एमालेको आक्रोशमा कांग्रेसको प्रश्न- कुन निर्णयमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने ? – Nepal Press

एमालेको आक्रोशमा कांग्रेसको प्रश्न- कुन निर्णयमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने ?

सहमहामन्त्री परियार भन्छन्- लोकतन्त्रमा प्रश्न उठाउनै नपाउने भन्ने हुँदैन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लोकतन्त्रमा प्रश्न उठाउनै नपाउने भन्ने नहुने बताएको छ । एमालेका अध्यक्ष केपी ओलीलक्षित कांग्रेसका आरोपप्रति एमाले आक्रोशित भएपछि कांग्रेसका सहमहामन्त्री जीवन परियारले लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने बताए ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले र ओलीप्रति लगाएको आरोपको लिखित माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी दिएपछि उनले जवाफ फर्काएका हुन् ।

बालुवाटार बैठकबाट बाहिरिँदै पौडेलले भनेका थिए, ‘कांग्रेस कुनै सहमतिको पक्षमा छैन । पछिल्ला दिनमा एमाले र पार्टी अध्यक्षविरूद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लाञ्छनाहरूको प्रचार गरिरहेका छन् । आधारहीन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न कांग्रेसलाई आग्रह गर्दछु । कांग्रेस आफ्ना अभिव्यक्तिबाट पछि हट्दैन भने एमाले यस्ता अभिव्यक्तिका विरूद्ध राजनीतिकरूपमा प्रतिवादमा उत्रन्छ ।’

उनले अध्यक्ष ओलीलाई टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको जिकिर गरे ।

उपाध्यक्ष पौडेलले भनेका थिए, ‘कांग्रेसले यो आरोपकाप्रति लिखितरूपमा क्षमायाचना गर्नुपर्दछ, सार्वजनिकरूपमा माफी माग्नुपर्छ । अन्यथा कांग्रेससँग हाम्रो सम्बन्ध ठीक ढंगले अघि बढ्न सक्दैन । कांग्रेसले बुझोस् ।’

त्यसको जवाफ फर्काउँदै कांग्रेस सहमहामन्त्री परियारले पार्टीले निर्णय गरेर कसैमाथि कुनै आरोप नलगाएको जिकिर गरे ।

उनले नेपाल प्रेससँग भने, ‘हाम्रो पार्टीले कुनै निर्णय गरेर औपचारिक धारणा बनाएर कुनै नेता र व्यक्तिमाथि आरोप छैन । तर, पार्टीका नेताहरूले विभिन्न ठाउँमा कुराहरू उठाउनुभएको छ । त्यो पनि विभिन्न सञ्चारमाध्यमा आएको विषयलाई लिएर नेताहरूले धारणा राख्नुभएको छ । कुरा उठाउनै नपाउने भन्ने त लोकतन्त्रमा हुँदैन होला ।’

उनले विभिन्न सञ्चारमाध्यमा प्रमाणका साथ विभिन्न मुद्दामा कुरा आएपछि पार्टीका नेताहरुले कुरा उठाएको तर्क गरे ।

परियारले थपे, ‘तर, यो पार्टीको आधिकारिक धारणा होइन । यसैलाई लिएर एमाले जस्तो जिम्मेवार पार्टी, शीर्षस्थ नेताले त्यो ढंगले लिनुहुन्छ भन्ने लागेको छैन ।’

तर, उहाँहरूले त लिखितिरूपमा सार्वजनिक माफी माग्नुपर्छ भन्ने ढंगले प्रस्तुत हुनुभयो ? भन्ने जिज्ञासामा थपे, ‘सार्वजनिकरूपमा माफी माग्नुपर्छ भन्नलाई कांग्रेसको कुन निर्णय देख्नुभयो त्यस्तो ? कांग्रेसको औपचारिक निर्णय गरेको हो र ? कांग्रेसले कुनै पनि नेतामाथि व्यक्तिगत रूपमा, संस्थागत रूपमा कुनै किसिमको अपमान गर्ने, तिरस्कार गर्ने कुनै ध्येय छैन ।’

उनले विभिन्न मुद्दामा एमालेका नेताहरूमाथि जोडेर सञ्चारमाध्यमा आएपछि त्यो के हो ? भनेर प्रश्न लोकतन्त्रमा प्रश्न उठाउन पाउने उनले बताए ।

पछिल्लो समय कांग्रेसले प्रधानमन्त्री प्रचण्डले सत्ताबाट बाहिरिनुपरेको आक्रोश एमालेप्रति पोख्दै आइरहेको छ । आइतबार विरोध प्रदर्शनमा पनि ओलीविरुद्ध नाराबाजी गरिएको थियो भने महामन्त्री विश्वप्रकाश शर्मालगायतले गिरीवन्धु टीस्टेट प्रकरणलाई लिएर ओलीमाथि आरोप लगाएका थिए । उपाध्यक्ष पौडेलले गिरीबन्धुको नाम नलिएपछि त्यही प्रकरणमा पार्टी अध्यक्षलाई जोडेकोप्रति आक्रोश व्यक्त गरेका हुन् ।

त्यसो त रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्र रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा पनि कांग्रेससँग एमाले नै आमनेसमाने भएको छ । प्रधानमन्त्री प्रचण्ड सदनको गतिरोध हटाउन कांग्रेसको प्रस्तावमा लचक भएपछि ओलीले अडान नछाड्दा अहिलेसम्म सहमति जुट्न सकेको छैन । कांग्रेसले सहकारीको बिषयलाई उठाएर सत्ता समीकरण भत्काउने खेलमा लागेको बुझेरै कांग्रेसको मागप्रति कठोर भएर प्रस्तुत भइरहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर