५ प्रतिशत मनोरञ्जन कर तिर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने रात्रिकालीन व्यवसायीहरूको भनाई – Nepal Press

५ प्रतिशत मनोरञ्जन कर तिर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने रात्रिकालीन व्यवसायीहरूको भनाई

काठमाडौं । बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा सम्पूर्ण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

रात्रिकालीन व्यवसायीहरूले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलसँग भेटवार्ता गर्दै पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा व्यवसायीलाई भार पर्ने बताएका हुन् ।

व्यवसायीहरूले मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई विज्ञप्ति बुझाउँदै पाँच प्रतिशत मनोरञ्जन कर व्यवसायीलाई भार भएकोले व्यवसाय नै बन्द हुनसक्ने बताएका हुन् ।

आर्थिक ऐन २०८० को दफा ५ बमोजिम अनुसूची ३ मा रात्रिकालीन व्यवसाय लगायतमा पाँच प्रतिशत मनोरञ्जन कर तोकेको छ । उक्त मनोरञ्जन कारले रात्रिकालीन व्यवसायीहरूलाई मारमा पारिरहेकोले मुख्यमन्त्री जमरकट्टेललाई व्यवसायीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

व्यवसायीहरूले आर्थिक ऐन २०८० को दफा ५ बमोजिमको अनुसूची ३ लाई संशोधन गरी करको भारबाट मुक्त गराउनसमेत माग गरेका छन् ।

बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८० ले गर्दा व्यवसाय सञ्चालनमा थप कठिनाइ भई व्यवसायीहरूलाई मार परेको र गम्भीर संकट पैदा भएको व्यवसायीहरूको भनाई छ । प्रदेश सभाबाट आर्थिक ऐन जारी गर्दा विद्यमान कानुनी व्यवस्था र व्यवसायीलाई मध्यनजर गरी आर्थिक भार नपर्ने तथा निरुत्साहित नहुने गरी कानुन बनाइनुपर्ने व्यवसायीहरूले माग राखेका छन् ।

नेपाल सरकारको विद्यमान कर र राजश्व ठूलो भारको रूपमा रहेको व्यवसायीहरूले बताएका छन् । जसमा प्रदेश सरकारको पाँच प्रतिशत कर तिर्न नसक्ने हुँदा मनोरञ्जन कर वार्षिक २ हजार र १५ सय रुपैयाँ तिर्ने गरी कानुन संशोधन गरिनुपर्ने व्यवसायीको अडान छ ।

‘नेपाल सरकारको आर्थिक ऐन २०७९ बमोजिम लाग्ने सम्पूर्ण कर तथा राजश्व सम्पूर्ण व्यवसायीले तिर्दै आएका छौँ । नियमित रूपमा आयकर, व्यवसाय कर ,राजश्व र नियमित रूपमा गर्नुपर्ने व्यवसायी नवीकरण गरिरहेका छन् ।

रात्रिकालीन व्यवसायबाटै २० हजार बढीले रोजगार पाएका छन् । मनोरञ्जन करकै कारण २० हजार बढी कामदारको रोजगारी गुम्ने सक्ने देखिएको छ । विगतमा व्यवसायीले मनोरञ्जन कर स्वरूप क्लबले २ हजार र डान्स बार,दोहोरी लगायतका अन्य व्यवसायले १५ सय रुपैयाँ तिर्दै आएका छन्’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ठमेल पर्यटन परिषद् का अध्यक्ष भवि शर्माको नेतृत्वमा परिषदका उपाध्यक्ष सहदेव धमला, नेपाल रात्रि कालिन व्यवसायी संघ का अध्यक्ष रुपेश गुरुंग, नेपाल क्लब तथा डिस्को संघ का अध्यक्ष राजु दनाई उपाध्यक्ष भुपेन कुँवर, महासचिव आयुश ठकुरी र नेपाल लोक दोहोरी व्यवसायी संघ का अध्यक्ष विनोद श्रेष्ठ लगायत अन्य व्यवसायीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

व्यवसायीहरूले सभामुख, अर्थमन्त्री, पर्यटन मन्त्री, कानुन मन्त्री ,मुख्य सचिव लगायतका निकायका सचिवहरूलाई समेत भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर