‘सभापति कांग्रेस र महामन्त्री कांग्रेसको अन्तर्विरोधले सहमति हुन सकिरहेको छैन’ (भिडिओ) – Nepal Press

‘सभापति कांग्रेस र महामन्त्री कांग्रेसको अन्तर्विरोधले सहमति हुन सकिरहेको छैन’ (भिडिओ)

एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्- भोलि नै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यतालाई कांग्रेसले बुझिदिनुपर्छ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धी संसदीय छानबिन समितिको गठन हुन नसकेको बताएका छन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानबिन समितिको टी‌ओआरका लागि गठित कार्यदलका सदस्य बर्तौलाले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले सो कार्यादेश निर्माणमा सहमति जुटाउने प्रयास गरेपनि महामन्त्री गगन थापा पक्ष त्यसमा भाँड्ने गरी वार्तामा बस्ने गरेको जिकिर गरेका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कांग्रेस महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको आरोप लगाए ।

प्रमुख सचेतक बर्तौलाले कांग्रेसका महामन्त्री पक्षको व्यवहार र गतिविधिले सो कार्यदलले पनि सहमति जुटाउन नसकेको बताए । संसदीय छानबिन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नेकुरामा एमाले दृढ रहेको उनको प्रष्टोक्ति थियो ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘सहमति र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भन्ने ध्येयका साथ त्यो कार्यदलका बसेर काम गर्यौं । तर, नेपाली कांग्रेसको तर्फबाट त्यो इमान्दारिता, समस्यालाई समाधान हुनेगरी आफूलाई प्रस्तुत गर्ने त्यो जिम्मेवारी बोध हामीले देखेनौं । त्यसकारण निष्कर्षमा पुग्न सकेनौं । नेपाली कांग्रेस सहमतिका लागि तयार छैन । सहमति बन्न लागेको परिस्थितिलाई बिगार्न कांग्रेस भित्रैबाट लागेको छ भन्ने कुरा देखिन्छ । आजसम्म समस्या समाधान नहुनुको एउटै कारण कांग्रेसको ‘मिल्न नदिने’ बटम लाइन हो ।’

मुद्दा उठाउने, समाधानका लागि सरकारलाई दबाब सृजना गरे जस्तो पनि गर्ने देखिएको भन्दै उनले सदनमा अभद्र शैलीको आन्दोलन चलाउने, सडकमा पनि असान्दर्भिक ढंगबाट विषयवस्तु उठाएर अन्य राजनीतिक पार्टी र एमालेका शीर्षस्थ नेता र अध्यक्षमाथि एक प्रकारले युद्धको घोषणा गरेको शैलीबाट अभिव्यक्ति प्रकट भइरहेको टिप्पणी गरे ।

‘सरकार यतिधेरै लचिलो भएर आउँदा पनि कांग्रेसको विशेषगरी आन्तरिक अन्तर्विरोध पनि केही हो भन्ने लाग्छ । अढाई महिनाको घटना हेर्दा नेपाली कांग्रेस एउटा कांग्रेसको रूपमा रहेन । एउटा कांग्रेसले संसदीय समितिहरूमा गृहमन्त्रीलाई बोलाएर छलफल चलाउँछ । अर्को कांग्रेसले संसदको बैठकमा गएर बेल घेराउ गरेर मुर्दावादको नारा लगाउँछ’, उनले थपे, ‘सभापति कांग्रेसहरू मिलौं कि भन्ने भावबाट अगाडि बढ्न खोजेको देखिन्छ । तर, महामन्त्री कांग्रेसहरु परिस्थिति मिल्छ कि भन्ने चिन्ता व्यक्त गरेर गलत ढंगबाट अभिव्यक्ति दिने, पूर्वाग्रह प्रेरित, तथ्यहीन राजनीतिलाई द्वन्द्वतर्फ लैजानका लागि उद्यत गराउने गरी अस्थिरतातर्फ लैजानका लागि भूमिका खेल्ने गरी त्यस प्रकारको व्यवहार र गतिविधिमा लाग्ने गरेका छन् ।’

प्रमुख सचेतक बर्तौलाले संवैधानिक बाध्यता भएकाले जेठ १५ गते बजेट ल्याउन कांग्रेसले पनि रोक्न नमिल्ने बताए ।

उनले भने, ‘भोलि जेठको १५ गते हो । हामीले संविधान बनायौं । यो संविधान बनाउँदा नेपाली कांग्रेस स्वयं बसेर राजनीतिक पार्टीहरुले यो संविधान बनाएका हौ । सरकारले पर्सि बजेट ल्याउन सक्दैन । त्यसकारण यो संवैधानिक बाध्यतालाई नेपाली कांग्रेसले बुझिदिनु पर्छ । हुनतः हामी सहमतिको प्रयत्न भोलि बिहानसम्म गर्छौं । आज बेलुका पनि गर्छौं । यो जारी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर