अन्ततिर छौं । संघ, प्रदेश र स्थानीय सरकार आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम र बजेट निर्माणमा लागिपरेका छन् । संघ सरकारले नीति तथा कार्यक्रम पेश गरेर पाससमेत गरिसकेको छ । देशको राजनीतिक, आर्थिक र शासकीय स्वास्थ्य त्यति गतिलो छैन । देश बिग्रियो, देशमा अब केही पनि सम्भावना छैन र यहाँ केही गर्ने वातावरण नै निर्माण हुन सक्दैन भन्ने खालको नकारात्मक भाष्य निर्माण भइरहेको छ ।

हुन त नेपालको राजनीतिक इतिहास यही भावनाबाट अगाडि बढेको देखिन्छ । के नेपाल साँच्चै बिग्रिएकै हो ? के नेपाल अब बनाउनै नसकिने गरी विनाशको ढिकढाकमा आइसकेको हो ? नेपाल बनाउन कसले पहल गर्ने ? के अहिलेसम्मका पहल निरर्थक भए ? यी यस्ता प्रश्नहरुले हामी सबैको मनमा अनेक प्रकारका भावना उद्वेलित बनाउने गर्छन् ।

मलाई लाग्दैन कि नेपाल पूरै बिग्रिसक्यो, खत्तम भयो, अब बन्दैन । यी सबै आंशिक सत्य भए पनि पूर्ण सत्य भने होइनन् । नेपालमा केही बनेका छन्, केही बन्दैछन् अनि केही बनाउनु पर्नेछ । नेपालको राजनीतिक र आर्थिक अवस्थामा कलह र शिथिलता छ, तर यस अवस्थालाई सुधार गर्न अवश्य पनि सकिन्छ । नेपाल बनाउने र अहिलेको अवस्था सुधार गर्ने अरु कसैले होइन, हामी आफैंले हो । बाहिरबाट आएर कसैले पनि नेपाल बनाइदिँदैन । त्यसैले हामी सबै नेपालीले साझा संकल्प र अठोट गर्न जरुरी छ कि हामी बनाउँछौं हाम्रो देश । हामी बनाउन सक्छौं हाम्रो देश भन्ने साझा मनोविज्ञान तयार गरी अगाडि बढ्न आवश्यक छ ।

मलाई लाग्दैन कि नेपाल पूरै बिग्रिसक्यो, खत्तम भयो, अब बन्दैन । यी सबै आंशिक सत्य भए पनि पूर्ण सत्य भने होइनन् । नेपालमा केही बनेका छन्, केही बन्दैछन् अनि केही बनाउनु पर्नेछ । नेपालको राजनीतिक र आर्थिक अवस्थामा कलह र शिथिलता छ, तर यस अवस्थालाई सुधार गर्न अवश्य पनि सकिन्छ ।

नेपाल बनाउन र नेपालको अवस्था सुधार गर्न ससाना काम र विचारबाट सुरुवात गरौं । अब हामीलाई नेपाल नबनाउन र अहिलेको अवस्था सुधार गर्नबाट पछाडि हट्न कुनै पनि सुविधा छैन । यसका लागि हरेक नेपालीले एक्लाएक्लै र सबै नेपालीले सामूहिक रुपमा पहल गरौं । अमिल्दा शैली, नीति र व्यवहारलाई सुधार गरौं ।

गरौं साझा संकल्प

म बनाउँछु मेरो देश नेपाल र हामी बनाउँछौ हाम्रो देश नेपाल भनी संकल्प गरेर अघि बढौं । हरेक दिन हरेक नेपालीले आफ्नो मातृभूमि बनाउन संसारको जुनसुकै कुना कन्दरामा भए पनि केही न केही गरौं, केही न केही सुधार गर्दै लैजाऔं भन्ने सोच राख्नुपर्छ । हामीले गरेको सकारात्मक संकल्पले हामीलाई सकारात्मक परिवर्तनको मार्गमा अगाडि बढाएर लैजाने निश्चित छ ।

विकास गरौं असल विचार

हामी अहिलेको अवस्थामा पुग्नुमा हामीले बोकेको विचारको पनि धेरै महत्वपूर्ण भूमिका छ । हामी नेपालीको सोच्ने र अन्तरमनका विचारमा विकार आउन थालेको छ । बदामको बीउ रोपे बदाम फल्छ, तर बदाम रोपेर काँक्रोको अपेक्षा गर्नु निरर्थक हुन्छ । हामी पनि आज जे सोच्छौं, भोलि त्यही परिणाम आउँछ । त्यसैले वर्तमानमा असल विचारको विकास गर्नु जरुरी छ । अल्बर्ट आइन्सटाइनले एक पटक भनेका छन् ‘वर्तमानमा जुन विचारले समस्या सृजना भएको छ, त्यही पुरानो विचारले त्यस समस्याको समाधान निक्लदैन । त्यसैले वर्तमानको समस्या समाधान गर्ने हो भने जुन विचारले समस्या सृजना भएको हो, त्यस विचारलाई त्याग गर्नुपर्छ र नयाँ विचारको विकास गर्नु अनिवार्य छ ।’

त्यसैले नेपाली समाजमा व्याप्त नकारात्मक सोच, विचार टिप्पणी र नेपाल बन्दैन, नेपालमा केही गर्न सकिँदैन भन्ने मनोविज्ञान र विचारलाई बदल्न जरुरी छ । सधैंभरि नकारात्मकता देख्नाले, नकारात्मक विचार राख्नाले मानिसमा चिन्ता बढाउँछ र त्यही चिन्ताले मानिसलाई चितामा पु¥याउने गर्छ । आलोचना गरौं, टीकाटिप्पणी गरौं सकारात्मक भाव र विचारले । त्यसैले आज हरेक नेपालीमा, नेपाली समाजमा सकारात्मक सोच, विचार र व्यवहार विकास गर्नु जरुरी छ । जस्तोसुकै कालरात्रीमा पनि चन्द्रमाको सानो घेरा हुन्छ र त्यही सानो चन्द्रमाको घेरा बढ्दै बढ्दै गएमा अँधेरी रात सकिन्छ र उजेली आउँछ । अर्थात रात उजेलीमा बदलिन्छ र कालरात्रीको समाप्ति हुन्छ ।

बाहिरबाट आएर कसैले पनि नेपाल बनाइदिँदैन । त्यसैले हामी सबै नेपालीले साझा संकल्प र अठोट गर्न जरुरी छ कि हामी बनाउँछौं हाम्रो देश । हामी बनाउन सक्छौं हाम्रो देश भन्ने साझा मनोविज्ञान तयार गरी अगाडि बढ्न आवश्यक छ ।

कालरात्रीमा विद्यमान चन्द्रमाको सानो घेरा जस्तै नेपाली समाजमा पनि सकारात्मक सोच र विचारको विकास गर्दै लैजानुपर्छ । यसको लागि सकारात्मक पहल गर्न जरुरी छ । अँधेरी रातमा चन्द्रमाको सानो घेरा चम्किए जस्तै सकारात्मक सोच र विचारको खोजी गरौं । नेपालमा भएको गौरवपूर्ण उपलब्धिको चर्चा गरौं । खुशीका क्षणहरुको सम्झना गरौं । हामीले कहाँ कहाँ गल्ती गर्‍यौं र यो अवस्था आयो भनी आत्मसमीक्षा गरौं । नराम्रो कुरामात्रै हैन । राम्रो कुराको पनि चर्चा गरौं । एक-अर्कालाई प्रशंसा गरौं । एक-अर्कालाई मुस्कान दिऔं । एक अर्कामा भएको सकारात्मक र सम्भावनाको खोजी गरौं ।

नेपाल बन्छ र नेपाल बनाउनुपर्छ भन्ने सोच र विचार विकास गरौं । नेपाल बनाउने र विकास गर्ने हामी नेपालीले नै हो भन्ने भावना जागृत गरौं । म बनाउँछु मेरो देश, हामी बनाउँछौं हाम्रो देश भन्ने आममनोविज्ञान विकास गरौं । आज हामीले नेपाली समाजमा यही सकारात्मक विचारको विजारोपण गर्‍यौं भने मात्रै भोलिका दिनमा असल र समृद्धि देश बन्छ र बनाउन सकिन्छ । असल देश बनाउन आमनेपालीमा असल विचार अर्थात सकारात्मक सोच विकास गर्न अनिवार्य छ ।

गरौं असल व्यवहार

विचार र व्यवहारबीच एक-अर्कामा सीधासीधा सम्बन्ध रहिआएको छ । व्यवहारले विचार निर्माण गर्छ भने विचारले व्यवहारलाई निर्देशित गर्छ । हामीले भोगेको, सुनेको र महसुस गरेको कुरा भनेको विचार र व्यवहारको बीचमा तालमेल नमिल्नु हो । हामीले विचार र व्यवहारका बीचमा तालमेल मिलाउनुपर्छ । नयाँ ढंगले सोच्ने र नयाँ ढंगले व्यवहार गर्ने गर्नुपर्छ ।

नेपाली समाजमा व्याप्त नकारात्मक सोच, विचार टिप्पणी र नेपाल बन्दैन, नेपालमा केही गर्न सकिँदैन भन्ने मनोविज्ञान र विचारलाई बदल्न जरुरी छ । सधैंभरि नकारात्मकता देख्नाले, नकारात्मक विचार राख्नाले मानिसमा चिन्ता बढाउँछ र त्यही चिन्ताले मानिसलाई चितामा पुर्‍याउने गर्छ ।

लोकतन्त्र सुन्दर सिद्धान्त र विचारमात्रै होइन, लोकतन्त्रमा लोकतान्त्रिक व्यवहार पनि आवश्यक पर्छ । लोकतान्त्रिक व्यवहार, शैली र आचरणले मात्रै लोकतन्त्र जीवित रहन्छ । त्यसैले नेपाली समाज, राजनीति र व्यवहारमा देखिएको प्रतिशोधपूर्ण व्यवहार शैली, छलकपट गर्ने व्यवहार, अवसरवादी र भ्रष्टाचारी कार्यशैली, ढिलासुस्ती जस्ता जनविरोधी व्यवहार र कार्यशैलीमा सुधार गर्न जरुरी छ । व्यवहारमा सुधार आउन थालेमा त्यसले पक्कै पनि सकारात्मक विचारको निर्माण गर्छ भने सकारात्मक सोच, विचार र शैलीले असल व्यवहारलाई प्रोत्साहन गर्छ ।

त्यसैले असल विचार र व्यवहार बनाउन ठूलो नीति, कार्यक्रम र बजेट आवश्यक त नपर्ला, तर पनि संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेट असल विचार र असल व्यवहार विकासमा केन्द्रित हुनु जरुरी छ । नेपाल बहुल विशेषताले भरिपूर्ण देश हो । नेपालमा रहेका बहु जाति, बहु सांस्कृतिक, बहु क्षेत्र, बहु भाषा, बहु धर्म परम्परा हाम्रा अमूल्य निधि र सम्पत्ति हुन् । अनेकतामा एकता हाम्रो विशेषता हो । बहुलता हाम्रो विशेषता हो । बहुदल, लोकतन्त्र जस्तै बहुलता पनि महत्वपूर्ण छ ।

नेपालमा बहुलता र बहुदल अभिन्न छन् । बहुदलको विकल्प भनेको सुदृढ लोकतन्त्र हो । यो भनेको सुदृढ सोच र व्यवहार हो । हामी नेपालीले नेपाल र नेपालको स्वाभीमानमा कहिल्यै आँच आउन दिएनौं र भविष्यमा पनि दिदैनौं । नेपाल नेपालीको हो । त्यसैले सबै नेपाली मिलेर नेपाल बनाउने संकल्प गरौं । जो जहाँ छ, त्यहीबाट संकल्प गरौं र पहल गरौं । एक नेपालीले अर्को नेपालीमा दोषारोपण नगरौं । एक नेपाली देख्दा अर्को नेपालीले अँध्यारो अनुहार नलगाऔं । नेपाली नेपालीबीच मुस्कान छरौं । मानव मानवबीचमा मानवता देखाऔं । असल व्यवहार गरौं । खुसीमा खुसी थप्दै जाऔं र समृद्ध देश निर्माण गरौं ।

हरेक बिहान उठ्नेबित्तिकै म बनाउँछु मेरो देश भन्ने संकल्प गरौं । हामी बनाउँछौं हाम्रो देश भन्ने कार्य गरौं । हामीले नगरे कसले गर्छ, अहिले नगरे कहिले गर्ने भन्ने असल विचार र व्यवहार लिएर अगाडि बढौं । यो नै आजको आवश्यकता र मुख्य कार्यभार हो ।


प्रतिक्रिया

One thought on “देशलाई अब यसरी सोचौं

  1. कम्तिमा २०% नेपालिले मात्र पनि यस लेखका स्तम्भकारले झैँ साेच राखिदिने हाे भने नेपाल बन्न बेर लाग्दैनथियाे ।
    विकासकालागि विचार र व्यवहार बदल्न जरुरी छ। पाण्डे सर , विचार मननीय छ । यसमा अलिकति थपेर विश्वका विकसित राष्ट्रहरु जस्तै जापान युरोपेली मुलुकका नागरिकहरुले आ-आफ्ना राष्ट्र प्रति लिने विचार र एक आपसमा गर्ने व्यवहारबारे हजुर ती मुलुहरु भ्रमण गर्दाकाे अनुभव समेत मिसाएर राखेमा लेख अझ प्रभावकारी हुन्थ्याेहाेला जस्ताे लाग्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *